अस्ट्रेलिया २२औँ विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो एसियाली राष्ट्र बनेको छ । समूह ‘डी’को अन्तिम खेलमा डेनमार्कलाई १–० ले पराजित गर्दै अस्ट्रेलिया समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।
अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको ६०औँ मिनेटमा अस्ट्रेलियाले १–० को अग्रता लिएको थियो । अस्ट्रेलियाको जितमा एक मात्र गोल म्याथ्यु लेकीले गरेका थिए । उनले राइली मक्ग्रीले अफसाइड ट्र्याप बिट दिएको पासमा उत्कृष्ट गोल गरेका थिए । म्याथ्युले आफूलाई संयमित राख्दै डेनमार्कका दुई डिफेन्डर र गोलरक्षकलाई छकाएर गोल गरे ।
खेलमा डेनमार्कले तुलनात्माक रूपमा अस्ट्रेलियामाथि दबाब राखेको थियो । अस्ट्रेलियाले बलियो डिफेन्स बनाउँदा डेनमार्कले गोल अवसर खेर फाल्यो । अस्ट्रेलियन प्रशिक्षकले म्याथ्यु लेकीलाई काउन्टर एट्याक्टमा राखे । खेलको १९औँ मिनेटमा अस्ट्रेलियाले डेनमार्कको गोल प्रयासलाई विफल पारेको थियो । जोआकिम माहलेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दुई डिफेन्डर पार गर्दै गरेको प्रहार गोेलरक्षक रायनको खुट्टामा लाग्दै बाहिरियो ।
खेलको ८८औँ मिनेटमा डेनमार्कका एलेक्जेन्डर बाहको प्रहार पोस्टभन्दा बाहिर जाँदा डेनमार्क बराबरी गोल गर्नबाट चुक्यो । प्रतिस्पर्धामा डेनमार्कले बल पोसेसन बलियो बनाएको थियो । डेनमार्कले अस्ट्रेलियाविरुद्ध ६९ प्रतिसत बल नियन्त्रणमा राखेको थियो । डेनमार्कका खेलाडीले १३ पटक गोलका लागि प्रयास गरेका थिए ।
ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता
साबिक विजेता फ्रान्सले समूह ‘डी’को अन्तिम खेलमा ट्युनिसियासँग प्रतिस्पर्धा गरेको थियो । एक खेलअगाडि नै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरेको फ्रान्सले ट्युनिसियाविरुद्ध दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो । अफ्रिकन टोली ट्युनिसियाले खेलको ६५औँ मिनेटमा विश्व च्याम्पियन फ्रान्सविरुद्ध १–० को अग्रता लियो । एजुकेसन रंगशालामा विश्वविजेता टोली ट्युनिसियासँग लज्जास्पद हार सामना गर्ने डरले प्रशिक्षक डिडिएरले मध्यान्तरपछि तत्कालै मुख्य खेलाडीलाई परिवर्तन गरेका थिए ।
तर, खेलको अन्तिम नतिजा आउँदा फ्रान्स ट्युनिसियासँग १–० ले स्तब्ध भयो । विश्व च्याम्पियन फ्रान्समाथि सानदार जित निकाल्ने क्रममा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले एक मात्र निर्णायक गोल गरेका थिए । उनले फ्रान्सको कमजोर डिफेन्सको फाइदा लिँदै ट्युनिसियालाई १–० को अग्रता दिलाए । प्रतिस्पर्धाको अन्तिम इन्जुरी समयमा फ्रान्सले बराबरी गोल फर्काएको थियो । फ्रान्सका लागि स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले डिबक्सभित्रबाटदोस्रो बारमा १–१ का लागि गोल गरेका थिए ।
तर, भिडिया असिस्ट रेफ्रीले ग्रिजम्यानको गोललाई अफ साइड दियो । जसका कारण फ्रान्स अप्रत्याशित रूपमा ट्युनिसियासँग पराजित भयो । हारका बाबजुद फ्रान्स समूह डीको विजेता बन्यो । फ्रान्सले तीन खेलबाट ६ अंक बटुल्यो । यस समूहमा अस्ट्रेलिया उपविजेता बन्यो । ट्युनिसिया ३ अंकका साथ तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो । यस समूहमा डेनमार्क पुछारमा रह्यो । पहिलो हाफमा फ्रान्सेली टोलीमा दोस्रो रोजाइका खेलाडी भएका कारण टयुनिसियाले त्यसको फाइदा उठाएको थियो ।
खेलको नवौँ मिनेटमा नै ट्युनिसियाले अग्रता लिएको थियो । तर, भिडियो असिस्ट रेफ्रीले ट्युनिसियाको गोललाई अफसाइड दिए । २५औँ मिनेटमा फ्रान्सका किंग्सले कोमानले डिबक्सभित्र सहज गोल अवसर चुकाए । फ्रान्सले प्रतिस्पर्धामा दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डालाई प्रतिस्पर्धामा उतारेको थियो ।
विश्वकप फुटबल प्रतियोगितामा खासै अनुभव नभएकाले उनी ट्युनिसियाविरुद्धको खेलमा आत्तिएका देखिन्थे । टयुनिसियाबाट एकपछि अर्को दबाब सामना गर्न नसकेपछि प्रशिक्षक डिडिएरले मुख्य खेलाडीहरू केलियन एमबाप्पे, एन्टोनियो ग्रिजम्यान र ओस्मान डेम्बेले मैदानभित्र छिराए ।