मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक १९ शनिबार १६:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा आचारसंहिता उल्लंघन रोक्न अनुगमन सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १६:२२:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ। 

शनिबार जिल्लाको सुरक्षा निकाय र सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोमा धमला घिमिरेले चुनावी तयारी अन्तिम चरणमा पुगेको बताएकी हुन्। 

उनका अनुसार जिल्लामा आचारसंहिता अनुगमन समिति पनि गठन गरिएको छ। समितिले कुनै उम्मेदवार तथा राजनीतिक दल र संघ संस्थाले आचारसंहिता उल्लंघन गरेको पाएमा आयोगलाई जानकारी गराउनेछ। 

मतदाता शिक्षाको लागि पनि दुई दिनदेखि जिल्लामा घरदैलो कार्यक्रम सुरु भएको छ। ‘निर्वाचनलक्षित तयारी लगभग पूरा भएको छ,’ उनले भनिन्,‘अन्तिम समयमा गर्नुपर्ने कतिपय तयारी र काम भने बाँकी नै छन्।’ 

अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले चुनावी शान्तिसुरक्षा र रणनीतिबारे तयारी पूरा भएको बताए। 

उनले जिल्लाका संवेदनशील तीनवटा मतदानस्थलमा सुरक्षा बढाइएको जानकारी दिए। ‘निर्वाचन नजिकिएसँगै हामीले यसको तयारी पनि लगभग पूरा गरेका छौँ, ललितपुर छरिएको भूगोल भएकोले पनि शान्तिसुरक्षा र चुनावी रणनीति त्यहीअनुसार बनाएका छौँ,’ उनले भने। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेलले चुनावलाई लक्षित गर्दै जिल्लामा प्रहरी परिचालन भइसकेको जानकारी दिए। उनका अनुसार परिसरको कमान्डमा करिब १२ सय प्रहरी छन्। 

त्यसमध्ये ६ सय प्रहरी जिल्लाबाहिर खटिनेछन्। अन्य ६ सय प्रहरी र म्यादी प्रहरीलाई जिल्लाको चुनावी सुरक्षामा खटाइने छ। 

‘ललितपुरको भूगोल एउटै छैन, कतै अति विकट पनि छ र कति भूभाग व्यवस्थित छ,’ उनले भने, ‘हामीले त्यहीअनुसारको चुनावी तयारी गरेका छौँ।’ उनका अनुसार जिल्लाका सबैजसो मतदानस्थलहरूलाई सुरक्षित बनाइसकिएको छ। ललितपुर अतिसंवेदनशील मतदानस्थल भने छैन। 

कार्यक्रममा निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिकाका विषयमा पनि छलफल भएको थियो। निर्वाचनबारे समाचार सम्प्रेषण गर्दा सबै पक्षलाई समेट्नुपर्ने र निर्वाचन तथा पत्रकार आचारसंहितालाई ख्याल गर्न पत्रकार महासंघ, ललितपुरका अध्यक्ष सागर न्यौपानेले अनुरोध गरे।

मतदाता संख्या दुई लाख ५० हजार ४१० रहेको ललितपुरमा १३१ वटा मतदानस्थल रहेका छन्। त्यस्तै, २९० वटा मतदान केन्द्र छन्। यीमध्ये चारवटा मतदान केन्द्रको स्थलगत अध्ययन गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। ललितपुरमा दुईवटा अस्थायी मतदान केन्द्र पनि राखिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ।