१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 22 June, 2024
भोजराज भण्डारी काठमाडाैं
२o७९ असोज २३ आइतबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार o७:४६:oo

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन अझै कम्तीमा एक वर्ष लाग्ने भएको छ । ‘संशोधित धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुला भएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि २ असोजमा ४५ दिनको समय राखेर आवेदनसमेत माग गरिसकेको छ ।   

नियमावलीअनुसार न्यूनतम तीन अर्ब चुक्ता पुँजी हुनुपर्नेछ । यस्तो पुँजीमा कम्तीमा ३० प्रतिशत सर्वसाधारणको सेयर हुनुपर्ने तथा एकल लगानीकर्ता सीमा अधिकतम १५ प्रतिशत राखिएको छ । नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढ्ने विषयमा अहिले केही भन्न नसकिने धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीले बताए । उनले भने, ‘नियमावलीअनुसार तोकिएको चुक्ता पुँजी जुटाएर आएपछि बोर्डको प्रक्रिया अघि बढ्छ, अहिले केही भन्न सकिँदैन ।’ उनका अनुसार नयाँ स्टक एक्सचन्जलाई पनि अहिलेकै कानुन लाग्छ ।  

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले बनाएको योजना कार्यान्वयन भएमा छिटोमा एक वर्षमा सञ्चालनमा ल्याउन सकिने बताए । उनले भने, ‘मुख्य कुरा कस्तो आवेदन पर्छ, कति आवेदन पर्छ भन्ने हो, यदि राफसाफ गर्ने प्रणालीदेखि अन्य संरचनाहरूलाई प्रयोगमा ल्याउन सकेको खण्डमा धेरै सहज ढंगलले ल्याउन सकिन्छ र छिटो हुन्छ ।’ 

उनका अनुसार अहिले सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्जको राफसाफ प्रणाली नेपाल क्लियरिङ एन्ड लिमिटेड (सिडिएससी)ले गर्दै आइरहेको छ । क्लियरिङ लिमिटेड सरकारी स्वामित्वको स्टक एक्सचेन्जको राफसाफ प्रणाली हो । अहिलेको क्लियरिङ लिमिटेड (सिडिएससी) नयाँ स्टक एक्सचेन्जको पनि राफसाफ गर्न तयार भएमा धेरै समय नलाग्ने हमालको भनाइ छ ।

सरकारी स्वामित्वको स्टक एक्सचेन्जको राफसाफ र निजी क्षेत्रबाट आउन लागेको स्टकको राफसाफ एउटै क्लियरिङबाट गराउँदा प्रश्न उठ्ने सम्भावना पनि त्यतिकै रहने हमालले बताए । उनले भने, ‘हेर्दै जाऔँ के हुन्छ, तर छिटो सञ्चालनमा ल्याउने हो भने भएकैलाई सक्षम बनाएर सबैको सहमतिमा ल्याएर कारोबार गराउन सकिन्छ ।’ निजी क्षेत्रले  आफैँ क्लियरिङ कम्पनी खोल्छु भनेमा अझ राम्रो हुने उनको भनाइ छ । तर, समय केही लम्बिएर दुई वर्ष पनि लाग्न सक्ने हमालले बताउँछन् । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नयाँ स्टक एक्सचेन्जले यदि राफसाफ गर्न चाहेमा सिडिएससी सक्षम रहेको बताए । ‘यदि निजी क्षेत्रको विश्वासमा हामीलाई जिम्मा दिएको खण्डमा तयार छौँ, त्यसका लागि प्रक्रिया मिलाएर आउनुपर्छ, नसक्ने भन्ने कुरै हुँदैन,’ न्यौपानेले भने ।  नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएपछि दुईवटा स्टक एक्सचेन्ज एकैपटक कसरी सञ्चालनमा आउँछन् भन्ने विषयमा धेरै लगानीकर्ता अलमलमा छन् । 

लगानीकर्ता मुक्ति अर्याल कम्पनीहरू दुवै स्टक एक्सचेन्जमा सूचीकृत भएर जाने र सोहीअनुसार कारोबार हुने बताउँछन् । अन्य देशको अभ्यास पनि त्यही नै छ, दुवै कम्पनीमा सूचीकृत भएर जाने र राफसाफ भने फरक हुनुपर्ने उनको भनाइ छ । ‘अन्य मुलुकमा निजी क्षेत्र आफैँले राफराफ सञ्चालनमा ल्याउने गरेका छन्, तर भएकै सिडिएससीलाई अधिकार दिएर लैजान पनि सकिन्छ,’ अर्यालले भने । 

त्यस्तै, नयाँ आउने स्टकमा इन्डेक्स राख्ने–नराख्ने पनि छलफलकै विषयमा रहेको हमालले बताए । इन्डेक्स रहन पनि सक्छ, नरहन पनि सक्छ, त्यो पछि मात्र थाहा हुने र बोर्डबाट निर्णय गराउनुपर्ने हमालले बताए । तर, लगानीकर्ता मुक्ति अर्याल राखे पनि, नराखे पनि खासै त्यसको अर्थ नरहने बताए । ‘मापक त हुन सक्ला, राख्दा राम्रो नभए पनि खासै फरक पर्दैन,’ अर्यालले भने ।

ad
ad
ad
ad