१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका इस्लामावाद
२o८१ बैशाख २५ मंगलबार १o:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

राष्ट्रपति आरिफ अल्वीले घटनालाई ‘घृणित हत्याको प्रयास’ भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विदेशमन्त्री बिलवाल भुट्टोले पनि आक्रमणको निन्दा गरेका छन् ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:४५:oo

 पाकिस्तानका निवर्तमान प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई)का प्रमुख इमरान खानमाथि गोली प्रहार भएको छ । उत्तरपूर्वी पन्जाबको गुजरानवालामा बुधबार आयोजित र्‍यालीमा उनीमाथि गोली प्रहार भएको हो । ७० वर्षीय खानको दायाँ खुट्टामा गोली लागेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । 

खानमाथि सहबाज सरिफ नेतृत्वको सरकारविरुद्ध ‘लङ्ग मार्च’मा कन्टेनरमाथि उभिइरहेका वेला गोली प्रहार भएको हो । गोली लागेपछि उनको दायाँ खुट्टामा पट्टी बाँधेर तत्कालै लाहोरस्थित अस्पताल पुर्‍याइएको थियो । गोली लागेपछि पनि उनले समर्थकहरूलाई अभिवादन गरेका थिए । गोली लागेर पिटिआईका नेता तथा सिनेटर फैसल जाभेद खान र अर्का नेता अहमद चट्टाका साथै अन्य केही घाइते भएका छन् । गोली लागेर पिटिआईका एक कार्यकर्ताको मृत्यु भएको बताइए पनि पुष्टि भने हुन बाँकी छ । 

कन्टेनरमा उभिएका खानलाई बन्दुकधारीले पेस्तोलबाट थुप्रैपटक गोली दागेका थिए । घटनास्थलमा एके–४७ राइफल बोकेका आक्रमणकारी पनि रहेको जनाइएको छ । आक्रमणकारीले खानले जनतालाई भ्रममा पारेकाले आफूले उनलाई मार्न चाहेको बताएको समाचारमा उल्लेख छ । इमरान खानका समर्थकले पछि एक बन्दुकधारीलाई नियन्त्रणमा लिएका थिए । यो घटनाले पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोलाई सन् २००७ मा एक र्‍यालीमा गोली हानेर मारिएको घटनाको स्मरण गराएको छ । यद्यपि, खान गम्भीर घाइते हुनबाट भने जोगिएका छन् । खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफले उनको हत्या प्रयास भएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री सेहबाज सरिफले पनि एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेका छन् । घटनाबारे तत्काल छानबिन गर्न पनि उनले अधिकारीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति आरिफ अल्वीले घटनालाई ‘घृणित हत्याको प्रयास’ भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विदेशमन्त्री बिलवाल भुट्टोले पनि आक्रमणको निन्दा गरेका छन् । 

भारतले पाकिस्तानको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । ‘पाकिस्तानमा भएको घटनालाई हामी नजिकबाट नियालिरहेका छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन् । अप्रिलमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खानले त्यसपछि बनेको सहबाज सरिफ नेतृत्वको सरकारविरुद्ध शृंखलाबद्ध प्रदर्शन गर्दै आएका छन् । अमेरिका र पाकिस्तानी सेनासँग मिलेर आफूलाई सत्ताच्यूत गरेको भन्दै खान निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।

सरकारको राजीनामा माग गर्दै उनको पार्टीका विरोध प्रदर्शनमाथि सरकारले दमन गर्दै आएको छ । खानले २८ अक्टोबरदेखि लाहोरबाट लङ्ग मार्च सुरु गरेका थिए । यो अभियान ११ नोभेम्बरमा इस्लामावाद पुग्ने अपेक्षा गरिएको थियो । खानमाथि गोली प्रहार भए पनि पार्टीले लङ्ग मार्च जारी राख्ने जनाएको छ । 
 

ad
ad