कात्तिकमा उपत्यकामा ६६५ दुर्घटना, १६ जनाको मृत्यु

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

कात्तिक महिनामा काठमाडौं उपत्यकामा ६ सय ६५ वटा दुर्घटना भएका छन् । जसमा १६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा २१ जना गम्भीर घाइते भएका छन् । यस्तै, पाँच सय ६८ जना सामान्य घाइते भएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो मोटरसाइकलमा सवार छन् । मोटरसाइकलचालक तथा यात्री १० जना, पैदलयात्री चारजना र दुईजना चारपांग्रे सवारीसाधनमा सवारले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये दुईजना बालकसमेत छन् । 

एक महिनामा नौ सय ५० सवारीसाधन दुर्घटनामा संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ । पाँच सय ४१ मोटरसाइकल तथा तीन सय ७० वटा कार–जिप दुर्घटनामा संलग्न छन् । ६६ ट्रक, १४ टिपर, एक सय ६२ बस, १० माइक्रोबस, सात टेम्पो र एक ट्रयाक्टर दुर्घटनामा परेका छन् । 

ट्राफिक व्यवस्थापनमा नगर प्रहरी र स्वयंसेवक 
उपत्यकामा कार्यरत ट्राफिक प्रहरी निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिरका जिल्लामा खटिएपछि उपत्यकामा स्वयंसेवक र नगर प्रहरी ट्राफिक व्यवस्थापनमा खटाउन थालिएको छ । ट्राफिक प्रहरी नहुँदा जामलगायतका समस्या बढेपछि स्वयंसेवक र नगर प्रहरीले सघाउन थालेका हुन् । उपत्यका ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौं महानगरपालिकाबाट २०, ललितपुर महानगरपालिकाबाट आठ नगर प्रहरी ट्राफिक व्यवस्थापनमा खटिएका छन् । त्यस्तै, नेपाल रेडक्रसबाट २० र ४० जना विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका छन् । सामान्य अवस्थामा उपत्यकामा एक हजार सात सय ट्राफिक प्रहरी खटिए पनि निर्वाचनका लागि एक हजार तीन सय उपत्यकाबाहिरका जिल्लामा खटिएका छन् । 

दिउँसो बढी दुर्घटना : ट्राफिक प्रहरी
ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दिउँसोको समयमा धेरै दुर्घटना भएका छन् । दिउँसो १२ देखि साँझ ६ बजेसम्म सर्वाधिक दुई सय ५२ दुर्घटना भएका छन् । बिहान ६ देखि १२ बजेसम्म दुई सय आठ, साँझ ६ देखि मध्यराति १२ बजेसम्म एक सय ७८ तथा  मध्यरातिदेखि बिहान ६ बजेसम्म २७ दुर्घटना भएका छन् । 

दुर्घटनाको मुख्य कारण चालककै लापरबाही रहेको औँल्याइएको छ । चार सय ३६ दुर्घटनामा चालकको लापरबाही तथा एक सय ५९ मा तीव्र गतिका कारण भएको जनाएको छ । ४२ दुर्घटना चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा भएका छन् भने सातवटा यान्त्रिक गडबडीका कारण छन् । ओभरटेक गर्ने क्रममा ६ वटा दुर्घटना भएका छन् । दुर्घटना गराउनेमध्ये १६ सवारीचालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ । 

कात्तिक महिनामा सामान्यभन्दा धेरै दुर्घटना भएका छन् । २० कात्तिकदेखि सडकमा ट्राफिक प्रहरी न्यून भएको र ट्राफिक प्रहरीलाई नदेखेपछि नियम मिच्ने प्रवृत्तिले पनि दुर्घटना बढेको आकलन गरिएको छ । 

सुझावित समाचार