मोरक्कोले फिफा विश्वकपमा २४ वर्षपछि जित निकाल्दा युरोपकै शक्तिशाली राष्ट्र बेल्जियम स्तब्ध एको छ । अफ्रिकन राष्ट्र मोरक्कोले कतार विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार बेल्जियमलाई २–० ले पराजित गर्यो । समूह ‘एफ’को खेलमा मोरक्कोले रोबार्टाे मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ ।
दुई खेलबाट चार अंक जोडेको मोरक्कोले नकआउट चरणमा स्थान बनाउने आधार बलियो बनाएको छ । वालिड रेग्रागुइको प्रशिक्षणमा रहेको अफ्रिकन टोली मोरक्कोको जितमा अब्देलहामिद साविरी र जाकरिया अबोउखलालले एक–एक गोल गरेका थिए । मोरक्कोले विश्वकप इतिहासमा दोस्रो वरीयताको टोलीलाई तेस्रोपटक हराएको हो ।
मोरक्को सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बढेको छ । अन्तिम खेलमा क्यानडासँग अंक बटुले मोरक्को अन्तिम १६ मा पुग्नेछ । यसअघि मोरक्कोले सन् १९९८ को विश्वकपमा स्कटल्यान्डविरुद्ध ३–० को जित निकालेको थियो, तर समूह ‘ए’बाट माथि उठ्न सकेको थिएन । सन् २०१८ को संस्करणमा मोरक्को एक अंकका साथ समूह चरणबाट बाहिरिएको थियो ।
मोरक्कोले पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो । अल थुमाम मैदानमा मोरक्को र बेल्जियमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । यद्यपि, पहिलो हाफको इन्जुरी समयमा हाकिमी जिएचको गोल अफसाइड भयो । भिडियो सहायक रेफ्री (भिएआर)ले हाकिमीको अफसाइड मान्यता दिएको थियो ।
मोरक्कोका साविरीले खेलको ७३औँ मिनेटमा कर्नर क्षेत्रबाट प्राप्त फ्रिकिकमा गोल गरेका थिए । यसपछि खेलमा थप दबाब महसुस गरेको बेल्जियमले इन्जुरी समयमा काउन्टर अट्याकमा अर्काे गोल बेहो¥यो । हाकिम जियचको पासमा जाकारियाले बक्सभित्रबाट गोल गरेका थिए । प्रतिस्पर्धामा बेल्जियमले ६७ प्रतिशत बल नियन्त्रण राखेको थियो । अधिकांश समयमा पछि परेको मोरक्कोले ३३ प्रतिशत मात्र बल पोसेसन बनाएको थियो । प्रतिस्पर्धामा मोरक्को र बेल्जियमले समान १० सट प्रहार गरेका थिए ।
विश्वकप प्रतियोगितामा बेल्जियमले ब्राजिलपछि स्थान पाएको छ । बेल्जियमको फुटबल इतिहासमा वर्तमान टोलीलाई ‘गोल्डेन जेनेरेसन’ भनिएको छ । स्टार खेलाडीले भरिएको बेल्जियमले मोरक्कोको डिफेन्स लाइन तोड्न सकेन । मोरक्कोले बेल्जियमको पोस्टमा काउन्टर अट्याकमा जोड दिएको थियो ।
कोस्टारिकाको पहिलो जित
कोस्टारिकाले विश्वकप फुटबलमा आइतबार जापानमाथि १–० को अप्रत्याशित नतिजा निकाली नकआउट चरणको आशा जीवितै राखेको छ । कोस्टारिकालाई हराउँदा जापान सीधै प्रिक्वार्टरफाइनलमा पुग्ने थियो । अब जापानले तेस्रो तथा अन्तिम खेलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । कोस्टारिकालाई जित दिलाउन २८ वर्षीय रक्षक केस्पर फुलर स्पिन्सले खेलको ८१औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
समूह ‘ई’मा जापानले आफ्नो पहिलो खेलमा चारपटकको विजेता जर्मनीमाथि २–१ को सनसनीपूर्ण जित निकालेको थियो । कोस्टारिका स्पेनसँग ७–० ले लज्जास्पद हार बेहोर्न पुगेको थियो । कोस्टारिका विश्वकप इतिहासमा सुरुको खेलमा सात गोल बेहोर्ने र अर्को खेलमा जित निकाल्ने पहिलो टोली बनेको छ । सन् १९५८ मा पाराग्वे स्पेनसँग ७–३ ले पराजित भएको थियो । अर्को खेलमा पाराग्वेले स्कटल्यान्डलाई ३–१ ले हराएको छ ।
सन् २०१४ पछि कोस्टारिकाले विश्वकपमा पहिलो जित निकाल्यो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोस्टारिकाले दुईपटकको विजेता उरुग्वेमाथि ३–१ को जित हात पारेको थियो । अर्को खेलमा कोस्टारिकाले इटालीलाई १–० ले स्तब्ध पारेको थियो । सो विश्वकपको क्वार्टरफाइनलमा कोस्टारिका नेदरल्यान्ड्ससँग पेनाल्टी सुटमा पराजित भयो । जापानलाई हराउनुअघि विश्वकपमा कोस्टारिका सात खेलमा जितविहीन थियो । जसमा चार ड्र र तीन हारको सामना कोस्टारिकाले गरेको थियो ।
जापानले खेलमा १४ पटक गोलका लागि प्रयास गर्यो । तीनपटक लक्ष्यमा प्रहार गरेको जापानले ५७ प्रतिशत बल पोसेसन बनाएको थियो । सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा भने समूह चरणबाट माथि बढ्न सकेन ।
