खोटाङमा ४८ प्रतिशत मात्र मतदान भएको छ । जिल्लाभर एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेकोमा आधाभन्दा कम मतदान भएको प्रारम्भिक आँकलन गरिएको छ ।
जिल्लाका एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी केन्द्रबाट मतदाताले मतदान गरेका थिए । जिल्लाका दशवटै स्थानीय तहको केन्द्रमा जम्मा भएको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा आइपुगिसकेको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिए ।
मतपेटिका बुझ्ने काम सकिएपछि आजै सर्वदलीय बैठक बसेर मत गणना सुरु उनले जानकारी दिए । ‘दिउँसो चार बजेसम्म मतपेटिका बुझ्न समय लाग्ने अनुमान गरिएको छ’, उनले भने, ‘दिउँसोसम्ममा सबै मतपेटिका रुजु गरेर बेलुकाबाट गणना सुरु गर्ने तयारीमा छौँ ।’
आइतबार सम्पन्न निर्वाचनमा स्वतन्त्रसहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा दश जना र प्रदेशसभा (ख)मा ६ उम्मेदवार छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं. प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क) मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा छन् ।