मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १८ मंगलबार
  • Tuesday, 11 March, 2025
गत १ कात्तिकमा मनसुन सकिएपछि आएको वर्षाले कैलाली धनगढी उपमहानगरपालिका– ५ काे खेतमा पाकेको धानबाली नष्ट गरेकाे थियाे । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार १२:५३:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आकाश गड्गडाउँदा थर्कन्छन् किसान

पाकेको धानबाली अघिल्लो वर्ष बेमौसमी वर्षाले खेतमै डुब्यो, यस वर्ष पनि लगातार पानी पर्ने भयले चिन्तामा छन् किसान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार १२:५३:oo

गत कात्तिक १ मा मनसुन सकिएपछि आएको वर्षाले कैलाली धनगढी उपमहानगरपालिका– ५ का कृषक रामबहादुर चौधरीको एक बिघा खेतमा पाकेको धानबाली नष्ट भयो । काटेको एक दिनपछि नै आएको बेमौसमी वर्षाले खेतैभरि पानी जमेपछि धान भिजायो, खेतमै डुब्यो । 

रामबहादुर यसपटक पनि त्यस्तै चिन्तामा छन् । खेतमा धान पाकिसकेको छ । काट्ने वेला भइसकेको छ । तर, मनसुन अझै बाहिरिएको छैन । अझ जल तथा मौसम विज्ञान विभागले लगातार तीन दिन पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेपछि उनको चिन्ता बढेको छ । 

‘पाकेको धान काट्ने वेला भइसकेको छ । तर, मौसम अनिश्चित छ । नकाटौँ वेला भइसक्यो, काटौँ पानी परेर अघिल्लो वर्षजस्तै डुबानमा पर्ने हो कि भन्ने चिन्ता छ,’ उनले नयाँ पत्रिकासँग भने । 

रामबहादुरजस्तै कैलालीका अधिकांश किसानलाई दसैँ मनाउनेभन्दा पाकेको धानखेतीको चिन्ता बढेको छ । विभागको सूचनापछि जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेर किसानलाई सजग गराएको छ । तर, पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने डरले किसान चिन्तामा छन् । 

 

अर्का किसान तिलक जोशीले पनि अघिल्लो वर्ष धानबालीमा क्षति व्यहोरे । अघिल्लो वर्ष उनले काटेको धान गह्रामै तैरिएको थियो । काट्न बाँकी धान पनि वर्षा र हावाहुरीले ढलेर सोत्तर भएको थियो । पाकेको धान भित्र्याउन नपाउँदा बर्बाद भएको थियो । 

कैलालीको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरी यस वर्ष पनि चिन्तामा छन् । ‘गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ,’ रामसुन्दरले भने, ‘वर्षभरिको मिहिनेत बारीमा छ, कसरी दसैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।’

मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दसैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन् । ‘धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ,’ उनले भने, ‘पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।’

टीकापुर– ५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेकी छैनन् । कृष्णाको गत वर्ष २ कात्तिकमा आएको बेमौसमी बाढीले दुई बिघा धान बगाएको थियो । ‘गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ, तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ,’ उनले भनिन्, ‘किसानले केही गरे सुख नपाउने भए । मिहिनेत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।’ 

 

गत वर्ष कैलालीमा ४० प्रतिशत धान खेतमै डुबेको थियो । धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेको कैलालीका सयौँ किसान मर्कामा परेका थिए । कञ्चनपुरमा पनि २० प्रतिशत धानबाली वर्षाले असर पुर्‍याएकाे थियो । 

कञ्चनपुरको लालझाडी गाउँपालिका– ३ नन्दगाउँका किसान बहाली रानाले अढाई बिघा खेतमा लगाएको धान डुबानमा परेको थियो । त्यसभन्दा अघिल्लो वर्ष खेतमा दोदा नदीको बाढी पसेर धानखेती नष्ट गरेको थियो । लगत्तैको वर्ष आकाशबाट मुसलधारे पानी परेर पूरै धान डुबाइदिइको थियो । तर, राज्यबाट किसानले आशातित राहत पाएनन् । त्यसैले वर्षभरि पसिना बगाएको बाली यस वर्ष पनि वर्षाले बर्बाद गर्ने हो कि भन्ने चिन्तामा किसान छन् ।