नबिल बैंकले पायो भारतको एक्जिम बैंकबाट ‘व्यापार सहायता कार्यक्रम’को सदस्यता

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण

 नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो बैंक हो । 

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको जनाइएको छ । यसले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात–निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने बैंकले विश्वास व्यक्त गरेको छ । यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्ने जनाइएको छ । 

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्ने र वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारलाई सहज गर्ने बैंकले जनाएको छ । यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोसेढुंगा साबित हुने बैंकले दाबी गरेको छ ।

एक्जिम बैंक आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था रहेको जनाइएको छ । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौँदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको बैंकले जनाएको छ । 

बैंकले देशभरमा दुई सय ३३ शाखा, दुई सय ६९ एटिएम, असंख्य पिओएस टर्मिनल, रेमिट्यान्स एजेन्ट र दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 

सुझावित समाचार