दुईपटक सांसद र दुवैपटक मन्त्री भएका राजेन्द्र श्रेष्ठ, तीनपटक सांसद र एकपटक मन्त्री भएका लक्ष्मणलाल कर्ण तथा दुईपटक सांसद र एकपटक राज्यमन्त्री भएका रामवीर मानन्धरको जमानत जफत
यसपटकको निर्वाचनमा पूर्वमन्त्री र पटक–पटक चुनाव जितेका नेताले जमानतसमेत जोगाउन सकेनन् । यसरी जमानत जोगाउन नसक्नेमा पूर्वमन्त्रीहरू राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र रामवीर मानन्धर छन् ।
एक महिनाअघिसम्म मन्त्री रहेका जनता समाजवादी पार्टीका श्रेष्ठको जमानत जफत भएको छ । उनी प्रतिनिधिसभामा काठमाडौं ७ बाट उम्मेदवार बनेका थिए । न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत कटाउन नसक्नेको जमानत जफत हुने व्यवस्था छ ।
काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले दुई हजार ४६१ मत पाएका छन् । कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशत मात्र मत पाएका छन् । श्रेष्ठ मध्यावधि निर्वाचन ०५१ मा प्रत्यक्ष सांसद चुनिएका थिए भने ०७४ मा संघीय समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद थिए । उनी दुईपटक मन्त्री भइसकेका छन् । ०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । उनको दल जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि श्रेष्ठसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए ।
जमानत जफत भएका अर्का उम्मेदवार हुन्, रामवीर मानन्धर । एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर एक हजार २१५ मतमा सीमित भए । यो कुल सदर मतको ३.३ प्रतिशत हो । मानन्धर यही क्षेत्रबाट ०७० र ०७४ मा गरी दुईपटक सांसद जितेका नेता हुन् । केपी ओली नेतृत्वको सरकारमा ०७६ मा उनी सहरी विकास राज्यमन्त्री भएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन् । पर्सा १ बाट उम्मेदवारी दिएका उनले एक हजार ११७ मत पाए । ४८ हजार ५२६ सदर मतमा उनले पाएको मतको हिस्सा २.३ प्रतिशत मात्र हो । ०६४ र ०७० मा समानुपातिक सांसद बनेका उनी ०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी विनाविभागीय मन्त्रीसमेत बनेका थिए ।
प्रदेशका यी विभागीय मन्त्री पनि पराजित भए
प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव पनि पराजित भएका छन् । मोरङ ५ (ख) मा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका यादवलाई कांग्रेसका अमृतकुमार अर्यालले पराजित गरेका हुन् । अर्यालले १५ हजार ८९ र यादवले १० हजार ८१ मत ल्याएका छन् । उनी पाँच हजार आठ मतले पारजित भए ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पनि पराजित भएका छन् । सप्तरी २ (क) मा चुनाव लडेका उनलाई जनमत पार्टीका सतिशकुमार सिंहले हराएका हुन् । उनी दोब्बर मतले पराजित भएका छन् । सिंहले १६ हजार ७३४ मत ल्याउँदा मन्त्री शाहले आठ हजार २९२ मत मात्र पाए ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव पनि पराजित भएका छन् । रौतहट १ (ख) मा जसपाका उम्मेदवार उनलाई कांग्रेसका कृष्णप्रसाद यादवले हराएका हुन् । दोब्बरभन्दा बढी मतले पराजित भएका उनी नतिजामा तेस्रो स्थानमा छन् । यादवले १२ हजार ४८९ मत ल्याउँदा उनले पाँच हजार ७२९ पाए ।
बागमती प्रदेशका श्रम तथा रोजगारमन्त्री घनश्याम दाहाल पनि पराजित भएका छन् । चितवन २ (क) बाट चुनाव लडेका माओवादी उम्मेदवार दाहाललाई एमालेका कृष्णप्रसाद सिलवालले पराजित गरेका हुन् । सिलवाल १६ हजार पाँच सय मतसहित विजयी भए । दाहालले पाएको मत १५ हजार २६० छ ।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल पनि पराजित भएका छन् । कांग्रेसबाट बाँके २ (ख) मा चुनाव लडेका उनी प्रतिस्पर्धामा तेस्रो स्थानमा पुगे । जसपाका आदेशकुमार अग्रवालले आठ हजार २४६ र उनले ६ हजार २४७ मत ल्याए ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले पनि पराजित भएका छन् । कांग्रेसबाट चुनाव लडेका उनी नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीसँग पराजित भएका हुन् । कैलाली १ (ख) बाट उम्मेदवार बनेका चौधरीले ११ हजार ३१८ मत ल्याउँदा रावलले आठ हजार ५३ मत मात्र प्राप्त गर्न सके ।
सुदूरपश्चिमकै सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पनि पराजित भएका छन् । डडेलधुरा (ख) बाट चुनाव लडेका उनलाई स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले हराएका हुन् । जोशीले ११ हजार १६२ मत ल्याउँदा कांग्रेस उम्मेदवार बोहराले १० हजार ७३७ मत प्राप्त गरे ।