१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
दार्चुलाको गोकुलेश्वरमा बुधबार लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभामा देउवा र प्रचण्ड ।
२o८१ बैशाख १९ बुधबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘चुच्चे नक्सा ओली एक्लैले होइन, सबैले ल्याएको हो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१४:oo

दार्चुलाबाटै देउवा र प्रचण्डले दिए ओलीलाई जवाफ

दार्चुला सदरमुकाम खलंगाबाट राष्ट्रव्यापी चुनावी अभियानको उद्घाटन गर्दै १८ कात्तिकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘भारतले अतिक्रमण गरेको भूगोल समेटेर मैले नै चुच्चे नक्सा जारी गरेको हो । अब जमिन फिर्ता ल्याउन एमालेकै सरकार चाहिएको छ ।’ 

त्यसो त भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा रहेकै जिल्लाबाट चुनावी अभियान थाल्नुबाटै उनले चुच्चे नक्सालाई आफ्नो उपलब्धिका रूपमा जोडतोडले उठाउने स्पष्ट भएको थियो । 

त्यसको पाँचौँ दिन दार्चुला नै पुगेर सत्तागठबन्धनका दुई शीर्ष नेता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले ओलीका अभिव्यक्तिको जवाफ फर्काए । 

दार्चुलाबाट ओलीको भनाइ थियो, ‘राष्ट्रियताको पक्षमा एमालेले नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन । मिचिएको जमिन पनि फिर्ता ल्याउँछौँ ।’ यसलाई पुष्टि गर्न उनले चुच्चे नक्सा आफूले जारी गरेको तथा कांग्रेस र माओवादी भारतसँग लम्पसार पर्ने गरेको जिकिर गरेका थिए । 

तर, दार्चुलाको गोकुलेश्वरमा बुधबार लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभा गर्दै देउवा र प्रचण्डले ओलीका दाबीको खण्डन गरे । ‘चुच्चे नक्सा ओली एक्लैले जारी गरेको होइन, सबैले मिलेर जारी गरिएको हो । प्रतिनिधिसभामा एक मतले पारित भएको हो । यो विषय राष्ट्रिय सहमति बनेर ल्याइएको हो । मैले एक्लै ल्याएँ भन्नु केपी ओलीजीको चुनावी फन्डा हो । ओलीले झुट बोले,’ देउवाले भने । उनले ओलीले जस्तो भाषणबाजी गरेर भूमि फिर्ता नहुने भन्दै भारतसँग संवाद गर्नुपर्ने बताए । ‘ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भ्रम फैलाइरहेका छन् । दार्चुलामा आएर भूमि फिर्ता ल्याउँछौँ भनेर मात्रै हुँदैन । यसका लागि भारतमा गएर संवाद गर्नुपर्छ,’ प्रधानमन्त्रीसमेत रहेका देउवाको भनाइ थियो । 

देउवाभन्दा अघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले पनि चुच्चे नक्सा ओलीको नभई सबैको योगदानबाट आएको दाबी गरेका थिए । तत्कालीन नेकपाको आफू अध्यक्ष रहेका वेला पार्टीले नै ओलीलाई नीति तथा कार्यक्रममा थप्न लगाएको दाबी प्रचण्डले गर्दै आएका छन् । २४ मिनेट सभालाई सम्बोधन गरेका प्रचण्डले चुनावका वेला मात्र ओली राष्ट्रवादीजस्तो देखिने र चुनावपछि भारतसँग लम्पसार पर्ने गरेको आरोपसमेत लगाए । 

‘चुच्चे नक्सा जारी गर्ने वेला म नेकपाको अध्यक्ष थिएँ । यो विषय सबैको सहकार्य र सहमतिमा आएको हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘नक्सा जारी गरेको दाबी गर्ने ओलीले किन भारतसँग थप वार्ता गर्न सकेनन् ?’

बुधबारै बैतडीको पाटनमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले पश्चिम सेती र पञ्चेश्वर बहुद्देश्यीय आयोजना निष्कर्षमा पुर्‍याइने बताए । ‘पश्चिम सेतीले सुदूरपश्चिमको सम्पूर्ण कायापलट गर्छ, त्यसको आम्दानी सुदूपश्चिमले पाउँछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यस्तै पञ्चेश्वर आयोजना छ । भारतीय प्रधानमन्त्री त्यसको पक्षमा हुनुहुन्छ, यसले त सुदूरपश्चिम मात्रै होइन देशकै कायापलट हुन्छ ।’ देउवाले मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा महाकालीमाथि पक्की पुल बनाउने तयारी भइरहेको बताए । 

दार्चुला र बैतडीमा भएका दुवै सभामा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन १२ बुँदे समझदारीमा हस्ताक्षर गरेदेखि नै भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले वर्तमान गठबन्धन राष्ट्रियताको रक्षा, देशको विकास र समृद्धिका लागि भएको दाबी गर्दै ‘यो गठबन्धन कम्तीमा आगामी पाँच वर्ष चल्ने र गठबन्धनले जिते मुलुकले स्थायित्व पाउने दाबी गरे ।’
 

ad
ad