आफ्ना जनप्रतिनिधि आफैँले चयन गर्ने ऐतिहासिक अवसर सदुपयोग गर्न जेष्ठ मतदाताहरू पछि परेका छैनन् ।
मकवानपुरको वंशगोपाल मावि केन्द्रमा पुगेर ९८ वर्षीय टिकादत्त पौडेलले मतदान गरेका छन् । पौडेललाई पालो नपर्खाई मतदान गर्न दिइएको थियो ।
उमेरले शताब्दी पुग्न लागेका पौडेलले मतदान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले आफू मतदान गर्न आएको प्रतिक्रिया दिए । पौडेलले नाति विजय पौडेलको सहयोगमा मतदान गरे । अहिलेसम्म भएका सबै निर्वाचनमा मतदान गरेको बताउने पौडेलले लोकतन्त्र र संविधानको रक्षाको लागि मतदानमा सहभागी भएको बताए ।