Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार १७:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा चुनावी अभियान तीव्र, उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार १७:४०:००

निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा चुनावी चलहपहल बढेको छ। मुख्य राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियानलाई तीव्र पारेका छन्। 

कांग्रेस, एमाले, माओवादी, जसपा, राप्रपाका उम्मेदवार घरदैलो अभियानलाई तीव्र पारेर मतदाता रिझाउन व्यस्त देखिन थालेका छन्। एमालेले तीन वटै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय स्थापनागरी चुनावी अभियान थालेको उपाध्यक्ष डिल्ली विसीले बताए। उनले पहिलो चरणमा उम्मेदवारसँगै नेता, कार्यकर्ताहरुले घरदैलो अभियानमा जुटेको बताए। 

मतदातालाई एमालेको आगामी नीति तथा उम्मेदवारको बारे बुझाउन घरदैलो अभियान थालेको उनको भनाई छ। ‘उम्मेदवारसँगै एमालेका नेता, कार्यकर्ता, शुभचिन्तकहरु सम्पूर्ण मतदाताको घरमा पुगेर एमालेको नीति तथा उम्मेदवारको परिचय गराउने काम भइसकेको छ,’ उनले भने। 

उनले गठबन्धन दलसँग सहकार्य गरी मतदातामाझ गएको बताए। एमालेले बाँकेमा राप्रपासँग गठबन्धन गरेको छ। ‘अधिकांश ठाउँमा सँगसँगै जाने गरिएको छ। आवश्यकता अनुसार कतै–कतै एक्लाएक्लैले अभियान संचालन हुन्छ,’ उपाध्यक्ष विसीले भने। 

नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान संचालन गरेको सभापति नारायणप्रसाद गौडेलले बताए। उनले आमसभा र भाषणभन्दा घरदैलो अभियानमा जोड दिएको उनको भनाई छ। उम्मदेवारलाई साथमा लिएर मतदाताको घर आँगनमा पुगेर भोट मागेको उनले बताए। 

‘चाडपर्वका कारण भाषणभिषणका कार्यक्रम गर्न सकिएको छैन। पहिलो चरणमा मतदाता भेटघाट र परिचयात्मक कार्यक्रमलाई महत्व दिएका छौँ,’ उनले भने। 
नेकपा (माओवादी केन्द्र)ले पनि जिल्लाका अधिकांश ठाउँमा चुनावी अभियान गरिरहेको जनाएको छ। अध्यक्ष डम्बरबहादुर विकले गठबन्धनसँगको सहकार्य र समन्वयमा जिल्लाभर चुनावी अभियान थालेको बताए। उनले आफ्नो दलका उम्मेदवार भएको क्षेत्रमा विशेष अभियान थाले पनि सत्ता गठबन्धन भित्रका अन्य दलका उम्मेदवार भएका क्षेत्रमा समेत प्रचारप्रसार गरिरहेको बताए। 

‘निर्वाचनको माहोल तात्तिसकेको अवस्था छैन तै पनि हाम्रो दलले मतदाताको घरदैलोमा पुगेर मत माग्ने काम जारी छ। हामीले हाम्रो उम्मेदवारलाई जस्तै गठबन्धन दलका उम्मेदवारका लागि भोट मागिरहेका छौँ,’ उनले भने।

राप्रपाले विशेषगरी नेपालगन्जमा चुनावी अभियानलाई तीव्र पारेको छ। महामन्त्रीसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणा यो क्षेत्रको उम्मेदवार भएकोले पनि राप्रपाले सम्पूर्ण शक्ति नेपालगन्जमा लगाएको केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताए। उनले गठबन्धन दल एमालेलाई साथमा लगाएर चुनावी अभियान थालेको बताए। त्रिभुवन चोकमा सम्पर्क कार्यालय स्थापना गरेको एमाले–राप्रपा गठबन्धनले डुडुवा गाउँपालिका र नेपालगन्जका अधिकांश टोलमा पुगिसकेको उनको भनाई छ। ‘एक चरणको अभियान सकिनै लागेको छ,’ उनले भने । 

जसपा बाँकेले पनि आफ्नो सम्पूर्ण शक्ति क्षेत्र नं. २ मा लगाएको जनाएको छ। जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले घर–घरमा गएर मत माग्ने र आफ्नो प्रतिवद्धता पत्र बाँड्ने क्रम जारी रहेको बताए। उनले मतदाता भेटघाट कार्य सकिनै लागेको बताए। 

‘मेरो टीम दिनरात नभनि चुनावी अभियानमा खटिएको छ। अहिलेसम्म अधिकांश मतदाताको घरमा पुगिसकेका छौँ,’ उनले भने, ‘मतदाताबाट पाएको वचन र प्रतिवद्धताबाट थप हौसला मिलेको छ।’

त्यसैगरी स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी, बागेश्वर चौलागाई लगायतले चुनावी अभियानलाई तीव्र पारेको जनाएका छन्। अग्रहरी र खनालले घरदैलो अभियान संचालन गरिरहेका बेला चौलागाईले अटो रिक्सामा ब्यानर टाँगेर बजारमा पठाएका छन्। झण्डै एक दर्जन अटो रिक्सा उनको प्रचारप्रसारमा जुटेको उनले बताए।