मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Monday, 16 December, 2024
२o७९ असोज २९ शनिबार १o:१५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूर तराईमा बढ्यो चुनावी सरगर्मी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १o:१५:oo

कैलालीमा पुराना दललाई नागरिक उन्मुक्तिको चुनौती

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको मनोनयन दर्तासँगै चुनावी सरगर्मी बढ्न थालेको छ । उम्मेदवारहरू प्रसारप्रसारमा जुटेका छन् । नागरिक उन्मुक्ति पार्टीको बलियो जनमत देखिएको यहाँका कतिपय क्षेत्रमा नागरिक उन्मुक्तिसहित सत्तारूढ गठबन्धन र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

१.  ढक्कीको बलियो प्रभाव
गत स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा बढी देखिएको क्षेत्र नम्बर १ मा उक्त पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमालेका तपेन्द्र रावल प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । ०७४ को निर्वाचनमा भारी मतान्तरसहित विजयी भएका रेशम चौधरीले यो क्षेत्रबाट आफ्नी पत्नी रञ्जितालाई उम्मेदवार बनाएका हुन् ।

थरुहट आन्दोलनका क्रममा नौजनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई आजीवन काराबासको सजाय भोगिरहेका रेशमको अग्रसरतामा उनकी पत्नी रञ्जिताको अध्यक्षतामा गत वर्ष नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । गठबन्धनबाट कांग्रेसका उम्मेदवार चौधरी यसअघि तत्कालीन क्षेत्र नम्बर ३ बाट ०४८, ०५१, ०५६ र ०७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ रोजेका हुन् । यो क्षेत्रमा उनको बलियो प्रभाव रहेको जोशीपुर गाउँपालिका तथा भजनीका दुईवटा वडा पर्छन् । एमालेका रावल टीकापुर नगरपालिकाका निवर्तमान मेयर हुन् ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिन्छ । यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्तिले १७ हजार एक सय ९३, कांग्रेसले ११ हजार ६ सय ४२, एमालेले १० हजार तीन सय ३२, माओवादीले ६ हजार नौ सय ५७ मत, राप्रपाले चार हजार ६ र समाजवादीले दुई हजार दुई सय ३२ पाएका थिए । क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा भजनीका दुई वडा र जानकी गाउँपालिकाका पाँच वडा पर्छन् । स्थानीय तह निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै तहको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो ।

२.  एमाले–माओवादी आमनेसामेन
क्षेत्र नम्बर २ मा निवर्तमान सांसद एमाले नेता झपटबहादुर बोहरा र संविधान सभा सदस्य माओवादीका भगत बडुवालबीच प्रतिस्पर्धा हुने आकलन छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको पनि केही प्रभाव छ । नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी उम्मेदवार बनेका छन् । उनी केही महिनाअघि कांग्रेस छोडेर नागरिकमा प्रवेश गरेका हुन् । नयाँ नै भए पनि यहाँ सो पार्टीको प्रभाव बलियो देखिन्छ । परिणाममा असर पार्ने क्षमता नागरिक उन्मुक्तिमा देखिएको छ ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष रतन थापा नागरिक उन्मुक्तिबाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर २ मा गठबन्धन अगाडि देखिन्छ । १७ हजार सात सात ७० मतसहित एमालेले सबैभन्दा बढी मत पाएको थियो । त्यस्तै, कांग्रेसले १३ हजार आठ सय ४१, माओवादीले आठ हजार सात सय १६, नागरिक उन्मुक्तिले पाँच हजार १९, राप्रपाले दुई हजार ६६ र समाजवादीले दुई हजार एक सय ११ मत पाएका थिए । 

३. पूर्वसहकर्मी आमनेसामने
कैलाली क्षेत्र नम्बर ३ मा जनयुद्धदेखिका दुई पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुनेछ । माओवादी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्ण चौधरी र माओवादी छोडेर एमालेमा लागेका पूर्वमन्त्री गौरीशंकर चौधरी प्रतिस्पर्धी छन् । यिनै दुईबीच मुख्य प्रतिस्पर्धा देखिन्छ भने नागरिक उन्मुक्तिको प्रभावलाई पनि कम आँक्न सकिने अवस्था छैन । 

कृष्ण ०६४ को संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पार्टी विभाजनपछि बाबुराम भट्टराईलाई साथ दिएका उनी केही महिनाअघि मात्रै माओवादीमा फर्केका थिए । यो क्षेत्रमा उनको बलियो प्रभाव रहेको छ । ०७० र ०७४ को दुवै निर्वाचनमा गौरीशंकर माओवादीबाट निर्वाचित भएका थिए । नेकपाको नामसम्बन्धी मुद्दामा अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेतिर लागेका चौधरीको सांसद पद गुमेको थियो ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई पनि यो क्षेत्रमा बलियो दाबेदारका रूपमा हेरिएको छ । नागरिक उन्मुक्तिबाट गंगा चौधरी उम्मेदवार छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा एमालेले ११ हजार दुई सय ३९ मत, कांग्रेसले १९ हजार नौ सय ९२, माओवादीले ११ हजार सात सय १६, राप्रपाले ६ हजार ६ सय ९९, नागरिक उन्मुक्तिले पाँच हजार दुई सय ४७ र समाजवादीले दुई हजार ३८ र समाजवादीले दुई हजार २८ मत पाएका थिए । 

४.  ‘हेभिवेट फाइट’
क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री, एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय तहमा प्राप्त मतका आधारमा गठबन्धन अगाडि देखिए पनि यहाँ एमाले सचिव भट्टको व्यक्तिगत प्रभाव बलियो छ । पूर्वमाओवादी नेता भट्ट ०७४ को निर्वाचनमा कांग्रेसका सुनीलकुमार भण्डारीलाई भारी मतान्तरले हराउँदै विजयी भएका थिए । त्यसवेला वामगठबन्धनका तर्फबाट माओवादीबाट उम्मेदवार बनेका भट्टले ३१ हजार तीन सय ५९ र भण्डारीले २० हजार नौ सय ६० मत प्राप्त गरेका थिए । एमाले र माओवादी ब्युँतिएपछि उनी एमालेतिर लाग्ने माओवादीका शीर्ष नेता हुन् । 

सत्तारूढ गठबन्धनबीच डोटीमा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएपछि कांग्रेसका प्रदेश सभापति बलायर कैलाली ४ मा झरेका हुन् । उनले डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरेका थिए । एउटै निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता प्रेम आले चुनाव लड्दै छन् । दुई शीर्ष नेताबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । क्षेत्र नम्बर ४ मा डोटेली मतदाताको बाहुल्य रहेको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले २२ हजार नौ सय ९७, एमालेले २० हजार एक सय ८४, माओवादीले १० हजार तीन सय ६०, समाजवादीले चार हजार २९ र राप्रपाले तीन हजार एक सय ५३ मत प्राप्त गरेका थिए । 

५.  नारदमुनिसँग पन्तको भिडन्त
प्रदेशको अस्थायी राजधानीसमेत रहेको क्षेत्र नम्बर ५ मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त र एमालेका नारदमुनि रानाबीच प्रतिस्पर्धा हुनेछ ।

०७४ को निर्वाचनमा रानाले यही क्षेत्रबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई पराजित गरेका थिए । यहाँ कांग्रेसबाट पुनः आरजुले नै उम्मेदवार हुने तयारी गरे पनि अन्तिममा उनले समानुपातिक रोजेपछि पन्तलाई टिकट दिइएको हो । पन्त निवर्तमान प्रदेश सभा सदस्य हुन् ।

धनगढी उपमहानगरका १९ वटै वडा र कैलारी गाउँपालिकाका दुई वडा पर्ने क्षेत्र नम्बर ५ मा वडामा कांग्रेसको वर्चस्व छ । स्थानीय तह निर्वाचनमा धनगढीको प्रमुखमा भने कांग्रेसका उम्मेदवार स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए । गठबन्धनबाट उपमेयरमा माओवादीका उम्मेदवारलाई हराउँदै एमालेले जित हासिल गरेको थियो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले २२ हजार सात सय ७९, एमालेले १७ हजार चार सय २० र माओवादीले सात हजार आठ सय १५ र राप्रपाले दुई हजार दुई सय ४८ र समाजवादीले दुई हजार नौ मत पाएका थिए ।