मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १५ शनिबार १९:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय सदस्य पोखरेलले भने- म कांग्रेसलाई भोट माग्छु, गठबन्धनका उम्मेदवारलाई माग्दिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १५ शनिबार १९:४४:००

कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले यसअघि आफू निर्वाचन लडेको क्षेत्रमा गठबन्धनका उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन्। 

शनिबार प्रतिक्रिया दिँदै उनले एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधिसभातर्फ गठबन्धनबाट सो क्षेत्र राष्ट्रिय जनमोर्चाले पक्कापक्की भएपछि सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। 

सो क्षेत्रमा जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्ने चर्चा छ। ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी पौडेलले कांग्रेसबाट उम्मेदवार बनेका पोखरेललाई पराजित गरेकी थिइन्। प्युठानबाट कांग्रेसबाट पोखरेलसहित ६ जनाको नाम सिफारिस गरेको थियो। 

‘उहाँले कांग्रेसको उम्मेदवार मलाई पराजित गर्नुभएको थियो। अहिले उहाँ नै फेरि उम्मेदवार हुने चर्चा छ। यसपटक उहाँ हामीसँग गठबन्धन गरेर ०७४ को गठबन्धनको सबैभन्दा ठूलो दल एमालेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ,’ उनले भनेका छन्, ‘यस आधारमा म फेरि रूख चिह्न लिएर उम्मेदवार भई आउने सम्भावनामाथि प्रश्नचिह्न लागेको छ। म प्युठानी जनताबीच समानुपातिकमा रूख चिह्नमा पार्टीलाई र पार्टीका उम्मेदवारलाई मत माग्न आउनेछु।’ 

उनले फेसबुकमा लेखेका छन्, ‘प्युठानका धेरै साथीहरूको फोनको स्पष्ट जवाफ दिन गाह्रो भएको धेरै दिन भयो। राजनीतिक रूपले विभिन्न दिशामा फर्केका दलको चुनावी गठबन्धनको रस्साकसी चलेकै छ। प्रारम्भिक सूचनाअनुसार प्युठानको संघीय प्रतिनिधिसभाको उम्मेदवार गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले पाउने अनुमान गर्न सकिन्छ। प्युठानबाट संघमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली कांग्रेस प्युठानले मेरो, दुईजना पूर्वसभापति  (सुवासजी, अमरजी), पूर्वजिल्ला सचिव (शिवजी) लगायत ६ जनाको नाम सिफारिस गरेको थियो। ०७४ को संघीय निर्वाचनमा वाम गठबन्धनको तर्फबाट राजमोकी नेतृ दुर्गा पौडेलले नेपाली कांग्रेसको उम्मेदवार मला पराजित गर्नुभएको थियो। अहिले उहाँ नै नेका-वाम गठबन्धनबाट फेरि उम्मेदवार हुने चर्चा छ। यसपटक उहाँ हामीसँग गठबन्धन गरी ०७४ को गठबन्धनको सबैभन्दा ठूलो दल एमालेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यी सबै परिदृश्य अहिले गठवन्धनको रस्साकस्सी चलिरहँदा बाहिर अनौपचारिक रूपमा आएका समाचारका आधारमा गरिएका अनुमानहरू हुन्। 

म २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुँदा करिब ३१ हजार दुई सय ८६ भन्दा बढी प्युठानी दाजुभाइ तथा  दिदीबहीनीले मलाई माया गरी मत दिनुभएको थियो। पराजित भएपछि पाँच वर्षमा म प्युठानका ६४ मध्ये ६३ वडामा पटकपटक दाजुभाइ तथा दिदीबहिनीहरूको घरआँगनमा पुग्ने मौका पाएँ। मेरो उम्मेदवारीका लागि सिफारिस पनि भएको र जनताको सुखदुःखमा आफूले सकेसम्म सहभागी भएकोले धेरैले फेरि पनि म नेपाली कांग्रेसबाट उम्मेदवार भई आओस् भन्ने इच्छा गरेको पाएको छु। तर, अनौपचारिक रूपमा बाहिर आएका समाचारका आधारमा म फेरि रूख चिह्न लिएर उम्मेदवार भई आउने सम्भावनामाथि प्रश्नचिह्न लागेको छ। तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना छँदै छ।

यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताबीच रूख चिह्नमा पार्टी र पार्टीको उम्मेदवारलाई मत माग्न आउनेछु। नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन विनम्र अनुरोध पनि गर्दछु। तपाईंहरूको दुःखसुखमा सधै साथ रहनेछु। मलाई अन्य किसिमले प्युठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरूको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु, तर प्रस्तावलाई सकारात्मक रूपले लिएर उपायहरू खोज्दै छु। यसबीचमा केही नयाँ परिदृश्यको विकास भएमा अवश्य जानकारी गराउनेछु।
जय प्युठान !! जय नेपाल !!