मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका दार्चुला
२o७९ कार्तिक १९ शनिबार o६:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला पुगेर ओलीको चुनावी घोषणा– मिचिएको जमिन फिर्ता ल्याउँछौँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार o६:३२:oo

कञ्चनपुरको चुनावी सभामा भीम रावलको आलोचना : ०४८ देखि मुख खाली छैन, अरूलाई पालो दिनुपर्दैन ?

एमाले अध्यक्ष केपी ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको राष्ट्रव्यापी चुनावी अभियानको शुक्रबार दार्चुलामा उद्घाटन गर्दै चुच्चे नक्सामा समेटिएको भूमि फिर्ता ल्याउने बताएका हुन् ।

‘हामीले नक्सा मात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि फिर्ता ल्याउँछौँ,’ उनले भने, ‘राष्ट्रियताको पक्षमा नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछौँ । अर्को पछाडि परेको क्षेत्रलाई विकासको मूलधारामा ल्याउँछौँ, यो दुईवटा ग्यारेन्टी हो ।’ महाकालीले बगाएको सदरमुकाम खुलामञ्चमा उभिएर उनले भने राष्ट्रियताको रक्षा, भौगोलिक रक्षा गर्ने कुरामा एमाले ग्यारेन्टी गर्छ । अहिले पनि महाकाली नदीको धार फर्काएर जमिन मिच्ने प्रयास भइरहेको उल्लेख गर्दै सदरमुकाम जोगाउन तटबन्ध निर्माणको ग्यारेन्टी एमालेले गर्ने बताए । 

भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उनले भने, हाम्रो भूगोल जे–जति गरे पनि फिर्ता ल्याउने कुरामा एमाले दृढ छ । सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भूमि फिर्ता ल्याउने अभिभारा एमालेकै काँधमा छ । प्रेमसिंह धामीको सालिकमा माल्यार्पण गरेर आएका ओलीले धामीले सुरु गरेको कामको स्मरण गरे । दार्चुलाबाट मन्त्री भएका कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अहिलेसम्म काठमाडौंमा कालापानीको ‘क’ उच्चारण नगरेको ओलीले आरोप लगाए । 

त्यस्तै, शुक्रबारै कञ्चनपुरको सभामा ओलीले अछामबाट एकल सिफारिस भएर पनि टिकट नदिएका भीम रावलविरुद्ध कटाक्ष गरे । रावलको ०४८ देखि मुख खाली नभएको भन्दै अरूलाई पालो दिएको उनले बताए । 

ओलीलाई भीम रावलको काउन्टर : म ६७ मै बुढो हुने, ७० कटिसकेका ओली कसरी तन्नेरी ?
एमाले नेता भीम रावलले आफूलाई ६७ वर्षमै बुढो भयो भन्ने ७० कटिसकेका केपी ओली कसरी तन्नेरी भए भन्ने प्रश्न गरेका छन् । शुक्रबार कञ्चनपुरको चुनावी सभामा ओलीले रावलको आलोचना गरेका थिए । त्यसमाथि प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन् । 

कञ्चनपुरमा शुक्रबारको चुनावी सभामा ओलीले ०४८ देखि रावलको मुख खाली नरहेको भन्दै अब उनको चिन्ता गर्न छाड्नुपर्ने बताएका थिए । ‘रावलको चिन्ता कति गर्नुहुन्छ, ०४८ देखि उनको मुख खाली छैन । अरूलाई पालो दिनुपर्दैन ? एउटा भीम रावल के–के खेती गरिराख्या छ, यहाँ अरू थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ ओलीले भनेका थिए । 

सामाजिक सञ्जालमार्फत यसको जवाफ दिँदै रावलले ओलीका भनाइले उनीमाथि नै अनेकौँ प्रश्न उठेको बताएका छन् । ‘उत्तेजित भाषणले उहाँभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको छ,’ रावलले भनेका छन् । 

उनले ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओली फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी भए भन्दै प्रश्न गरेका छन् । ‘म ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?’ उनले भनेका छन्, ‘अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर, अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त ?’

रावलले आफू ०५१ देखि मात्रै सांसद भएको, तर ओली ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै आफूमाथि नियोजित रूपमा विभेद गरिएको जिकिर गरेका छन् । ‘मलाई ०४८ मा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर, सांसद ०५१ देखि मात्र भएँ । ओलीजी ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’को लागि मुख किन बाउनुभएको छ ?’