चुनावमा तनाव : तराईमा घट्यो, पहाडमा बढ्यो

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

विगतमा झैँ यसपालिको चुनावमा पनि मधेसका निर्वाचन क्षेत्र तनावपूर्ण हुन सक्ने सरकारको विश्लेषण थियो । त्यसैअनुसार सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा तैनाथ थिए । तर, भयो ठिक उल्टो । तराईका प्रायः सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो । बरु, पहाडका निर्वाचन क्षेत्रमा भने तनाव बढ्यो । 

निर्वाचन आयोगका अनुसार आइतबार मुलुकभर भएका निर्वाचनमध्ये गुल्मी, सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थलका मतदान स्थगित भए । बाजुराको त्रिवेणी नगरपालिका–७, दम्था मतदानस्थलमा त गोली नै चल्यो । घटनामा दुई स्थानीयको ज्यान नै गयो । मतदानस्थलमा भएका हुलहुज्जत नियन्त्रण गर्न प्रहरीले ३२ स्थानमा हवाई फायर खोल्नुपर्यो । ती पनि अधिकांश पहाडी क्षेत्रमै थिए । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दानबहादुर कार्की यसपटकको निर्वाचनमा तराईको तुुलनामा पहाडी क्षेत्र तनावपूर्ण बनेको बताउँछन् । 

‘मतदानको दिन तराईको तुलनामा पहाडी क्षेत्रमा धेरै तनाव देखियो । ३२ ठाउँमा हवाई फायर खोल्नुपर्यो । १५ ठाउँको मतदान त स्थगित नै भयो,’ उनले भने, ‘ती पनि पहाडी क्षेत्रकै हुन् । यसको अर्थ पहाडका निर्वाचन तनावपूर्ण बन्न पुगे । तर, तराई शान्तिपूर्ण बन्यो । जुन हामीले सोचेभन्दा निश्चित तवरले केही भिन्न देखियो ।’

निर्वाचन हुनुअघि प्राप्त सूचनाका आधारमा सबै निर्वाचन क्षेत्रको गहन रूपमा सुरक्षा ‘थ्रेट’ विश्लेषण हुन्छ । सुरक्षा विश्लेष्णमा विशेष गरी प्रतिस्पर्धीको विगत, मतदाताको मनस्थिति र भौगोलिक अवस्थितिलाई मुख्य आधार मानिन्छ । सोहीअनुसार सेना, प्रहरी, म्यादी, सशस्त्र र गुप्चतर संयन्त्र सरकारले परिचालन गर्ने गर्छ । प्राप्त सूचनाका आधारमा तराईका अधिकांश क्षेत्र सुरक्षा ‘थ्रेट’का आधारमा अति संवेदनशील सूचीमा दर्ज थिए, जसमध्ये जनमत पार्टीका अध्यक्ष सिके राउत र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार भएको सप्तरी–२ लाई अतिसंवेदनशील क्षेत्रको अग्रपंक्तिमा राखिएको थियो । 

रौतहटको १, २ र ३ तीनवटै निर्वाचन क्षेत्रलाई सुरक्षा संवेदनशीलताका आधारमा अग्रपंक्तिमा नै राखिएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि अफताब आलमका छोरा फिरसौद आलम तथा स्वतन्त्र उम्मेदवार प्रभु शाह सोही क्षेत्रबाट उम्मेदवार छन् । त्यसबाहेक धनुषा, महोत्तरी, बारा, पर्सास्थित निर्वाचन क्षेत्र पनि सुरक्षा संवेदनशीलताका आधारमा अगाडि नै राखिएका थिए । 

समग्रमा उक्त क्षेत्रका प्रायः सबै निर्वाचन क्षेत्रको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता कार्कीले भने, ‘सुरक्षा ‘थ्रेट’ विश्लेषणका निश्चित आधार छन् । सोही आधारमा तराईका केही क्षेत्र अतिसंवेदनशील क्षेत्रमा राखिएका थिए, जसमध्ये सप्तरी २ र रौतहटका प्रायः सबै निर्वाचन क्षेत्र हाम्रो उच्च निगरानीमा थिए । सोही आधारमा सुरक्षा संयन्त्र पनि परिचालन भएका थिए । तर, ती क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भयो ।’

यसकारण बढ्यो पहाडमा तनाव 
पहाडका निर्वाचन क्षेत्रमा तनाव बढ्नुमा प्रतिस्पर्धी दललाई निर्वाचन जित्नैपर्ने दबाब मुख्य कारण रहेको सुरक्षा संयन्त्रको विश्लेषण छ । मधेसको तुलनामा पहाडमा सत्तागठबन्धन आबद्ध कांग्रेस र माओवादी तथा एमालेबीच कडा टक्कर छ । जसले प्रतिस्पर्धी उम्मेदवारलाई चुनाव जसरी पनि जित्नुपर्ने दबाब खडा गरिदिएको छ । 

‘सत्तागठबन्ध र एमालेबीचको पेचिलो प्रतिस्पर्धा मधेसभन्दा पहाडमा धेरै छ । उनीहरूलाई चुनाव जसरी पनि जित्ने दबाब छ । जसले उनीहरूबीच कडा प्रतिस्पर्धा सिर्जना गरिदिएको छ, सोही कारण स्थिति तनावपूर्ण बन्यो,’ नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी कार्कीले भने, ‘तर, मधेसमा एमाले, कांग्रेस, मओवादीको तुलनामा मधेसवादी दलबीच नै प्रतिस्पर्धा देखिन्छ । उनीहरूबीचको प्रतिस्पर्धा एमाले, कांग्रेस, मओवादीको जस्तो छैन । यसैले तनाव कम हुन पुग्यो ।’

निर्वाचन आयोगका अनुसार मुलुकभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका थिए, जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका थिए । जसअनुसार तीन हजार चार सय १२ स्थल अतिसंवेदनशील सूचीभित्र परेका थिए । सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका थिए । त्यस्तै तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका थिए । 

जहाँ तनाव दोहोरियो 
दोलखाको निर्वाचन विगतदेखि नै बुथकब्जा र हुलहुज्जतका कारण चर्चामा हुन्थ्यो । दोलखामा ०४८ यता बुथकब्जा नभएका कुनै पनि निर्वाचन छैनन् । यसपटकको निर्वाचनमा पनि बुथकब्जा हुन सक्ने प्रहरी आकलन थियो । सोहीअनुसार सुरक्षा संयन्त्र बाक्लै परिचालित पनि थिए । तर, बुथकब्जाको विगतलाई सुरक्षा संयन्त्रले यसपटक पनि रोक्न सकेन । १० ठाउँमा बुथकब्जा भएको उजुरी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सोही क्रममा आठ स्थानमा हवाई फायर भएका छन् । 

प्रहरीका अनुसार दोलखाको तामाकोसी गाउँपालिका–४ जफेस्थित कालापानी मावि, डाडाँगाउँस्थित गोल्मेश्वर मावि, भरतचौरस्थित अमर मावि, बैतेश्वर गापा–२ पुतलीकाठस्थित जनज्योति मावि, कालिञ्चोक गापा– कालिन्चोक गाउँ, आहालडाँडास्थित सूर्योदय आधारभूत विद्यालय र जिरी नपा–९ स्थित कालिका मावि, गौरी शंकर गापास्थित जुगीमा हवाई फायर भएको छ । 

त्यस्तै, ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान स्थगित गर्नुपरेको बाजुराको बुढीगंगा नगरपालिकामा यसपालि पनि लफडा भयो । बाजुरा त्रिवेणी नगरपालिका–७, दम्था मतदानस्थलमा त गोली नै चल्यो । घटनामा स्थानीय सञ्जीव अयडीको ज्यान गयो ।

See More On

सुझावित समाचार