हेलिकोप्टरबाट समेत गस्ती हुने : ०६४ देखि भएका घटना, अस्वाभाविक मतदान भएका आधारमा १० भन्दा बढी जिल्लाका केही स्थललाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्ती
स्थानीय तह निर्वाचन अनुभवका आधारमा झपड हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका ठाउँमा थप मद्दतका लागि विशेष प्रहरी टोली खटाइएका छन् । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा, बाजुरा, कैलालीलगायत जिल्लामा यस्तो टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ ।
विगतमा ती जिल्लाका केही मतदानस्थलमा बुथ कब्जाको प्रयास भएका थिए । त्यस्ता गतिविधि रोक्न सुरक्षा निकायले यसपटक विशेष सतर्कता अपनाएको हो । दोलखाको वैतेश्वर गाउँपालिका तथा बाजुराको बुढीगंगालगायत क्षेत्रमा विगतमा बुथ कब्जाका घटना भएका थिए । ती ठाउँलाई उच्च संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था अपनाइएको प्रहरी स्रोतले बतायो । जहाँ विशेष तालिमप्राप्त प्रहरीसमेत खटिएका छन् ।
अति संवेदनशील स्थानमा हेलिकोप्टरमार्फत गस्तीसमेत हुँदै छ । सरकारले बनाएको सुरक्षा योजनाअनुसार कतिपय स्थानमा सेनाले हवाई गस्ती गर्ने सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल चुनावविरोधी गतिविधि न्यून रहेको र झडपका घटना पनि फाटफुट मात्र भएकाले निर्वाचन निकै शान्तिपूर्वक हुने बताउँछन् । निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछि तीन चरणमा सुरक्षा योजना वर्गीकरण गरी लागू गरिएको उनले बताए । १० हजार ८९२ मतदानस्थलमै पूर्ण सुरक्षाको व्यवस्था भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिँदै छन् । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी हुनेछन् भने बाहिरी घेरामा सेना र सशस्त्र प्रहरी खटाइएको छ ।
सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला : धीरजप्रताप सिंह, महानिरीक्षक, नेपाल प्रहरी
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजनाअनुसार उच्च मनोबलका साथ सुरक्षाकर्मी देशैभरि परिचालित छन् । प्रहरीको उच्च व्यावसायिकताका कारण फुलप्रुफ सुरक्षाको वातावरण बनेको छ ।
निर्वाचन बिथोल्न छिटफुट केही हिंसाका घटना भए पनि त्यसमा संलग्नलाई हामीले कानुनी दायरामा ल्याइसकेका छौँ । आफ्नो, मतदानस्थलका कर्मचारीको तथा मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न भए कसैको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएका छौँ ।
सबै सुरक्षा निकायबीचको समन्वयले निर्वाचन सुरक्षा चुस्त बनेको छ । बढीमा ३० मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा योजना बनेको छ । त्यसकारण ढुक्क भएर आफ्नो मताअिधकार सदुपयोग गर्न नेपाल प्रहरीको अनुरोध छ ।
राजु अर्याल, महानिरीक्षक, सशस्त्र प्रहरी
आन्तरिक र बाह्य दुवै सुरक्षा चुनौती आकलन गरेर निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको छ । चार सुरक्षा निकायबीच उच्चस्तरको समन्वय भएको छ, जुन फिल्डमा पनि देखिएको छ ।
समन्वय राम्रो हुँदा सुरक्षा अवस्था बलियो भएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षालाई पनि विशेष केन्द्रमा राखेको छ । यसपटक सीमामा हाम्रो टोलीको ग्याप हुने स्थानमा भारतको एसएसबीसँग समन्वय गरी त्यहाँ आवतजावत रोक्न भनेका छौँ ।
संवेदनशील ठाउँहरूमा पहिलाको अनुभवका आधारमा थप सुरक्षाकर्मी परिचालन भएको छ । घरदेखि मतदानस्थलसम्म पुग्नदेखि मतगणनासम्मको सुरक्षामा सुरक्षाकर्मीहरू एकीकृत रूपमा खटिएर शान्तिपूर्वक चुनाव गराउने वातावरण बनेको छ । त्यसकारण निर्धक्क भएर उत्साहका साथ मतदान गर्ने वातावरण बनेको छ ।