आज हुने निर्वाचनमा केही जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, कार्यालय सहयोगीदेखि सुरक्षाकर्मीसमेत सबै महिला छन्
लमजुङका ३० वटा मतदान केन्द्रको जिम्मा महिलालाई
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालय अस्थायी मतदान केन्द्रसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब १६ प्रतिशत महिला मतदान अधिकृत र करिब ३१ प्रतिशत महिला सहायक मतदान अधिकृत खटाएको जनाएको छ ।
लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जिल्लाका ३० मतदान केन्द्रमा महिला मतदान अधिकृत खटाएको जानकारी दिए । जिल्लामा सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेँसीसहर र वरपर बढी खटाएको छ ।
बेसिसहर नगरपालिका–२ मा रहेको बालकल्याण माविमा मतदान अधिकृतको रूपमा खटिएकी रेखा रिजालले निर्वाचनको तयारी पूरा भएको बताइनु । बेसिसहर नगरपालिका–७ मा रहेको जनविकास माविमा संगीता केसी मतदान अधिकृतको रूपमा खटिएकी छिन् । सहायक मतदान अधिकृतमा नायब सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाइएको छ ।
डोल्पाका दुई केन्द्र : मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला
हिमाली जिल्ला डोल्पाका ६८ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रको नेतृत्व महिलाले गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने त्रिपुरा मावि काटियाचौर मतदान केन्द्र र ठुलीभेरी नगरपालिका– ३ मा पर्ने सरस्वती मावि मतदान केन्द्र महिला कर्मचारीले नेतृत्व गरेका छन् ।
यी मतदान केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला खटाइएको छ । त्रिपुरा मावि मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा सम्झना महतारा र सहायक मतदान अधिकृतको रूपमा मायादेवी शाही खटिएकी छिन् । बलिसरा विक, सुनिता ठकुल्ला, भाग्यादेवी रोकाया, सन्ध्या आचार्य, शान्ति महतारा, निमा साङ्मो रोकायलगायतका कर्मचारी यस मतदान केन्द्रमा खटिएका छन् । यहाँ खटिएका म्यादी र नेपाल प्रहरीहरू पनि अधिकांश महिला छन् ।
निर्वाचनको पूर्वतयारी गर्न केही समस्या भए पनि मतदानस्थल निर्माणलगायतका सम्पूर्ण काम गरिएको मतदान अधिकृत सम्झना महताराले बताइन् । ‘पुरुषसरह महिलाले पनि काम गर्न सक्छन्, त्यो विगतका निर्वाचनले पनि देखाएको छ । तर, झैँझगडा भयो भनेचाहिँ केही समस्या हुन सक्छ,’ उनले भनिन् । उनका अनुसार यस मतदान केन्द्रमा दुधेबच्चा भएका चारजना महिला कर्मचारीसमेत छन् ।
सरस्वती मावि, दुनै मतदान केन्द्रमा पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी पनि महिला खटाइएको छ । मतदान अधिकृतको रूपमा सुजिता श्रेष्ठ र सहायक मतदान अधिकृतको रूपमा संगीता कार्की खटिएकी छिन् । तुलसाकुमारी रावत, सुमित्रा धराला, टीका थापा, उर्मिला रोकाय, निशा बुढा र बिजु बुढा खटिएका छन् । महिलाहरू मात्र हुँदा काम गर्न कुनै असहजता महसुस नभएको मतदान अधिकृत सुजिता श्रेष्ठले बताइन् । मतदान केन्द्रहरू समावेशी र महिलामैत्री बनाऔँ भन्ने हिसाबले दुईवटा मतदान केन्द्रमा महिला मात्र खटाएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए । ‘हाम्रो समाजमा महिलालाई कार्यसम्पादनका हिसाबले कमजोर ठान्ने गरिन्छ । जिम्मेवारी पाएको ठाउँमा पुरुषभन्दा महिलाले अझ राम्रो काम गर्न सक्छन्,’ उनले भने ।
दार्चुलाका दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिला
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा दार्चुलाका दुईवटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन् । महाकाली नगरपालिका– ५ को अपी नाम्पा संरक्षण क्षेत्र केन्द्रको (क) र (ख) दुवै केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जिल्लाकै नमुनाको रूपमा मतदान केन्द्रमा महिला कर्मचारीलाई मतदान गराउने जिम्मेवारी दिइएको जानकारी दिए ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुला सदरमुकाम खलंगास्थित मतदान केन्द्रमा महिला कर्मचारी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार अपी नाम्पा संरक्षण क्षेत्रको (क) केन्द्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद र अपी नाम्पाकै (ख) केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाकुमारी मगरलाई मतदान अधिकृत तोकिएको छ ।
दुवै मतदान केन्द्रमा मतदान अधिकृत एक–एकजना, सहायक मतदान अधिकृत एक–एकजना, पाँचजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी खटाइएको छ । अपी नाम्पा संरक्षण क्षेत्रको (क) केन्द्रमा ८६८ र (ख) केन्द्रमा ८७९ मतदाता छन् । ‘हामी पनि पुरुषसरह निर्वाचनमा काम गर्न सक्छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले भनिन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी गरी एक हजार एक सय २८ कर्मचारी र स्वयंसेवक पाँच सय २७ गरी एक हजार ६ सय ५५ कर्मचारी खटाइएको छ । नौवटा स्थानीय तह रहेको दार्चुलामा पाँच हजार पाँच सय ४३ पुरुष र ४३ हजार ६ सय ११ महिला गरी कुल ८९ हजार एक सय ५४ मतदाता छन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लामा पाँच सय २८ नेपाल प्रहरी, आठ सय २७ म्यादी प्रहरीसहित दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान सम्पन्न भएपछि आइतबार बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी गरिनेछ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीका लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसमार्फत बोकेर मतपेटिका संकलन गर्ने गरी तयारी गरिएको छ । मतगणना सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माविमा हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरिसकेको छ । सिसिक्यामेरा र तारजालीसहित मतगणनास्थल बनाइएको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
बर्दियाका एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बर्दियाको एक मतदान केन्द्रमा मतदान अधिकृत, सुरक्षाकर्मीदेखि सबै कर्मचारी महिला छन् । जिल्लाका एक सय ५४ मतदानस्थलअन्तर्गतका तीन सय ७६ मतदान केन्द्रमध्ये एउटामा मात्र सबै कर्मचारी महिला राखिएको हो । गुलरिया नगरपालिका– ८ स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको नमुना मतदान केन्द्रका सबै कर्मचारी महिला हुन् ।
दुई हजार ७४ जना मतदाता रहेको यो मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र सुरक्षा कर्मचारी सबै महिला रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्णबहादुर कुँवरले बताए । यो मतदान केन्द्रमा नमुनाका रूपमा महिला मात्रै खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको भनाइ छ । निर्वाचन सम्पन्न गर्न बर्दियामा एक हजार चार सय ५० कर्मचारी र तीन हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हुम्लाका चार मतदान केन्द्रको जिम्मा महिलालाई
हिमाली जिल्ला हुम्लाका चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र छन् । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिमकोट गाउँपालिका– ५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका– ३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहोरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले बताए ।
आठ महिलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलालाई जिल्लामा यसपटकको चुनावमा प्राथमिकतामा राखेर निर्वाचनमा खटाइएको हो । गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यसपटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।
कालीकोटमा एउटा मतदान केन्द्र महिलाको जिम्मामा
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कालीकोटमा एउटा मतदान केन्द्र महिलाको जिम्मा लगाइएको छ । एक सय २४ मतदान केन्द्र तथा मतदानस्थलमध्ये खाँडाचक्र नगरपालिका– २ पञ्चदेवल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा सबै महिला खटिएका छन् ।
सो मतदान केन्द्रमा जिल्ला अस्पताल कालीकोटमा कार्यरत सिनियर अहेव सेतु शाहीलाई मतदान अधिकृतको जिम्मा दिइएको जिल्ला निर्वाचन कार्यालयका कालीकोट प्रमुख नन्दराम चौलागाईंले जानकारी दिए । ‘कालीकोटमा एउटा मात्र मतदान केन्द्रमा मतदान अधिकृतसहित अन्य महिला कर्मचारी खटाइएको छ,’ उनले भने, ‘केन्द्रमा महिला मतदान अधिकृत र अन्य कर्मचारीको व्यवस्था गरिएको छ ।’ मतदान केन्द्रमा शाहीको नेतृत्वमा नौजना महिला कर्मचारी खटिएको प्रमुख चौलागाईं जानकारी दिए ।
उदयपुरका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र
उदयपुरमा दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन् । उदयपुर २ को अम्मेबर माध्यमिक विद्यालयमा रहेका दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख अधिकृत खेमराज कोइरालाले अम्मेबर माध्यमिक विद्यालयमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा महिलालाई मात्र खटाइएको छ । ‘केन्द्रमा सुनिता प्रधान र रत्नकुमारी राईलाई जिम्मा दिइएको छ,’ उनले भने । कोइरालाका अनुसार उदयपुरमा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् । ‘निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा हुँदै छ । मतदान अधिकृतहरू मतदानका लागि आवश्यक पर्ने निर्वाचन सामग्री जिम्मा लिएर मतदान केन्द्र जाने क्रम जारी छ,’ उनले भने ।