
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका झपटबहादुर रावल र गठबन्धनबाट नेकपा माओवादीका भगत बडुवालबीच प्रमुख प्रतिस्पर्धा हुँदै छ । रावल निवर्तमान सांसद र बडुवाल पहिलो संविधानसभा सदस्य हुन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।
यहाँ गठबन्धनको २४ हजार ६ सय ६८ र एमालेको १७ हजार सात सय ७० मत छ । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पार्टीगत रूपमा एमालेले सबैभन्दा बढी मत पाएको थियो ।
आफूलाई प्रमुख प्रतिस्पर्धीको दाबेदारका रूपमा प्रस्तुत गरिरहेको नागरिक उन्मुक्ति पार्टीको पाँच हजार मत छ । नयाँ नै भए पनि यहाँ नागरिक उन्मुक्तिको पनि केही प्रभाव देखिन्छ । नागरिक उन्मुक्तिका अरुण चौधरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्रता दिइरहँदा मतपरिणाम कसको पक्षमा जाला भन्ने आकलनहरू हुन थालेका छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित बडुवाल गठबन्धनको सहारामा डेढ दशकपछि पुनः संसद् छिर्ने दाउमा छन् ।
स्थानीय तहमा पाएको मतका आधारमा गठबन्धन बलियो देखिन्छ । तर, आफ्नो जितका लागि उनलाई जातीय र भेगीय रूपमा प्रभावित हुने मत तथा गठबन्धनमा खासगरी कांग्रेसबाट हुन सक्ने क्रस मत रोक्न चुनौती छ।
कांग्रेस र माओवादी गठबन्धन गरेर लडेको क्षेत्र नम्बर २ अन्तर्गत लम्की–चुहा नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा पनि माओवादीले कांग्रेसको मत पाउन सकेको थिएन । मेयरमा कांग्रेसले जित्दा उपमेयरमा माओवादीका उम्मेदवार पराजित भएका थिए ।
बडुवाल पनि गठबन्धनबाट हुने केही क्रस मत रोक्न चुनौती रहेको स्वीकार गर्छन् । यद्यपि, अहिले गठबन्धन निकै कसिलो बनेकोले थोरै मत क्रम हुँदा परिणाममा फरक नपर्ने उनको दाबी छ ।
गठबन्धन र एमालेको आ–आफ्नै दाबी
प्रतिस्पर्धी दलभन्दा गठबन्धन निकै अगाडि रहेको बडुवालको दाबी छ । ‘संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो भनेर जनताले बुझिसके । संविधान जोगाउन गठबन्धन आवश्यक छ भन्ने कार्यकर्ताले पनि महसुस गरेका छन्,’ उनले भने, ‘त्यसैले गठबन्धन प्रतिस्पर्धामा धेरै अगाडि छ ।’
गठबन्धन र यसले अघि सारेका एजेन्डा, स्थानीय विकासका लागि आफूले अघि सारेका योजना र विगतदेखि यो क्षेत्रमा सामाजिक रूपमा आफूले गरेको काम आफ्नो चुनाव जित्ने आधार भएको उनको भनाइ छ । गठबन्धनबाट प्रदेश सभा १ मा कांग्रेसका कमल शाह र २ मा माओवादीका नन्दबहादुर साउद उम्मेदवार छन् ।
संसदमा दोहोरिने कोसिस गरिरहेका रावल आफ्नो जितका लागि गठबन्धनले खासै फरक नपर्ने दाबी गर्छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाएको मत बढी देखिए पनि अहिले परिस्थिति फेरिएको उनको दाबी छ । ‘स्थानीय तहको निर्वाचनयता ठूलो बदलाव आएको छ । नेताहरू यताउता गएका छन् । अरू पार्टीबाट हाम्रो पार्टीमा बढी आएका छन्,’ रावलले भने, ‘पाँच वर्षमा यहाँको विकासका लागि मैले गरेको काम र पहलका कारण पनि मलाई गठबन्धनले रोक्न सक्दैन ।’
एमालेको सुदृढ संगठन र अघि सारेको राष्ट्रियताको मुद्दाका कारण मतदाताले एमालेलाई विजयी गराउने उनको विश्वास छ । ०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मोहनसिंह राठौरलाई हराउँदै रावल प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यतिवेला वामगठबन्धनका उम्मेदवार रावलले २५ हजार एक सय ५७ र राठौरले २३ हजार तीन सय १३ मत पाएका थिए ।
‘त्यसवेला चुनावमा गरेका अधिकांश वाचा मैले पूरा गरेको छु । केही योजना अघि बढेका छन्,’ रावलले भने, ‘ती काम पूरा गर्नका लागि पनि जनताले मलाई दोहोर्याउनेछन् ।’ एमालेमा १० बुँदे पक्षधर रावल भीम रावलनिकट हुन् । यो क्षेत्रमा रावल पक्ष र संस्थापन पक्षबीच टकराव हुँदै आएको छ । एमालेले प्रदेश सभा १ मा कमलाकुमारी ओली र २ मा डेजी पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि यहाँ चुनावी प्रचारलाई आक्रामक पारेको छ । उक्त पार्टीका उम्मेदवार चौधरी गत स्थानीय तह निर्वाचनको मुखमा कांग्रेस छोडेर नागरिक प्रवेश गरेका थिए । उनले यो क्षेत्रको विकासका लागि आफू उम्मेदवारका रूपमा अघि सरेको बताएका छन् । उनले जातीय मतहरू प्रभावित गर्न सक्ने आकलन गरिएको छ ।
नागरिकबाट प्रदेश सभा (क) मा रतन थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार छन् । थापा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष हुन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा एमालेले उनलाई पदमुक्त गरेको थियो । थापाले पछि पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति प्रवेश गरेका थिए ।