सामाजिक सुरक्षा कोषबाट ५० हजार आठ सय योगदानकर्तालाई पौने तीन अर्ब भुक्तानी

कोषमा आबद्ध २७० मृतक श्रमिकका परिवारले पाए पाँच करोड नौ लाख भुक्तानी

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध दुई सय ७० मृतक श्रमिकका परिवारलाई पाँच करोड नौ लाख भुक्तानी गरिएको छ । कोषले सञ्चालन गरेको आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत मृतक श्रमिकका परिवारलाई कोषले सो रकम भुक्तानी गरेको हो । 

कोषले सञ्चालन गरेको विभिन्न योजनाबापत हालसम्ममा ५० हजार आठ सय योगदानकर्ता र तिनका परिवारलाई दुई अर्ब ७० करोड भुक्तानी गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । जसमध्ये औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबापत ३१ करोड ७८ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत तीन करोड ७२ लाख रहेको छ । 

कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार ०७९ मंसिर १० गतेसम्म कोषमा १७ हजार पाँच सय ६ प्रतिष्ठान र तीन लाख ७५ हजार नौ सय १४ योगदानकर्ता सूचीकृत भएका छन् । हालसम्म कोषले दुई लाख ७० हजार योगदानकर्ताबाट २६ अर्बभन्दा बढी रकम संकलन गरेको छ । 

 घातक रोग लागेमा १० लाखसम्म भुक्तानी गर्ने
  कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ लाई तेस्रोपटक संशोधन गरी घातक रोगमा लागेमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था गरेको छ । साथै, योगदानकर्ताको पति वा पत्नीको समेत औषधि उपचार खर्च कोषले व्यहोर्ने जनाएको छ । कोषले यसै वर्षदेखि स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजनाअन्तर्गतका नगदरहित सुविधा दिन २८ वटा अस्पतालसँग सम्झौता गरेको छ । सो अस्पतालमा गई उपचार गर्दा योगदानकर्ताले कुनै पनि रकम भुक्तानी गर्नुपर्दैन । 

 मोबाइल एपबाट १३ वटा सुविधा लिन सकिने
सामाजिक सुरक्षा कोषले एसएसएफ नामक एप्लिकेसन सञ्चालनमा ल्याएको छ । एपमार्फत विशेष सापटीका लागि आवेदन गर्ने र सो रकम सोझै योगदानकर्ताको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । एपमार्फत सापटीलगायत कोषबाट प्रदान गरिने विभिन्न १३ वटा सेवाहरू योगदानकर्ताले लिन सक्ने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । योगदानकर्ताले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधाको दाबी तथा भुक्तानी पनि अनलाइनमार्फत नै लिन सक्नेछन् । 

 सूचीकृत उत्कृष्ट प्रतिष्ठानलाई सम्मान
सामाजिक सुरक्षा कोषमा सूचीकृत १० वटा प्रतिष्ठानलाई सम्मान गरिएको छ । कोषले स्थापना दिवसको अवसरमा काठमाडौं आयोजित एक कार्यक्रमबीच सूचीकरणका आधारमा र योगदान रकमका आधारमा उत्कृष्ट १०–१० वटा प्रतिष्ठानलाई सम्मानित गरेको छ । सूचकरणका आधारमा गरुड सेक्युरिटिज, जिफोरएस सेक्युरिटिज सर्भिस, रिलायन्स स्पाइनिङ् मिल्स, एरिहान्ट मल्टी फाइबर, इन्फोटेक सर्भिस, सिजी फुड नेपाल, स्प्राउट टेक्नोलोजी सर्भिस, किरण सुज, सुविधा सेवा र श्री रघुपति जुट मिल्सलाई सम्मान गरेको छ ।

त्यस्तै, योगदान रकमका आधारमा गोर्खा वेलफेयर ट्रस्ट नेपाल, सेभ दी चिल्ड्रेन, कोटिभिटी नेपाल, लक्ष्मी बैंक, सिडर गेट सर्भिस, एनसेल, स्प्राउट टेक्नोलोजी, गरुड सेक्युरिटिज, वरुण वेभरेज र रिलायन्स स्पाइनिङ मिल्स सम्मानित भएका हुन् । 

सामाजिक सुरक्षा करलाई कोषमा गाभिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा करबापत संकलन गरिँदै आएको १ प्रतिशत कर सामाजिक सुरक्षा कोषमा नै गाभ्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको पाँचौँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो रकमलाई कोषमा गाभ्न सरकारसँग छलफल भइरहेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष, २०७४ अनुसार यसअघि सरकारले संकलन गर्दै आएको सामाजिक सुरक्षा कर कोषमा नै गाभ्ने व्यवस्था गरेको छ । तर, हालसम्म पनि सो कार्यले पूर्णता भने पाएको छैन । त्यस्तै, कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा रहेको श्रमिक, अनौपचारिक क्षेत्रमा रहेको श्रमिक र स्वरोजगारलाई कोषमा आबद्ध गराइने बताए ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले अबदेखि घरमा काम गर्ने मजदुरले पनि  पेन्सन पाउने बताएका छन् । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने भए पनि निजामती कर्मचारी र अनौपचारिक क्षेत्रका श्रमिकबीच समान हैसियत कायम हुने बताए । ‘दैनिक मजदुरी गर्नेले पनि पेन्सन पाउनेछन् । अरूका घरमा काम गर्ने श्रमिक पनि आर्थिक रूपमा सुरक्षित हुनेछन्,’ उनले भने । वैदेशिक रोजगारीबाट फर्केपछि कुनै पनि कामदार रित्तो हुनुनपर्ने उनले जिकिर गरे । रोजगारीमा गएका कामदारका परिवारले कोषबाट ऋण लिएर आफैँ स्वरोजगार हुन सक्ने व्यवस्था गरिएको समेत उनले बताए ।

सुझावित समाचार