आसन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी छ। कांग्रेसको केन्द्रीय पदाधिकारीमा रहेकी डिना मात्रै एकजना महिला उम्मेदवार पनि हुन्। समानुपातिकमा एक नम्बरमा बस्न नेतृत्वले गरेको आग्रह अस्वीकार गर्दै चुनावी मैदानमा होमिएको दाबी गर्ने डिना आफू जनताको माझमा बसेर काम गर्नकै लागि उम्मेदवार बनेको बताउँछिन्। प्रत्यक्ष निर्वाचनमा उनको विगत त्यति राम्रो छैन। उनी यसअघि तीनवटा निर्वाचनमा प्रत्यक्षमा पराजित भएकी थिइन्। उनी २०४८, २०५१ र २०७४ को निर्वाचनमा पराजित भएकी हुन्।
नेपाली कांग्रेसको केन्द्रमा राम्रो प्रभाव भएकी डिनासँग २०७० मा संविधानसभा सदस्य भएर संविधान लेखनमा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा ऊर्जा राज्यमन्त्री भएर काम गरेको अनुभव छ। सहकारीमार्फत महिलाको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर सहकारी आन्दोलनमा समेत होमिएकी डिना आफूले महिलाको हकहित र अधिकारका लागि गरेका कामका कारण मतदाताले मत दिनेमा विश्वस्त छिन्। यस्तै, संविधानमार्फत राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच वृद्धिका लागि आफूले खेलेको भूमिका पनि महत्वपूर्ण भएको दाबी गर्दै मतदाताले मंसिर ४ गतेको निर्वाचनमा जिताउने बताउँछिन्।
मंसिर ४ को निर्वाचन, उनको तयारी, जनताका गुनासा, अपेक्षा र जितको सम्भावनाका विषयमा केन्द्रित भएर नयाँ पत्रिकाकर्मी पाेष्टराज अधिकारीले गरेकाे कुराकानीकाे सम्पादित अंश ः
मंसिर ४ नजिकिएको छ। चुनावको तयारी कसरी गरिरहनुभएको छ ? तपाईंको प्रचारप्रसार कहाँ पुग्यो ?
मंसिर १ गते राति १२ बजेपछि चुनाव प्रचारप्रसार गर्न नपाइने भएपछि स्वभाविकै रूपमा चुनावको तयारीमा केन्द्रित छौँ। चुनावमा मौन अवधि सुरु भएपछि मत माग्न पाइँदैन। त्यसकारण जतिसक्दो जनताको घरदैलोमा पुगेर मत माग्ने, गुनासा सुन्ने र आफ्ना एजेन्डा राख्ने काम भइरहेको छ। मेरो चुनावी क्षेत्रमा जिल्लाकै एक मात्र उपमहानगरपालिका हेटौंडासँगै मकवानपुरको पूर्वी क्षेत्र बागमती, बकैया र मकवानपुर गढी गाउँपालिकाको ४ वटा वडा पर्छ। सुगम र दुर्गम दुवै क्षेत्र पर्ने भएकाले सबै ठाउँमा मिलाएर पुगिरहेको छु। निर्वाचनको तयारी सधैँ नै भइरहेको थियो। अहिले आएर मात्रै तयारी गरेको होइन। २०७४ सालमा पराजय व्यहोरेदेखि नै २०७९ सालको निर्वाचनका लागि म तयारीमा थिएँ। निरन्तर जनताको माझमा छु। जनताको सुखदुःखमा छु। यसपटक जित्ने लक्ष्यका साथ जनताको घरदैलोमा छु।
तपाईं चुनावी प्रतिस्पर्धामा रहनुभएको क्षेत्रको अधिकांश भाग तपाईंका लागि नयाँ छ। तपाईंको क्षेत्रका मतदाताका माग र गुनासा के छन् ? के पाउनुभयो ?
तपाईंले भनेकोजस्तो म चुनावी प्रतिस्पर्धामा रहेको अहिलेको क्षेत्र मेरा लागि नयाँ होइन। हो, यसअघिका चुनावहरूमा मकवानपुरको क्षेत्र विभाजन फरक भएकाले केही ठाउँहरू पक्कै चुनावी दृष्टिकोणले नयाँ होलान्। अर्को कुरा, म २०७० को चुनावमा मकवानुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहेका कारण धेरैलाई मकवानपुर क्षेत्र नम्बर १ मेरा लागि नयाँ भन्ने लागेको छ। त्यसो होइन्। २०४८ र २०५१ को चुनावमा मैले प्रतिस्पर्धा गरिरहँदा म हेटौँडा बजार क्षेत्रबाटै उठेको थिए। र, म यहीँ जन्मिएको हुर्किएको मान्छेलाई मकवानपुरको सबै भाग मेरा लागि उस्तै छन्।
अब रह्यो मेरा क्षेत्रका मतदाताको माग र गुनासा के के छन् भन्ने कुरा। मैले मतदाताले हामीबाट ठूला-ठूला कुराको अपेक्षा गरेको पाइनँ । उहाँहरूको माग सबै सामान्य छन्। व्यवस्थित सहरीकरण, सडकको पहुँच, खानेपानीको राम्रो प्रबन्ध, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सबैको पहुँच, देशमै रोजगारी, कृषकका लागि समयमै मल, उत्पादित कृषि उपचारको उचित मूल्य र बजारीकरण यस्तै यस्तै मागहरू छन् मतदाताका। उनीहरूका गुनासाहरू पनि यीनै कुराहरूसँग जोडिएका छन्। विशेषगरी विगतमा निर्वाचित भएर गएका उम्मेदवार गाउँ फर्कन्न, हाम्रो मागकोे सुनुवाइ भएन भन्ने गुनासा पनि सुनिन्छ। मेरो निर्वाचन क्षेत्र जिल्लाको पूर्वी भागमा लालपुर्जाको ठूलो समस्या छ। वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा त्यहाँका जनता समस्यामा छन्। जतिसक्दो चाँडो लालपुर्जा पाइयोस् भन्ने उनीहरूको माग छ।
मतदाताको कुरा सुनेपछि के गर्नुपर्छ जस्तो लाग्यो ? उनीहरूको मागलाई सम्बोधन गर्न मतदातासमक्ष के कस्ता वाचा गर्नुभयो त?
म कुरामा हैन, काममा विश्वास गर्छु। मलाई वाचा गर्न आउँदैन। मैले समानुपातिकबाट सांसद बन्ने अवसर त्यागेर आएको हुँ । मलाई समानुपातिकको एक नम्बरमा बस्न भन्नुभएको थियो। तर, म मानिनँ, मैले संविधान लेख्ने क्रममा महिला, जनजाति, दलित, पिछडिएका समुदायका एजेन्डा स्थापित गर्ने काम गरेको छु। सैद्धान्तिक रूपमा मैले खेल्नुपर्ने भूमिका यसअघि पाएको अवसरमा निभाएकी छु। अब म प्रत्यक्ष जनताको माझमा बसेर काम गर्न चाहन्छु। त्यसैले म जनताको माझमा आएकी हुँ। मैले मतदाताका कुरा सुनेको मात्र छैन मनन पनि गरेको छु। मैले अघि पनि भनेँ उहाँहरूका माग ठूला छैनन्। सबै सामान्य छन्। सबै कुराहरू एकैपटक पूरा गर्न नसकिएला तर गर्न सकिन्छ। म गर्छु भनेर आएको मान्छे। पछि हट्दिनँ र अवसर दिनुभयो भने म गुनासो गर्ने अवसर पनि दिन्नँ। मैले मत माग्ने क्रममा पनि भनेको छु, म महिना/ दुई महिनामा गाउँघरमा आफैँ आउँछु, मलाई खोज्दै हिँड्नुपर्दैन।
तपाईंको क्षेत्रमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राप्रपाका दीपक सिंहजस्ता उम्मेदवार छन्। तपाईंले कसलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्नुभएको छ ?
चुनावी मैदानमा भएपछि सबै उम्मेदवार सबैका प्रतिस्पर्धी हुन्। मकवानपुरको क्षेत्र नम्बर एकमा मतको आधारमा सत्तारुढ गठबन्धन अगाडि छ। साथै, प्रतिस्पर्धाका विषयमा उम्मेदवारभन्दा पनि उम्मेदवारले प्रस्तुत गरेका एजेन्डा पनि प्रतिस्पर्धी हुनुपर्छ। यस विषयमा पनि हामी अगाडि छौँ। यहाँहरूलाई विदितै छ। गठबन्धनको मुख्य उद्देश्य के हो भनेर। विगतमा दुईतिहाइ नजिकको सरकार ढालेर संसद्लाई दुई-दुईपटकसम्म विघटन गरियो। त्यसवेला नेपाली कांग्रेसको नेतृत्वले तत्काल संविधान र प्राप्त उपलब्धि जोगाउने काम गर्यो। अहिले तिनै संसद् विघटन गर्ने र व्यवस्था र संविधानको विरोध गर्नेहरू एक भएर अएका छन्। यो कुरा मतदाताले राम्रोसँग बुझेका छन्। मतदाताले प्रतिगमनकारीलाई हैन गठबन्धनलाई मतदान गर्छन्। त्यसकारण यहाँ प्रतिस्पर्धा भएजस्तो मलाई लाग्दैन।
आफू जित्नेमा कति विश्वस्त हुनुहुन्छ? यहाँका जित्ने आधार के के हुन् ? आफ्नो क्षेत्रका लागि के कस्ता एजेन्डा छन् तपाईंसँग?
म चुनाव जित्छु। मलाई मेरा मतदताहरूप्रति विश्वास छ। उहाँहरूले मलाई जिताउनुहुन्छ। म लामो समयदेखि राजनीतिको मूलधारमा बसेर काम गरेको छु। विशेषगरी, महिलाका मुद्दालाई विगतदेखिनै उठाउँदै आएको छु। मैले आवसर पाउँदा आमसर्वसाधारणको पक्षमा काम गर्दै आएको हुँ। यसअघि संविधानसभा सदस्य हुँदा मैले गरेका कामका बारेमा तपाईंलाई भनेँ। म चुप लागेर बस्नै नसक्ने मान्छु हुँ। केही न केही गरिरहनुपर्छ भन्ने लाग्छ। समय अवसरलाई सदुपयोग गर्नुपर्छ खेर फाल्नुहुन्न भन्ने मेरो मन्यता छ।
मेरो एजेन्डाको कुरा गर्नुहुन्छ भने मसँग पूरा गर्नै नसक्ने एजेन्डा, झुटा आश्वासन र नाराहरू छैनन्। म मकवानपुरमै जन्मिएर यहीँ हुर्किँदै यही क्षेत्रलाई भूगोल बनाएर राजनीतिमा सक्रिय रहेको छु। मलाई यहाँको समस्या, सम्भावना र चुनौती सबै थाहा छ। हामी प्रदेशको राजधानीमा बस्छौँ तर साँच्चै हेटौँडालाई नजिकबाट नियाल्दा यहाँ हामीले राजधानीमा हुनुपर्नेजस्तो कुनै पूर्वाधार पाउँदैनौँ। प्रदेशको राजधानीको दीर्घकालीन विकास र वास्तविक राजधानी कस्तो हुनुपर्छ भन्ने योजना मसँग छ। जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको आर्थिक, सामाजिक परिवर्तन हुने गरी मैले कार्ययोजना बनाएको छु। महिला, आदिवासी जनजातिहरूको समस्या समाधान र पूर्वाधार विकास मेरो मुख्य एजेन्डा हुन्। युवालाई स्वदेशमै रोजगारी, कृषकका समस्या समाधान, हेटौँडाको औद्याेगिक क्षेत्रमा रहेका उद्योगधन्धाहरूको उचित व्यवस्थापन, सडक सञ्जालले सबै ठाउँलाई जोड्ने, यस क्षेत्रका सबै मानिसलाई सहज स्वास्थ्यको पहुँच, सर्वसुलभ निःशुल्क शिक्षा मेरो ग्यारेन्टी हो।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मेरा प्रतिस्पर्धीहरूजस्तो मलाई एकपटक निर्वाचित गर्दिनुस् वा मेरो अन्तिमपटक हो मलाई बचाइदिनु भनेर म भन्दिनँ। म जनताको सुखदुःखमा साथै रहने भनेर प्रत्यक्ष निर्वाचनमा आएकी छु। म विजयी हुनेमा ढुक्क छु। यदि सोचेकोभन्दा फरक नतिजा आए पनि त्यसलाई सहर्ष स्वीकार गर्दै मकवानपुर जिल्लावासीको माझमा बसेर काम गर्छु। राजनीति र जनसेवा निरन्तर गर्ने विषय हो, त्यसकारण म यो क्षेत्रबाट बाहिर जान्नँ। तर, योपटक म सहजै पाएको सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचन जित्दै जिल्लावासीको हकहितमा केही गर्ने योजनासहित चुनावी मैदानमा आएको छु। र, म सधैँ मकवानपुरे जनताको साथमै रहिरहन्छु। धन्यवाद।