मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Monday, 16 December, 2024
कमल खत्री म्याग्दी
२o७९ कार्तिक १७ बिहीबार १७:४६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्याग्दीमा जितको ह्याट्रिक खोज्दै एमाले, गढ भत्काउन सत्तागठबन्धनको कसरत

Read Time : > 3 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १७:४६:oo

एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यसपटक माओवादीको साथ कांग्रेसलाई छ। त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४ मंसिरको सरगर्मी बढिसकेको छ। यहाँ मुख्य रूपमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र सत्तागठबन्धनका उम्मेदवार रहेका कांग्रेसका खमबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 
प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेश सभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। विगतको स्थानीय तहको चुनावको मतपरिणाम विश्लेषण गर्दा सत्तागठबन्धनमा आबद्ध दलको मत बढी देखिएको छ। तर, यहाँ एमाले पनि निकै बलियो शक्तिका रूपमा रहेको छ। 

जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा र प्रदेश सभातर्फ निर्वाचन क्षेत्र (क) मा हरिबहादुर भण्डारी र (ख)मा रेसम जुग्जाली उम्मेदवार बनेका छन्। एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेश सभा (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख)मा यामबहादुर गर्बुजा मैदानमा छन्। 

संसदीय निर्वाचनको इतिहास पल्टाउँदा म्याग्दीमा कांग्रेस, एमाले र माओवादीले सफलता पाएको रेकर्ड छ। ०५६ मा कांग्रेस, ०६४ मा माओवादी तथा ०७० र ०७४ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए। ०७४ मा एमाले र माओवादीले गठबन्धन गरेका थिए। प्रतिनिधिसभा र प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभा (क) मा माओवादीका उम्मेदवार विजयी भएका थिए। यसपटक कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन छ भने एमाले एक्लै चुनावी मैदानमा छ। एमाले लगातार तेस्रो जितको खोजीमा छ भने सत्तागठबन्धन उसलाई रोक्दै एमालेको गढ भत्काउन चाहन्छ। 

स्थानीय तहको मत विश्लेषण
म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित १७ वटा वडा र माओवादीले दुई पालिका उपप्रमुखसहित ६ वटा वडा जितेको थियो। 
जिल्लामा रहेका ४५ वटै वडाहरूमा दलहरूका उम्मेदवारहरूले पाएको मतको आधारमा गठबन्धनका दल एमालेभन्दा बलियो देखिन्छन्। एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९० मत ल्याएका थिए। त्यहीँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय ७० र माओवादीका वडाध्यक्षका उम्मेदवारले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए।

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवार निर्विरोध भएका थिए। सो मतबाहेककै पनि म्याग्दीमा एमालेभन्दा गठबन्धनसँग पाँच हजार तीन सय ७२ मत बढी रहेको देखिन्छ। 

निर्वाचन आयोगका अनुसार म्याग्दीमा अहिले ८६ हजार एक सय २० मतदाता छन्। स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता थप र अद्यावधिकमार्फत सात सय ४५ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये पुरुष ४२ हजार ५५ र महिला ४४ हजार ६४ छन्। गत वैशाखको स्थानीय निर्वाचनमा जिल्लामा ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार चार सय ५६ मत खसेको थियो। 

उम्मेदवारका आआफ्नै दाबी
प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) कांग्रेसका जिल्ला सभापतिसमेत हुन्। गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन्। यसअघि लगातार दुईपटक पराजय व्यहोरेका गर्बुजा यसपटक माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ लिएर पहिलो जितको खोजीमा छन्। 

एमाले उम्मेदवार श्रेष्ठ एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हुन्। तत्कालीन अर्थुंगे गाविसको अध्यक्ष भइसकेका श्रेष्ठसँग जनप्रतिनिधिको अनुभव छ। यस्तै, स्थानीय तह निर्वाचनमा जिल्लाका ६ मध्ये ४ स्थानीय तहको प्रमुख जितेर पहिलो ठूलो दल बनेको हौसला पनि छ। एमालेको सांगठनिक बल त छँदै छ। 

प्रदेश सभातर्फ  (क) मा गठबन्धनबाट माओवादीका  हरि भण्डारी उम्मेदवार छन्। ३७ वर्षका भण्डारी युवाको जोससहित मैदानमा उत्रिएका छन्। उनीसँग ५७ वर्षका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल मुख्य प्रतिस्पर्धी देखिन्छन्। यस्तै, (ख)मा गठबन्धनबाट माओवादीका रेशम जुग्जाली र एमालेका यामबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धी हुन्। माओवादी म्याग्दीका जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिका ७ का निवर्तमान वडाध्यक्ष हुन्। 

विकास र समृद्धि सबैका एजेन्डा
म्याग्दीका उम्मेदवारहरूले विकास र समृद्धिको एजेन्डा अघि सारेका छन्। हिमाली जिल्ला म्याग्दी केन्द्रसँगको राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आमनागरिकको गुनासो छ। जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर थप विकासका योजनाका लागि बजेट भित्र्याउन नसकेको गुनासो आउने गरेको छ। 

प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनका उम्मेदवार गर्बुजा एमालेले पटक–पटक म्याग्दीको नेतृत्व गर्दा जिल्लाको विकासमा काम गर्न नसकेकाले आफू समग्र विकासमा सुधार ल्याउने अठोटसहित अघि बढेको बताउँछन्। 

‘म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहना पूरा गर्ने एजेन्डा लिएर आएका छौँ,’ गर्बुजाले नयाँ पत्रिकासँग भने। जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले सडकलगायतका भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको सुधारका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ। 

एमाले उम्मेदवार श्रेष्ठले पनि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा कृषिको व्यावसायीकरणको एजेन्डा अघि सारेका छन्। सदरमुकामदेखि सबै पालिका जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लामा सुस्त गतिमा रहेका राष्ट्रिय गौरवका योजनाहरूलाई तीव्रताका साथ पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। 

प्रदेश सभा सदस्यका मुख्य प्रतिस्पर्धीहरूले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन्। प्रदेश सभा (क) मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका हरि भण्डारी र (ख) का रेशम जुग्जाली (सुबिन) समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसँग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाउँछन्। 

एमालेबाट प्रदेश सभा (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले नीति निर्माण तहमा सशक्त र प्रभावकारी भूमिकासँगै जिल्लाको विकासका एजेन्डाहरू अघि सारेका छन्। सडक, भवनलगायतका पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार तथा खानेपानीको पहुँच विस्तार गर्न आफूहरूको ध्यानकेन्द्रित हुने उनीहरूको भनाइ छ।