मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी ग्रिलोङ
२०७९ असोज ३१ सोमबार ०८:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वच्याम्पियन श्रीलंका नामिबियासँग स्तब्ध

टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’मा पूर्वच्याम्पियन श्रीलंका नामिबियासँग ५५ रनले पराजित

Read Time : > 1 मिनेट
एजेन्सी, ग्रिलोङ
२०७९ असोज ३१ सोमबार ०८:१४:००

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अस्ट्रेलियामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनै स्तब्ध नतिजा आएको छ । पूर्वविश्वच्याम्पियन श्रीलंका एसोसिएट राष्ट्र नामिबियासँग ५५ रनले स्तब्ध भएको छ । नामिबियाले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६३ रनको बलियो योगफल खडा गर्‍यो । प्रत्युत्तरमा श्रीलंका १९ ओभरमा एक सय आठ रनमै समेटियो । यो टी–२० विश्वकपमा नामिबियाको अहिलेसम्मकै ठूलो सफलता हो । 

 फ्रायलिंकको अलराउन्ड प्रदर्शन
श्रीलंकाले विश्वकपको पहिलो चरणमा अप्रत्याशित नतिजा हात पार्दा नामिबियाका जान फ्रायलिंकले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा २९ बलमा ४४ रन योगदान दिए । यसक्रममा उनले चार चौका प्रहार गरे । बलिङमा उनले २६ रन खर्चेर दुई महत्वपूर्ण विकेट हात पारे । फ्रायलिंकले श्रीलंकाका धनञ्जय डी सिल्भालाई आउट पारे । कप्तान दुसान सनाकाको विकेट पनि उनले नै लिए । धनञ्जयले १२ रन तथा दुसानले २९ रन बनाए । श्रीलंकाका भरपर्दा ब्याट्सम्यानलाई आउट पार्नु र ब्याटिङमा समेत विस्फोटक प्रदर्शन गरेका कारण नै फ्रायलिंक खेलकै म्यान अफ दी म्याच भए । 

 पावर प्लेमा कमजोर प्रदर्शन
श्रीलंकाले पावर प्लेमा कमजोर प्रदर्शन गरेको थियो । श्रीलंकाले रन बटुल्ने मुख्य मानिएको सुुरुको ६ ओभर पावर प्लेमा केवल ३८ रन मात्र जोडेको थियो । टी–२० विश्वकपकै अनुभवी राष्ट्र श्रीलंकाले पावर प्लेमै चार मुख्य ब्याट्सम्यानको विकेट गुमाएको थियो । नामिबियाले श्रीलंकामाथि पावर प्लेदेखि दबाब राख्यो । यद्यपि, नामिबियाले पनि पावर प्लेमा गतिलो प्रदर्शन गर्न सकेन । नामिबियाले पावर प्लेमा प्रतिओभर ६ रनरेटमा ब्याटिङ गरेको थियो । 

 ७२ रनको साझेदारी
पहिलो ब्याटिङ गरेको नामिबियाले स्कोर बोर्डमा ९३ रन बनाउँदा ६ ब्याट्सम्यान गुमाएको थियो । यस स्थितिमा श्रीलंकाले खेल पकडमा राखेको थियो । तर, स्मिथ र फ्रायलिंकले सातौँ विकेटका लागि ७२ रनको साझेदारी गर्दै नामिबियालाई १९.६ ओभरमा १६३–७ को बलियो स्थितिमा राखे । स्मिथले १६ बलमा समान दुई छक्का र चौका प्रहार गरी ३१ रन बनाए । सो इनिङमा जान किलले २० रन, स्टेफान बाडले २० रन र कप्तान इसास्मुसले २० रन बनाए । श्रीलंकाको ब्याटिङमा भनुका राजापाक्ष र कप्तान दुसानले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । भानुकाले २१ बलमा दुई चौकाको सहयोगमा २० रन बनाए । 

 नेदरल्यान्ड्स तीन विकेटले विजयी
प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा नेदरल्यान्ड्सले युएईमाथि तीन विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा आठ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन जोड्यो । युएईका लागि ओपनर मुहमद वासिमले ४७ बलमा ४१ रन जोडे । नेदरल्यान्ड्सका लागि म्याक ओले १८ बलमा २३ रन बनाए ।