बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगी-व्यवसायीले शुक्रबार भैरहवामा प्रदर्शन गरेका छन्।
रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्। साथै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत अर्थ मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएकाे बताए।
जिल्लाका क्रियाशील व्यवसायिक संस्थाहरूको संजालले भैरहवाको बुद्ध चोकबाट विरोध र्यालीसहित नारायण स्थान, प्रहरी टोल, मिलन चोक, बैंकरोड हुँदै देवकोटा चोकमा पुगेर राष्ट्र बैंक तथा जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो।
उनीहरूले तत्काल ब्याजदर घटाएर एक अंकमा झार्नु पर्ने माग गरेका छन्। विगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अत्यधिक चर्को ब्याजदर कायम गर्दा उद्योग–व्यवसायी मारमा परेको संजालका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए।
बैंक तथा वित्तीय संस्थाहरुले पुँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने र अर्कातर्फ ब्याजदर चर्को गरउँदा उद्योग–व्यवसाय धरासायी बन्दै गएको पौडेलको भनाई थियो।
कोभिड प्रभावबाट उद्योग व्यवसायलाई बचाउनका निम्ति सरल कर्जा प्रवाह र सहुलियत ब्याजदर कायम गरिनु पर्ने भनेर व्यवसायीले बारम्बार माग गरिरहँदा पनि बेवास्ता गरिएको ज्ञापनपत्रमा उल्लेख छ।