प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ६ हजार दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका एक सय ६५ क्षेत्रबाट दुई हजार पाँच सय २६ र प्रदेश सभाका तीन सय ३० क्षेत्रबाट तीन हजार चार सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारीमध्ये पाँच हजार चार सय ७० पुरुष र पाँच सय ३२ महिला उम्मेदवार रहेका छन्, जुन कुल उम्मेदवारीको नौ प्रतिशतभन्दा कम हो । उम्मेदवारीमध्ये प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला छन् । त्यस्तै, प्रदेश सभातर्फ तीन हजार एक सय ७८ पुरुष र दुई सय ९७ महिला र एक अन्यको उम्मेदवारी परेको छ ।
आइतबार परेका उम्मेदवारीविरुद्ध सोमबार आयोगले उजुरी दर्ता गराएको छ । आयोगले परेका उजुरीको छानबिन गरी मंगलबार नामावली प्रकाशन गर्नेछ । २६ असोज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मे उजुरी फिर्ताको समय तोकिएको छ । उजुरी फिर्तापछि सोही दिन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । यससँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको अन्तिम संख्या टुंगो लाग्नेछ ।