निर्वाचनको समयमा भूमिहीन, सुकुमबासीलाई हटाउन खोज्नु आचारसंहिताविपरीत : नेता सिंह

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिताविपरीत हुने उनको जिकिर छ।

काठमाडौं महानगरपालिका– ३१ जागृतिनगरमा बिहीबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए।

बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकारसम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरू दिइएको हुन्छ, ती सुझावलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ।’

अव्यवस्थित बसोवास, जोखिमपूर्ण बसोवास, सुकुमबासी र भूमिहीनको उचित समाधान निकाल्न सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ। आफूले अरू दलका नेताहरूले जस्तो झुटाे आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग छलफल गरी समस्याको समाधान निकाल्ने प्रतिबद्धता जनाए।

भूमिहीन र सुकुमबासीको समस्याको समाधान आफूहरूले मात्रै गर्न सक्ने जिकिर गर्दै उनले कुन उम्मेदवारलाई जिताउँदा आफ्नो भविष्य राम्रो हुन्छ, लेखाजोखा गरेर मत दिन आग्रह गरे।

सुझावित समाचार