नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन्।
उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
गोरखा– २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका प्रचण्ड दुई दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन्।
उनले संविधानको रक्षाका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको दोहोर्याए। उनले एमाले अध्यक्ष केपी ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए।
ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो। कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको उनको जिकिर थियो।