कांग्रेस गठबन्धनसहित चुनावी मैदानमा छ । ०४८ देखि हेर्ने हो यसअघि सरकारमा मात्रै गठबन्धन हुने गरेको थियो । यसपटक संंसदीय निर्वाचनमा पनि गठबन्धन गरेर कांग्रेस निर्वाचनमा छ । गठबन्धन दलबाट काठमाडौं ५ मा संघीय संसद्का लागि प्रदीप पौडेल उम्मेदवार छन् । उनी हामीले खोजेजस्तै युवा कांग्रेसी हुन् । नोमिनेसनअघि मलाई भेट्न आएका थिए । उनको एउटा कार्यक्रममा म पनि सहभागी थिएँ । कार्यक्रम अवधिभर भाषण सुनेँ, प्रभावशाली थियो । मैले महसुस गर्दा उनी विद्यार्थी नेता थिए । प्रदीपमा यहाँको नेतृत्व हाँक्न सक्ने क्षमता देखें ।
मैले राजनीतिक विश्राम लिँदा पनि नयाँ पुस्ताले नेतृत्व लिए हुन्थ्यो भन्ने लागेको थियो । अहिले हामीले यो क्षेत्रमा नयाँ पुस्ताको उम्मेदवार पाएका छौँ । म राजनीतिक रूपले जन्मेको क्षेत्र यही भएकाले यत्तिको उम्मेदवारले जित्नुपर्छ भनेर बोलेको हुँ । यो क्षेत्रमा कांग्रेसको भोटले मात्र हामी जित्छौं भनेको होइन । केही दलका कार्यकर्ता पनि होलान्, तर मतदाता भनेका स्वतन्त्र हुन्छन् । पहिला पनि यो क्षेत्र फलानो पार्टीको क्षेत्र हो भन्थे । तर, मैले यो जनताको क्षेत्र हो भनेर प्रमाणित गरिदिएँ । मैले कहिल्यै पनि यो मेरो क्षेत्र हो भनेर भनेको छैन । दलले जहाँ भन्छ त्यहाँ निर्वाचन लड्नुपर्छ । नेताहरू सधैँ उही ठाउँमा उठिरहन हुँदैन ।
अहिले प्रदीप तनहुँबाट आएका छन् । पार्टीले जहाँ खटाउँछ त्यहाँ निर्वाचन लड्नुपर्ने हुन्छ । संसदीय पद्धतिअनुसार चुनाव जितेपछि प्रधानमन्त्री हुने हो । तर, आफ्नो मात्र निर्वाचन क्षेत्र हेर्ने हो भने अरू क्षेत्रका लागि कसरी न्याय हुन्छ ? यो क्षेत्रमा निर्वाचन जितेकाहरू सबै बाहिरका उम्मेदवार छन् । मलाई पनि बाहिरको उम्मेदवार भन्थे, जबकि म यहीँ जन्मेको हुँ, मान्छेले चिनेनन् । सानैमा पढ्न आएको कताको कताको भन्थे । ईश्वरजी पनि यहाँको उम्मेदवार त होइन । ०४८ मा धनुषाबाट उठेका थिए, तर पराजित भए । ०५१ मा एमाले अध्यक्ष मनमोहन अधिकारी यहाँबाट निर्वाचन लडेका थिए । ०५६ मा पनि मनमोहनजी उम्मेदवार थिए, तर निर्वाचन हुँदाहुँदै उनको देहावसान भयो । त्यसपछि निर्वाचन रोकियो र पछि ईश्वरजी उठे । मनमोहनजी प्रधानमन्त्री हुँदा उहाँ सल्लाहकार हुनुहुन्थ्यो । ईश्वरजीसँग प्रतिस्पर्धामा कांग्रेसबाट चिरञ्जीवीनिधि तिवारी थिए । म ०६४ र ०७० मा यो क्षेत्रबाट निर्वाचन लडेको हुँ ।
काठमाडौं ५ का मतदाता मिश्रित छन् । आफ्नो कोर भोटरभन्दा अर्को समूहको मत निर्णायक हुन्छ । कांग्रेसलाई मध्यमार्गी पार्टी भन्छन् । आफ्नो मतदाताको समूहभन्दा अर्को भोटरको समर्थन लिन सकेमा निर्वाचन जितिन्छ भन्छन् । पार्टी बाहिर रहेका स्वतन्त्र मतदाताको प्रभाव यहाँ बढी पर्छ । लहरको पनि प्रभाव पर्छ । ०७४ को निर्वाचनमा टुक्राटुक्रामा रहेका कम्युनिस्ट एक ठाउँमा आए भन्ने लहर थियो । त्यसवेला कार्यगत रूपमैै ठूला कम्युनिस्ट पार्टी एक थिए । यतिवेला त्यो अवस्था पनि छैन । चुनावी माहोल फरक देखिन्छ । यहाँ पार्टीबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार छैनन् । यो क्षेत्रमा उठेका केही स्वतन्त्र उम्मेदवारले भोट तान्न सक्ने देखिन्छ ।
मैले निर्वाचन नलडेको धेरे वर्ष भयो । पहिला मलाई राजा बसेको पनि यहीँ हो । यहाँ सैनिक, प्रशासक, प्रहरी सबै प्रकारका मतदाताको बसोवास छ भन्थे । तिमीलाई राजावादीकै भोट प्रशस्त काटिन्छ भन्थे, किनकि संवैधानिक राजसंस्था मानेको पार्टी र पछि त्यो नमानेको हुनाले यहाँको दोष पनि थियो हामीलाई । कम्युनिस्ट त राजा नमान्ने हुन्, कांग्रेसले पनि यस्तो गर्यो भन्ने द्वैष भावना राजासँग थियो भन्थे । राजावादी भनेर कोही स्वतन्त्र थिए । ०६४ को निर्वाचनमा राप्रपाका कैयौँ भोटरले मलाई समर्थन गरेका थिए । कम्युनिस्टले पनि मलाई समर्थन गरेका थिए । राप्रपाले समर्थन गरेको भनेर कम्युनिस्टले समर्थन नगरेका होइनन् । जनमोर्चाले त लिखित रूपमा वक्तव्य निकालेर नै मलाई समर्थन गरेको थियो ।
यो क्षेत्रको विषयमा मैले जति रिपोर्ट लिएको छु, त्यसमा मतदाता परिवर्तनको पक्षमै रहेको पाएको छु । मेरो अरू परीक्षणको आधार छैन । यहाँ प्रमुख प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल मेरै उमेरबराबरका छन् । म झन्डै ७० वर्ष पुग्न लागेँ । उनले धेरैपटक अवसर पाए । उनसँग मेरो घनिष्ठ सम्बन्ध छ । निर्वाचनमा पराजित भएपछि पनि हामीले सँगै डिनर गरेका थियौँ । अहिले पनि उनी भेटका लागि मकहाँ आइरहनछन् । उनको विषयमा मैले धेरै भन्नुछैन ।
प्रदीप नयाँ पुस्ताका हुन् । नयाँ पुस्ता मात्रै भनेर हुँदैन, उनी नयाँ पुस्ताअनुसारको विचार र कार्यशैली अपनाउन तयार छन् । उनको राजनीतिक गतिविधिमा देखेको हुनाले त्यसमा म विश्वस्त छु । कांग्रेसमा पनि परिवर्तन चाहिन्छ भन्ने जमात ठूलो छ । सक्रिय रूपमा कति सकिन्छ, म गर्छु । देश र कांग्रेसलाई नयाँ बनाउने बाटोमा प्रदीपले दुई–चार इँटा थप्ने नै छन् भन्ने विश्वास छ ।
(केशवप्रसाद पाण्डेसँगको कुराकानीमा आधारित)