२३ असाेजमा मनोनयन दर्ता गरेका माओवादी केन्द्रका तीन युवा नेता माधव सापकोटा ‘सुवोध’, युवराज दुलाल ‘शरद’ र सरल सहयात्री पौडेल एउटै पहिरनमा सदरमुकाम चौतारामा देखा परे । रातो सर्ट, निलो पाइन्ट र चुनाव चिह्न अंकित ढाका टोपी लगाएर निस्केका उनीहरुको साथमा हजारौं समर्थक थिए ।
भर्खर ४० वसन्त टेकेका यी तीन युवाले लगाएको एउटै पहिरनले चर्चा पनि पायो । माओवादी अध्यक्ष प्रचण्डनिकट मानिने युवात्रय जनयुद्धकालीन समयमा जनमुक्ति सेनाका कमाण्डर थिए । शरद र सरल ब्रिगेड कमाण्डर र सुवोध कमिसार । शान्ति प्रक्रियामा आएसँगै दुलाल प्रचण्डको अंगरक्षक बने । सापकोटा र पौडेल राजनीति गर्न गृह जिल्ला सिन्धुपाल्चोकतिर लागे ।
०७० को संविधानसभा चुनावमा उठेका पौडेलले पराजय व्यहोरे । दुलाल भने ०७४ को चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भए । दोस्रो संविधानसभा र पहिलो संघीय चुनावमा टिकटको लागि प्रयास गरेका सापकोटाले टिकट पाएनन् । एउटा गतिलो संयोग, यसपटक तीनै जनाले टिकट पाए । सापकोटा र दुलाल पार्टीको पोलिटव्युरो सदस्य हुन् भने पौडेल बाग्मती प्रदेशका पार्टी अध्यक्ष ।
सत्ता गठबन्धनले चुनावी क्षेत्रको निर्णय नगर्दासम्म टिकटका लागि कांग्रेस र माओवादीबीच हानथाप र एकाअर्काबीच चर्को आलोचना भयो । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सापकोटाबीच कटुता सिर्जना भयो । अन्ततः प्रतिनिधिसभा क्षेत्र नं. १ को टिकट सापकोटाले पाए । बस्नेत क्षेत्र परिवर्तन गरेर २ मा जान मञ्जुर भए । विवादबीच सत्तागठबन्धन दल मनोनयन दर्ताको दिन एक हुन सकेनन् । १७ कात्तिकबाट खुला चुनावी प्रचारमा निस्केपछि बल्ल कांग्रेस र माओवादीका नेताकार्यकर्ता आपसी मनमुटाप बिर्सेर चुनावी मोर्चामा सँगै देखा परे ।
अन्ततः बाधा छिचोल्दै तीनैजनाले जित निकाल्न सफल भए । सापकोटा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् । उनले ३० हजार तीन सय ७४ मत ल्याएर एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । नेपालले २७ हजार २० मत ल्याए । दुलाल प्रतिनिधिसभा–२ (१) मा आठ हजार सात सय ६७ मतान्तरले विजयी भए । दुलालले २० हजार नौ सय ६, मत ल्याएका हुन् । एमालेका अमानसिंह तामाङले १२ हजार एक सय ३९ ल्याए । प्रतिनिधिसभा–१(२) बाट पौडेल निर्वाचित भएका छन् । पौडेलले १७ हजार दुई सय ५६ मत ल्याउँदा एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ पाए ।
प्रतिनिधिसभा– २ मा कांग्रेसका मोहनबहादुर बस्नेत एमाले उम्मेदवार शेरबहादुर तामाङभन्दा १० हजार बढी मतान्तरले अगाडि छन् । प्रतिनिधिसभा–१(१) मा कांग्रेस महिला नेतृ मसिना खड्का भण्डारी निर्वाचित भइसकेकी छन् । प्रतिनिधिसभा–२(२) मा पनि कांग्रेसका समिर तामाङको अग्रता छ ।