मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Monday, 16 December, 2024
२o७९ असोज १६ आइतबार १४:२२:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

खपत नबढ्दा दैनिक २०० मेगावाट विद्युत् खेर

दसैँमा दैनिक १२ करोडको विद्युत् खेर जाने अनुमान 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार १४:२२:oo

उत्पादनअनुसार खपत बढाउन नसक्दा यो वर्ष पनि विद्युत् खेर जाने समस्याले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खेर जाने समस्या नआउने बताउँदै आए पनि पछिल्लो समय दैनिक दुई सय मेगावाट विद्युत् खेर गइरहेको देखिएको हो।

गत वर्ष बर्सातमा दैनिक पाँच सय मेगावाट विद्युत् खेर गएको थियो । तर, यस वर्ष स्वदेशी खपत बढेको छ । साथै, भारतीय बजारमा तीन सय ६५ मेगावाट विद्युत् निर्यात हुन थालेको छ । तर, उत्पादनअनुसार खपत बढ्न नसक्दा विद्युत् खेर जाने समस्याले निरन्तरता पाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले उत्पादन भएको सबै विद्युत् खपत नभएको बताए । ‘आवश्यकताअनुरूप खपत बढ्न नसक्दा अहिले पनि केही विद्युत् खेर गइरहेको छ । दसैँ बिदा सुरु भएसँगै त्यसको मात्रा झन् बढ्न सक्छ,’ उनले बताए । 

 प्राधिकरणले विद्युत् बिक्री गर्ने औसत मूल्यका आधारमा दैनिक झन्डै पाँच करोडबराबरको विद्युत् खेर गएको देखिन्छ । अहिले प्राधिकरणले स्वदेश तथा भारतीय बजारमा औसतमा प्रतियुनिट १०–११ रुपैयाँ विद्युत् बिक्री गर्र्दै आएको छ । दुई सय मेगावाट क्षमताका आयोजनाले दैनिक (२४ घन्टा) ४८ लाख युनिट विद्युत् उत्पादन गर्छन्, त्यसअनुसार दैनिक पाँच करोड रुपैयाँको हाराहारीमा विद्युत् खेर गएको जानकारहरू बताउँछन् ।

प्राधिकरणले आयोजनाबाट भने बर्सातमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा विद्युत् खरिद गरेको हुन्छ । यसरी विद्युत् खेर गए पनि प्राधिकरणले सम्बन्धित आयोजनालाई त्यसको भुक्तानी गर्नैपर्ने गरी सम्झौता भएको हुन्छ । त्यसअनुसार प्राधिकरणलाई दुई करोड ३० लाख रुपैयाँ (खेर जाने विद्युत् र खरिद दरका आधारमा) भने प्रत्यक्ष रूपमा घाटा लाग्ने देखिन्छ ।

अहिले नेपालको कुल विद्युत् जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट छ । तर, नेपालको विद्युत् माग भने १७ सय मेगावाट हाराहारी छ । त्यसबाहेक भारतमा तीन सय ६५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । त्यसअनुसार अहिले दुई हजार ६५ मेगावाट विद्युत् खपत भएको छ । त्यसबाहेकको विद्युत् नै खेर गएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । मन्त्रालय स्रोतका अनुसार दैनिक दुई सय मेगावाट विद्युत् खेर गएको उल्लेख छ ।

विद्युत् खेर जाने समस्या भएकै कारण निजी क्षेत्रलाई  विद्युत् व्यापार गर्न दिन लागिएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । ‘प्राधिकरणले मात्रै विद्युत्का लागि बजार विस्तार गर्न सकेन । त्यसैले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन लागेका हौँ,’ उनले भने, ‘निजी क्षेत्रले विद्युत्को निर्यात बढाउँछन् भन्ने आशा छ ।’

प्राधिकरणले विभिन्न १३ आयोजनाको सात सय ६१ मेगावाट विद्युत् बिक्री गर्न भारतसँग अनुमति मागेको छ । तर, लामो समय बितिसक्दा पनि भारतले अनुमति दिएको छैन । त्यसका कारणले पनि विद्युत् खेर जाने अवस्था आएको जानकारहरू बताउँछन् ।

जनताको क्रयशक्ति बलियो नहुँदा खपत बढ्न सकेन 

जनताको क्रयशक्ति बलियो हुन्थ्यो भने उनीहरूले घरमा कपडा धुन, भाँडा माझ्न विद्युतीय उपकरण जडान गर्न सक्थे । दाउराबाट खाना पकाउने ठाउँमा विद्युतीय चुलो प्रयोग गर्ने थिए । तर, त्यो रूपमा नेपाली जनताको क्रयशक्ति बढेको छैन, त्यसको असरले पनि विद्युत् खपत बढेको छैन ।
 
साथै, आर्थिक क्रियाकलापले बढावा नपाउँदा पनि यस्तो समस्या छ । हाम्रो विद्युत्को खपत साँझ–बिहान मात्र बढी हुन्छ । यदि, औद्योगिकीकरण राम्रो भएको भए चौबिसै घन्टा विद्युत् खपत उच्च हुने थियो । यस्तै, हाम्रो सप्लाई सिस्टम पनि राम्रो छैन । ट्रिपिङ हुने, बत्ती जानेजस्ता समस्या भइरहेका छन् । त्यस कारणले विद्युत् खपत बढ्न सकेको छैन । समग्रमा हामीले जुन ढंगले विद्युत् खपत बढाउने भनेका थियौँ, त्यसअनुसार खपत बढेको छैन । फलस्वरूप विद्युत् खेर जाने अवस्था कायमै छ ।

दसैँमा दैनिक पाँच सयदेखि ६ सय मेगावाट खेर जाने 

दसैँको समयमा भने दैनिक १२ करोड रुपैयाँबराबरको विद्युत् खेर जाने अनुमान प्राधिकरणले गरेको छ । दसैँ बिदाका कारण उद्योग, कलकारखाना, व्यावसायिक भवनलगायत बढी विद्युत् खपत गर्ने क्षेत्र बन्द हुन्छन् । फलस्वरूप त्यस समयमा विद्युत् खपतमा पनि ह्रास आउने प्राधिकरणको भनाइ छ । प्राधिकरणका एक उच्च अधिकारीले दसैँमा झन्डै १२ करोडबराबरको विद्युत् खेर जाने बताए । 

दसैँमा पाँच सयदेखि ६ सय मेगावाटसम्म विद्युत् खेर जाने उनको भनाइ छ ।  ‘दसैँमा उद्योग, कलकारखाना, व्यावसायिक भवन, कार्यालयलगायतका विद्युत् खपत बढी हुने क्षेत्र बन्द हुन्छन् । फलस्वरूप विद्युत् खपतमा भारी गिरावट आउँछ,’ उनले भने, ‘झन्डै १२ करोडको विद्युत् खेर जाने हाम्रो अनुमान छ । तर, तिहारमा भने यस्तो समस्या हँुदैन ।’

अध्यादेश जारी गर्नुपर्ने आठ कारण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् ऐन, २०४९ संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुपर्ने आठ कारण राष्ट्रपति कार्यालयमा पेस गरेको छ । राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्न ढिलाइ गरेपछि मन्त्रालयल पत्रसहित कारणसमेत पेस गरेको हो ।

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने उद्देश्यसहित विद्युत्सम्बन्धी अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएको थियो । त्यो अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भइसकेको छ । सोही क्रममा राष्ट्रपति कार्यालयले अध्यादेश ल्याउनुपर्ने कारण सरकारसँग मागेको थियो । त्यसपछि सरकारले राष्ट्रपति कार्यालयलाई अध्यादेश ल्याउनुको आठ कारण पेस गरेको छ । त्यसमा खेर जाने विद्युत्को खपत बढाउन निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने उद्देश्यसहित अध्यादेश ल्याउनुपर्ने उल्लेख गरिएको छ । 

विद्युत् खेर जाने समस्या कायमै रहेको, विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा खपत भने बढ्न सकेको छैन । सोही कारण विद्युत् खपत बढाउन निजी क्षेत्रको आवश्यकता परेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले राष्ट्रपतिलाई पेस गरेको अध्यादेश जारी गर्नुपर्ने आठ कारण :

१. दैनिक खेर जाने विद्युत्लाई व्यवस्थापन गर्न  
२. वार्षिक आठ सय मेगा विद्युत् उत्पादन हुने, तर खपतको ग्यारेन्टी नभएको
३. भारत र बंगलादेशसँग भएको विद्युत् व्यापार सम्झौतालाई कार्यान्वयन गर्न
४. विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारणलाइन बनाउन 
५. अध्ययनका क्रममा रहेको २२ हजार मेगावाट आयोजनाको बजार तथा निर्माण ग्यारेन्टी गर्न 
६. जलविद्युत् विकास नीति २०५८ लाई  कार्यान्वयन गर्न
७. प्रचलित ऐनमा विद्युत् व्यापारको व्यवस्था नभएका कारण
८. अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी आवश्यक कार्यविधि तथा निर्देशिका तयार गर्ने