१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री किशोरसिंहलाई एमालेका किस्मतको चुनौती

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:२o:oo

आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाँके ३ मा लोकतान्त्रिक-वाम गठबन्धनको समर्थनमा कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरलाई एमालेका किस्मतकुमार कक्षपतिले चुनौती दिएका छन्। स्थानीय तह निर्वाचनको मत हेर्दा गठबन्धन अगाडि देखिए पनि माओवादी, एकीकृत समाजवादीभित्रको विवाद राठौरलाई चुनौती थपिएको हो। 

एकीकृत समाजवादीले लुम्वबनी प्रदेश सभातर्फ एक सिट पनि नपाएपछि असन्तुष्टि जनाउँदै सो पार्टीका पोलिटब्युरो सदस्य दलबहादुर सुनारले बाँके ३ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिए। उनी स्वतन्त्र उम्मेदवारको रूपमा प्रचारप्रसार गरिरहेकै समयमा माओवादी केन्द्रमा प्रवेश गरे। 

आफू नै सत्तागठबन्धनको आधिकारिक उम्मेदवार भएको घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन्। सो प्रदेश निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा छ। सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रप्रसाद खरेल (आइपी) आधिकारिक उम्मेदवार हुन्। अहिले यो क्षेत्रमा आधिकारिक उम्मेदवार आफू भएको दाबी दुवैले गर्दै आएका छन्। यसले गठबन्धनमा विवाद सिर्जना गरेको छ। खरेलले केन्द्रीय तहका नेताको साथ सहयोग पाएका छन्। 

नवप्रवेशी सुनारलाई माओवादी केन्द्र खजुरा र बैजनाथ गाउँ कमिटीका पदाधिकारीको समर्थन छ। यी दुई उम्मेदवारले आफू आधिकारिक उम्मेदवार भएको भन्दै चुनावी मैदानमा होमिएका वेला सत्तागठबन्धनबाट कांग्रेसका राठौर अलमलमा परेको कार्यकर्ताको गुनासो छ। राठौरले भर्खरै मात्र माओवादी केन्द्रमा प्रवेश गरेका स्वतन्त्र उम्मेदवार सुनारलाई साथमा लिएर हिँड्दा आधिकारिक उम्मेदवार खरेल रुष्ट छन्। 

आधिकारिक उम्मेदवारलाई बेवास्ता गरेको परिणाम कांग्रेसले भोग्नुपर्ने खरेलले चेतावनी दिएका छन्। राठौरले सुनारलाई विभिन्न कार्यक्रममा साथमै लैजाने र सम्पर्क कार्यालयको बोर्डमा समेत सुनारको फोटो राखेका छन्। यसको असर पनि सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री राठौरलाई पर्ने विश्लेषण गरिएको छ। ‘म आधिकारिक उम्मेदवार हुँदाहुँदै राठौरजीले स्वतन्त्र उम्मेदवार सुनारलाई बोकेर हिँड्दाको फल ४ मंसिरपछि देखिनेछ,’ खरेलले भने। 

कांग्रेसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहनेहरूले समेत राठौरलाई खुलेर सहयोग गरेका छैनन्। राठौरको बाँके र बर्दियाका कांग्रेसमा राम्रो पकड छ। तर, यसपटक उनको प्रचारप्रसारमा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल नदेखिएको प्रचारमा सहभागी एक नेताले बताए। सभापति गौडेल संस्थापन इतरपक्षका मानिन्छन्। संस्थापन पक्षले टिकट वितरणमा पाखा लगाएको गुनासो इतरपक्षको छ। उनलाई गौडेलले खुलेर सहयोग नगर्दा मत परिणाममा असर पर्ने देखिन्छ। 

राठौरले टिकट पाएपछि कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठको परिवार पनि असन्तुष्ट छ। श्रेष्ठका छोरा रवीन्द्रमान श्रेष्ठले असन्तुष्टि जनाउँदै सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका उनले अन्तिम समयमा फिर्ता लिए। 

अंकगणितमा गठबन्धन अगाडि
गत स्थानीय तहको चुनावको नतिजाका आधारमा बाँके ३ मा सत्तागठबन्धनको मत एमाले–राप्रपाको भन्दा झन्डै १७ हजार बढी छ। यो फराकिलो मत अन्तर जोड्न एमालेका उम्मेदवारलाई ठूलै कसरत गर्नुपर्नेछ। एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति खजुरा गाउँपालिकाको अध्यक्ष भइसकेकोले उनलाई मतदाता रिझाउन सक्ने सकारात्मक पक्षसमेत देखिएको विश्लेषण छ। 

बैजनाथ र खजुरा गाउँपालिकामा एमालेको संगठन मजबुत भए पनि नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ तथा जानकी गाउँपालिकामा एमालेको संगठन कमजोर मानिन्छ। मधेसी र मुस्लिम बाहुल्यका यी वडा र पालिकामा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) को पकड छ। यहाँका मतदातालाई रिझाउन सके मात्र एमालेका उम्मेदवारलाई जित निकाल्न सक्ने आकलन छ। 

स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक र उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल विजयी भएकी छिन्। जानकी र बैजनाथ गाउँपालिकामा कांग्रेसले अध्यक्ष–उपाध्यक्ष जितेको छ। जानकी गाउँपालिकाको मत निर्णायक भएकोले यसतर्फ दुवै उम्मेदवारको ध्यानकेन्द्रित भएको छ। 

०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले–माओवादी गठबन्धनबाट एमालेका नन्दलाल रोकाया र प्रदेश सभा क्षेत्र नं. ३ (क) मा गठबन्धनबाट माओवादी केन्द्रका आइपी खरेल र क्षेत्र नं. ३ (ख) मा एमालेका बाबुराम गौतम विजयी भएका थिए।    

यस्ता छन् उम्मेदवारका जित्ने आधार 
राठौर जित्ने आधार संगठन बलियो र केन्द्रसम्म पहुँच

संगठन बलियो रहेको र सत्तागठबन्धन दलको समर्थनमा उम्मेदवार बनेकाले किशोरसिंह राठौरले जित्ने दाबी कांग्रेसले गरेको छ। कांग्रेस बाँके उपसभापति गोपालप्रसाद अधिकारीले बाँके ३ मा कांग्रेसका संगठन बलियो भएकोले सहमहामन्त्रीसमेत रहेका राठौरलाई जित्न कुनै समस्या नभएको दाबी गरे। 

‘एक त त्यहाँ कांग्रेसको संगठन बलियो छ, त्यसैमा सत्तागठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको साथ पाउँदा हामी झनै बलियो छौँ,’ उनले भने, ‘यतिधेरै मत अन्तर हुँदाहुँदै विपक्षीले जित्ने कुरै आउँदैन।’

उनले राठौर केन्द्रीय तहको नेता भएकोले पनि सजिलै जित्ने दाबी गरे। राठौरले जितेपछि सांसद मात्र नभई मन्त्री बन्ने भएकोले यहाँका जनताले मत दिने उनको भनाइ छ। ‘सांसदमा जितेर मात्र भएन। जितिसकेपछि योजना ल्याउन सक्ने खुबी र पहुँच पनि हुनुपर्छ। यो सबै खुबी विपक्षी दलका उम्मेदवारभन्दा हाम्रो उम्मेदवारमा छ,’ उनले भने। 

आफ्ना उम्मेदवारले जित्ने एमालेको दाबी
विकास र स्थानीयको आवश्यकता बुझेका उम्मेदवार भएकोले किस्मतकुमार कक्षपतिले अत्यधिक बहुमतले जित्ने दाबी एमालेको छ । एमाले उपाध्यक्ष डिल्ली बिसीले स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार थोरै मतले पराजित भए पनि प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारले जित निकाल्ने बताए। 

उनले विपक्षी उम्मेदवार बाहिरको भएकोले पनि एमालेलाई जित निकाल्न सहज भएको बताए। ‘बाँके क्षेत्र नं. ३ मा एमाले र राप्रपाको संगठन बलियो छ नै स्थानीय भएकोले गाउँघरको वस्तुस्थिति बुझेका उम्मेदवार हामीले उठाएका छौँ,’ उनले भने, ‘एमालेका उम्मेदवारको एजेन्डा वस्तुपरक छ। पालिकामा गरेको कामको अनुभव छ। यी नै जित्ने हाम्रा आधार हुन्।’ 

उनले विपक्षी दलका उम्मेदवारको बोलीचाली, प्रस्तुत हुने शैलीभन्दा आफ्नो उम्मेदवारको धेरै सभ्य भएको दाबी गरे। ‘मतदाताले अपनत्व खोज्छ। नेताको बानी, व्यहोरा र पहुँचको स्थिति विश्लेषण पनि गरेर भोट हाल्छन् भन्नेमा हामी ढुक्क छौँ,’ उनले भने। 


विकासको मूल फुटाउने कांग्रेस उम्मेदवार राठौरको प्रतिबद्धता
कांग्रेस उम्मेदवार किशोरसिंह राठौरले नेपालगन्जको काखमा रहे पनि क्षेत्र नं. ३ पिछडिएकोले विकासको मूल फुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आफूले मात्र गरिब, सीमान्तकृत, दलित, मुस्लिम, मधेसी समुदायको पीडा बुझ्न सक्ने भएकोले त्यस क्षेत्रका मतदाताले भोट दिने उनले दाबी गरे। 

‘विकास नभएका कारण यहाँका जनता नेपालगन्ज र कोहलपुर गएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने योजनाका साथ म चुनावी मैदानमा होमिएको छु,’ उनले भने। उनले शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा पछाडि परेको क्षेत्रलाई उज्यालो बनाउने प्रतिबद्धता जनाए। 

उनले आफू विकासप्रेमी, निष्ठा, मूल्यमान्यता, आदर्शको राजनीति गर्ने व्यक्ति भएकोले क्षेत्र नं. ३ ले पाउनु भाग्यमानी भएको बताए। ‘४० वर्षे राजनीतिक यात्रामा मैले कहिलै पनि झुठो बोलको छैन। यसैले मलाई जनताले भरोसा गरेका छन्। ममाथि आशा गरेका छन्। मजस्तो नेता नेपालले पाउनु भाग्य हो,’ उनले भने। 

एमाले उम्मेदवार कक्षपतिको प्राथमिकतामा उद्योग, कृषि र सिँचाइ      
एमाले उम्मेदवार किस्मतकुमार कक्षपतिले आफूसँग पालिका चलाएको पाँचवर्षे अनुभव भएको र यहीँकै माटोसँग खेलेकोले त्यस क्षेत्रका जनताले मन पराएको बताए। उनले बाहिरबाट आएका उम्मेदवारभन्दा आफूले वस्तुस्थिति बुझेर चुनावी एजेन्डा बनाएको बताए। 

‘मैले खजुरा गाउँपालिकामा थालेको योजनालाई पूरा गर्ने योजनाका साथ म चुनावी मैदानमा उत्रिएको छु,’ उनले भने, ‘यो क्षेत्रलाई ग्रिन क्षेत्रको रूपमा विकास गर्ने योजना छ।’ उनले खजुरा, रिमझिम, बनकटवालाई सहरको रूपमा विकास गर्ने योजना बनाएको बताए। 

उद्योगको सम्भावनालाई प्राथमिकतामा राखेर औद्योगिक ग्रामको अवधारणा अघि सारेको र खजुरा तथा बनकटवालाई नगरपालिकाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। ‘कृषकलाई सिँचाइमा बिजुलीमा छुट दिने र सिक्टा नहरको पानी पाँच वर्षभित्र क्षेत्र नं. ३ का सबै ठाउँमा पुर्याउने मेरो लक्ष्य छ,’ कक्षपतिले भने। 

ad
ad