खेलाडी खराब फर्ममा रहँदा प्लेइनिङ ११ मा पर्न मुस्किल पर्छ । प्रशिक्षकको आशाविपरीत मैदानमा राम्रोसँग प्रतिस्पर्धा गर्न नसक्दा ती खेलाडी अर्काे खेलमा पर्न सक्ने सम्भावना क्षणिक हुन्छ । यो त खेलाडीको फर्मअनुसार टोलीमा पर्ने वा नपर्ने पक्ष भयो । तर, कहिलेकाहीँ गज्जब हुँदोरहेछ । फर्ममा रहँदा पनि घोषित ११ खेलाडीभित्र पर्दैनन् । जब कुनै पनि टोलीमा सबै खेलाडी उत्कृष्ट फर्ममा रहन्छन्, त्यसवेला उत्कृष्ट फर्ममा रहँदारहँदै उनले स्थान बनाउन सक्दैनन् ।
ब्राजिलका स्ट्राइकर डेनिल्सनको हकमा यस्तै भइदियो । उनी विश्व च्याम्पियन र उपविजेता खेलाडी हुन् । सन् १९९८ देखि २००२ सम्मको विश्वकपमा उनी पनि ब्राजिलका प्रमुख खेलाडी थिए । तर, त्यसवेला टोलीभित्र रोनाल्डो, रोमेरियो, रोनाल्डिन्हो, रोवर्ट कार्लोस, काफुसँगै काकाजस्ता उत्कृष्ट खेलाडी रहँदा डेनिल्सनले मौका नै पाएनन् ।
विश्वकप इतिहासमा डेनिल्सनले ११ पटक विस्थापन्न खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेको रेकर्ड राखेका छन् । सन् २००२ को विश्वकपमा ब्राजिलले फिलिप स्कोलारीको प्रशिक्षणमा पाँचौँपटक ट्रफी जितेको थियो । ब्राजिलले एसियन भूमिमा उपाधि चुम्दा डेनिल्सनले थोरै अवसर पाए । ब्राजिलको राष्ट्रिय टोलीमा सन् १९९६ मा स्थान बनाएका डेनिल्सनले २००३ सम्म प्रतिस्पर्धा गरे । यसक्रममा उनले ६१ खेलमा ६ गोल गर्न सफल भए ।