मौकाको सदुपयोग

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

एकपटक बाटोमा एक व्यक्तिको भेट यमराजसित भयो । उनले यमराजलाई चिन्न सकेनन् । यमराज लामो यात्राका कारण तिर्खाएका थिए । उनले ती व्यक्तिसित पानी मागे । तिनले तत्कालै यमराजलाई चिसो पानी उपलब्ध गराए । तिर्खाएको समयमा पानी पिउन पाउँदा यमराज खुसी भए । यमराजले ती व्यक्तिलाई भने– हेर भाइ, म यमराज हुँ । म यहाँ तिमीलाई नै लिन आएको हुँ । किनकि, धर्तीमा बस्ने तिम्रो समय सकिइसकेको छ । तर, तिमीले मलाई पानी पिलाएर मेरो प्यास मेटाएका हुनाले म तिमीलाई आफ्नो भाग्य बदल्ने एउटा सुनौलो मौका दिन्छु । यसको सक्दो सदुपयोग गर्नू । 

यमराजले ती व्यक्तिलाई एउटा अनौठो डायरी दिँदै भने– तिमीसित मात्र पाँच मिनेट समय छ । यसमा तिमीले जे लेख्छौ, त्यही पाउँछौ । तर, ध्यान राख्नू, तिमीसित केवल पाँच मिनेट मात्र समय छ । ती व्यक्तिले यमराजको हातबाट डायरी लिए । त्यसलाई खेलेर हेरे । पहिलो पानामा उनको छिमेकीको चिठ्ठा खुल्नै लागेको र चिठ्ठा परेर उनी करोडपति बन्ने लेखिएको थियो । उनले त्यहाँ लेखे– मेरा छिमेकीलाई त्यो चिठ्ठा नपरोस् । 

उनी डायरीका थप पाना पल्टाउँदै गए । एउटा पानामा लेखिएको थियो– तिम्रा परम मित्र निर्वाचन जितेर मन्त्री हुनेवाला छन् । उनले त्यहाँ लेखे– मेरा साथीले कहिल्यै निर्वाचन नजितून् । उनले यसैगरी पाना पल्टाउँदै गए, प्रत्येक पानामा अरूका बारेमा लेखिएका राम्रा कुरा बदल्दै गए । जब उनी अन्तिम पानामा पुगे । त्यहाँ उनले आफ्ना बारे लेखिएको पाए । 

जब उनले आफ्नो भाग्य बदल्नका लागि केही लेख्न कलम उठाएका मात्र थिए, यमराजले उनको हातबाट डायरी खोसे र भने– तिमीलाई दिइएको समय सकियो । अब तिमीले केही पनि लेख्न पाउँदैनौ । अब केही हुनेवाला छैन । तिमीले आफ्ना लागि बिताउनुपर्ने अमूल्य समय अर्काको भाग्य बदल्ने र उनीहरूको नराम्रो चिताउने कार्यमा गुमायौ । तिमीले आफ्नो जीवनलाई संकटमा पार्यौ । अब तिम्रो अन्त्य निश्चित छ । यमराजको कुरा सुनेपछि ती व्यक्ति निकै पछुताए । तर, उनको हातबाट सुनौलो मौका गुमिसकेको थियो ।

सुझावित समाचार