सिराहामा चार वटै निर्वाचन क्षेत्रको मतगणना सोमबार रातीदेखि जारी छ । बुधबार बिहान ८ बजेसम्मको नतिजाअनुसार जसपाले २ क्षेत्रमा अग्रता लिँदा कांग्रेस र एमाले एक–एक स्थानमा अघि छन् ।
जसपाले सिराहा २ र ४ मा अग्रता लिएको छ भने कांग्रेसले सिराहा १ र एमालेले सिराहा ३ मा अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिराहा १ मा कांग्रेसका पदमनारायण चौधरी तीन सय ६७ मतले अग्रता लिएका छन् । चौधरीले ६ हजार एक सय २७ मत ल्याउँदा एमालेका रामशंकर यादवले पाँच हजार सात सय ४० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर २ मा जसपाका राजकिशोर यादवले एक सय ४३ मतले अग्रता लिएका छन् । राजकिशोरले चार हजार चार सय ७२ मत ल्याउँदा जनमत पार्टीका विनोदकुमार यादवले चार हजार तीन सय २९ मत ल्याएका छन् भने कांग्रेसकी चित्रलेखा यादवले तीन हजार नौ सय ७७ मत प्राप्त गरेकी छिन् ।
क्षेत्र नम्बर ३ मा एमालेका लिलानाथ श्रेष्ठले तीन सय पाँच मतको अग्रतासहित पाँच हजार चार सय ९८ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा माओवादी केन्द्रका विश्वनाथ साहले पाँच हजार एक सय तीन मत ल्याएका छन् ।
क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्रप्रसाद महतोले एक हजार तीन सय ५५ मतको अग्रता कायम गरेका छन् । महतोले ६ हजार दुई सय ४० मत ल्याउँदा एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले चार हजार ८ सय ८५ मत ल्याएका छन् ।