१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २९ शनिबार ०८:०३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

राजनीतिक स्थिरतातर्फ इराक : आमनिर्वाचनको एक वर्षपछि संसद्ले चुन्यो राष्ट्रपति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २९ शनिबार ०८:०३:००

इराकको संसद्ले बिहीबार कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद राष्ट्रपति चुनेको छ । बिहीबारको चुनाव राष्ट्रपति चयनका लागि यो वर्षमै भएको चौथो प्रयास थियो । ७८ वर्षका रसिद सन् २००३–२०१० मा इराकका जलस्रोतमन्त्री थिए । बेलायतमा पढेका र पेसाले इन्जिनियर रसिद कुर्द समुदायका हुन् । इराकमा धार्मिक एकता बलियो बनाउन कायम प्रणालीअनुसार कुर्द सम्प्रदायका व्यक्ति राष्ट्रपति हुने, देशको सबैभन्दा ठूलो सम्प्रदाय सिया कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री हुने र सभामुख सुन्नी हुने व्यवस्था छ ।

नयाँ राष्ट्रपति चुनिएलगत्तै उनले मोहमद सिया अल–सुदानीलाई सरकार बनाउन आमन्त्रण गरेका छन् । इराकी संसद्को सबैभन्दा ठूलो गठबन्धन ‘कोअर्डिनेसन फ्रेमवर्क’को समर्थन पाएका अल–सुदानीले अब तीस दिनभित्र उनको क्याबिनेट गठन गरेर संसद्बाट विश्वासको मत लिनुपर्नेछ । ५२ वर्षका सुदानीले यसअघि मानवअधिकार मन्त्रालय तथा श्रम तथा समाजिक मामिला मन्त्रालय सम्हालिसकेका छन् । 

राष्ट्रपति र प्रधानमन्त्रीको चयनसँगै इराकमा एक वर्षदेखि कायम राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ । गत वर्ष अक्टोरबमा भएको आम–निर्वाचनपछि इराकले एक वर्षसम्म राजनीति गतिरोधका कारण राष्ट्रपति र सरकार छान्न सकेन । नवनिर्वाचित राष्ट्रपति रसिदले निवर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्दै छन्, जो रसिदसँग राष्ट्रपति पदको लागि भएको निर्वाचनका प्रतिस्पर्धी पनि थिए । बिहीबारको मतदानअघि इराकको सरकारी निवास तथा संसद् रहेको ग्रिन जोनमा नौ रकेट खसेका थिए । सेनाको वक्तव्यअनुसार आक्रमणमा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । गत महिना सभामुख चयनअघि पनि यस्तै आक्रमण भएको थियो । 

गत वर्ष अक्टोबरमा इराकमा आमनिर्वाचन भए पनि पटक–पटकको प्रयासपछि पनि सभामुख, राष्ट्रपति तथा सरकार चयनको प्रयास सफल हुन सकेको थिएन । अघिल्लो आम चुनावमा लोकप्रिय सिया मुस्लिम धर्मगुरु मुक्दता अल–सदप्रति बफादार गठबन्धनले सबैभन्दा धेरै ७३ सिट जित्न सफल भएको थियो । तर, एक वर्षसम्मको प्रयासपछि पनि उक्त गठबन्धनले सरकार गठन गर्न नसकेपछि अगस्टमा अल–सद्रले राजनीतिबाटै सन्न्यासको घोषणा गर्दै आफूप्रति बफादार सांसदलाई फिर्ता बोलाए । अल–सद्रले हालसम्म उनका भावी कदमबारे केही खुलाएका छैनन् । तथापि विगतमा उनका अस्थिर प्रवृत्तिका कारण धेरै उनका समर्थकहरू हिंसात्मक प्रदर्शनमा उत्रिनेमा भयभीत थिए । त्यसैले राष्ट्रपति चयनअघि राजधानी प्रमुख पुल, चोकहरू बन्द गरिएका थिए भने सरकारका महत्वपूर्ण स्थानमा सैन्य चेकपोइन्ट राखिएको थियो । 

अमेरिकाले इराकको राजनीतिक गतिरोधको अन्त्यको स्वागत गरेको छ । ‘संयुक्त राज्य अमेरिका सबै सरोकारवाला पक्षलाई हिंसाबाट टाढा बस्न र सम्पूर्ण विवाद राजनीतिक प्रक्रियाबाटै शान्तिपूर्ण तथा मैत्रीपूर्ण समाधान गर्न आग्रह गर्दछ,’ अमेरिकाले राष्ट्रपति चयनपछि निकालेको वक्तव्यमा भनेको छ ।

 सुदानीले पूर्णता दिने क्याबिनेट संसद्बाट अनुमोदित भएमा देशभित्र इरानको प्रभाव थप बढ्ने प्रक्षेपण गरिँदै छ । ‘अहिले इरान समर्थित गठबन्धनको संसद्मा आधिपत्य छ । न्यायापालिका उनीहरूप्रति नरम छ र अब कार्यकारी निकाय पनि उनीहरूकै भएमा बिस्तारै सरकारी संयन्त्रमा रहेका अल–सद्र समर्थित मानिसहरूलाई पाखा लगाउन थाल्नेछन्,’ वासिङ्टन इन्स्टिच्युटका इराकी सिया मिलिसियाविज्ञ हाम्दी मलिकले भने । तथापि, आगामी दिन कस्तो हुनेछ भन्ने कुरा अल–सद्रको प्रतिक्रियामा निर्भर हुनेछ ।