नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी एवं गोष्ठीको दसौँ संस्करण ‘फिन इलेक्ट्रो टेक २०२२’ मंसिर २२ गते देखि २५ गतेसम्म हुने भएको छ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनको उद्देश्यले भृकुटीमण्डपमा प्रदर्शनी हुने भएको हो ।
‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ भन्ने नारासहित आयोजना हुन लागेको प्रदर्शनीमा ७५ वटा स्टल तथा पिभेलियन रहने आयोजकले जनाएका छन् । प्रदर्शनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट हुने स्थलका रूपमा रहने जनाइएको छ ।
उनीहरूको व्यावसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने आयोजकको भनाइ छ ।
इलेक्ट्रो टेकको यस संस्करणमा राठी स्विच एन्ड केबल टाइटल स्पोन्सर रहेको छ । स्वदेशी उत्पादनलगायत भारत, जापान, सिंगापुर, ताइवान, चीन, फ्रान्स, स्पेन, मलेसिया, अमेरिका, जर्मनी, इटाली, अस्ट्रेलिया, आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादनहरू रहने जनाइएको छ ।
प्रदर्शनीमा राठी, अन्नपूर्ण, महालक्ष्मी, ग्रेटह्वाइट, एचपिएल, इलेक्ट्रा–इलेक्ट्रिक, जानकी, लिसा, ट्रान्सवेल्ड, ओपल, लेकिसे, स्नाइडर, लिग्रान्ड, सी एन्ड एस, फिलिप्स, बजाज, हेभल्स, सिस्का, सिमेन्स, क्रम्प्टन, उषा, एंकर, ओरियन्ट, हिमेल, चिन्ट, हिमस्टारलगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको जनाइएको छ ।चार दिनसम्म चल्ने प्रदर्शनीमा ६० हजारभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अनुमान छ ।