कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्राचार

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई सोमबार अपराह्न चिठी लेखेको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई चिठी पठाइएको जानकारी दिए ।

‘स्थलगत विवरणसहित सोमबार अपराह्न परराष्ट्रलाई चिठी लेखेका छौँ,’ उनले भने, ‘प्राविधिक रूपमा पनि समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्छ । यसका लागि दुवै पक्षले सम्भव भएजति प्रयास गर्नु आवश्यक देखिएको छ ।’ 

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो । 

स्थानीयले दुई देश जोड्ने झोलुंगे पुलमा तालाबन्दी गरेका थिए । भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए । उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ ।

आइतबार दिउँसो भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नेपालतिर पानीको बहाव फर्काउने गरी काम थालेपछि नेपाली पक्षले विरोध गरेका थियो । त्यसपछि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । ढुंगाले लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह तथा भारततर्फ रमेश कुटियाल र तटबन्ध निर्माणमा काम गरेका नेपाली मजदुर जयसिंह घाइते भएका थिए ।

सुझावित समाचार