मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ६ आइतबार १३:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको जिम्मेवारीलाई त्रुटिरहित बनाउन आइजिपी सिंहको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ६ आइतबार १३:१०:००

प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आइजिपी सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन्।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको उनले बताए। आइजिपी सिंहले प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिए । गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन पनि उनले निर्देशन दिएका छन्।

उनले भने, ‘कानुनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु । गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध थप निर्मम हुन पनि निर्देशन गर्न चाहन्छु । कर्तव्य निर्वाहको क्रममा असल नियतले गरेका हरकानुनसम्मत निर्णयमा संगठन तपाईंका पक्षमा उभिनेछ । यसका लागि म प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको भन्दै उनले थपे, ‘तपाईंहरूले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा खटिने मौका प्राप्त गरिसक्नुभएको छ। आगामी निर्वाचनमा पनि आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष, त्रुटिरहित तवरले सम्पन्न गर्न यसै अवसरमा निर्देशन गर्न चाहन्छु ।’

‘चेन अफ कमान्ड’ नेपाल प्रहरीले अवलम्बन गर्दै आएको व्यावसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान पनि आइजिपी सिंहले आग्रह गरे । त्यसबाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने उनले स्पष्ट पारे। ‘नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग हो । यो तालिमले तपाईंलाई नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफूमातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको मैले विश्वास गरेको छु,’ उनले भने, ‘व्यावसायिकता, उत्कृष्टता, निष्ठा र इमानदारीको उच्चतमस्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न म निर्देशन गर्न चाहन्छु ।’

प्रविधिजन्य समस्याहरू समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन पनि उनले आग्रह गरे । साइबर क्राइम, क्रिप्टो करेन्सीलगायत आर्थिक अपराधहरू बढेको भन्दै त्यसप्रति सचेत रहन पनि उनको निर्देशन थियो । अपराधमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व वहन गर्न उनले आग्रह गरे ।

सिंहले प्रहरीले नागरिकको जायज र कानुनसम्मत अपेक्षा पूरा गर्ने गरी काम गर्नुपर्ने बताए । प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उनले आग्रह गरे ।