कर्तव्यको भारी बोकेर मतदान केन्द्र हिँडे, कर्मचारी र सुरक्षाकर्मी [तस्बिरहरू]

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

रेसुंगा नगरपालिका ९ को उपल्लो तम्घास माविका पारश्वर मरासिना गुल्मी दरबार गाउँपालिका वडा नं ४ को रत्ना आधारभूत प्राविमा सहायक कर्मचारीको रूपमा खटिएका छन्। मरासिनी उत्साहित देखिन्थे। किनकि यो मरासिनीको पहिलो अनुभव हो। उनले राष्ट्रको नयाँ जिम्मेवारी र अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। 

इस्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख लालबहादुर कुँवरसँग ०६४ सालदेखिकै निर्वाचन सम्पन्न गरेको अनुभव छ। त्यो वेला १० वर्षे द्वन्द्वपछिको पहिलो निर्वाचन भएकाले धेरै जोखिमहरू थिए। तर, आयोगले तोकेको जिम्मेवारी पूरा गरेको कुँवरले अनुभव सुनाए। अहिले पनि मतदान अधिकृतको रूपमा धुर्कोट गाउँपालिका ७ को मतदान केन्द्रमा खटिएका छन्। 

बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा कर्मचारी र सुरक्षाकर्मीको निकै ठूलो भिड थियो। त्यो भिडमा निर्वाचनको नयाँ पुराना अनुभव भएका कर्मचारी तथा सुरक्षाकर्मी थिए। धुर्कोट गाउँपालिका ६ को धुर माविमा खटिएका मतदान अधिकृत फत्तबहादुर बस्नेतले चारवटा मतपत्र र मतदान अधिकृतको जिम्मेवारी भएकाले मतदान कठिन रहेको बताए। 

रुरु क्षेत्र गाउँपालिका १ को रिडी माविका मतदान अधिकृत नारायण अर्यालले हरेक निर्वाचन चुनौतीपूर्ण हुने बताए। विधि, कर्तव्य र विश्वासका आधारमा राष्ट्रिय अभियानलाई सम्पन्न गर्ने अठोट मनमा भएको बताए।

सत्यवती गाउँपालिका ८ को भार्से जनसहयोग माविका मतदान अधिकृत शिव ज्ञवालीले निर्वाचनलाई स्वच्छ बनाउन कर्मचारीमा निष्पक्षता र स्थानीय स्तरमा सहयोग तथा समन्वय महत्वपूर्ण हुने बताए। 

कर्मचारी र सुरक्षाकर्मी ५ हजारभन्दा बढी परिचालन

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ५ हजारभन्दा बढी कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन्।

बिहीबार मतदान प्रक्रियामा आवश्यक पर्ने निर्वाचन सामग्री बोकेर कर्मचारीहरू र सुरक्षाकर्मी मतदान स्थल तर्फ हिँडेका हुन्। क्षेत्र नं १ र २ का निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर मतदान अधिकृतसहितको टोली गाउँ हिँडेको हो। 

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आजै मतदान केन्द्रहरूमा पुग्नेछन्। मतदान अधिकृत २ सय ७९, सहायक मतदान अधिकृत २ सय ७९, सहायक कर्मचारी १ हजार ३ सय ८९ र सहयोगी २ सय ७९ गरेर २ हजार २ सय २६ कर्मचारी आ–आफ्नो मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान अधिकृतले मतदान केन्द्रमा स्वयं सेवक आफैँले व्यास्थापन गर्न पाउनेछन्। 

त्यस्तै, मतदान केन्द्र र बाहिर सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरेर ३ बढी हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रजिअ पुण्यविक्रम पौडेलले जानकारी दिए। 

उनले अहिलेसम्म दुईवटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण चुनावी सभा र घरदैलो भएकाले सुरक्षाको दृष्टिकोणबाट कुनै कमी नहुने बताए। पौडेलले मतदान केन्द्रहरूको अनुगमन, सुरक्षा प्रबन्ध, मतपेटिका आवत–जावतसहित मतगणना स्थल व्यावस्थापनका कामहरू भइसकेको बताए।

सुझावित समाचार