मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ असोज १४ शुक्रबार ०८:५०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

तीन रुसी अन्तरिक्षयात्री  अन्तरिक्ष स्टेसनबाट फर्किए 

Read Time : < 1 मिनेट
२०७९ असोज १४ शुक्रबार ०८:५०:००

६ महिना लामो अन्तरिक्ष बसाइपछि तीन रुसी अन्तरिक्षयात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रिनविच समयअनुसार १० बजेर ५७ मिनेट)मा जेज्काज्गान सहरबाट एक सय ४८ किलोमिटर दक्षिणपूर्वमा अवतरण गरेका थिए ।

रोस्कोस्मोसले प्रसारण गरेको फुटेजमा अन्तरिक्षयात्रीहरूलाई सोयुज मोड्युलबाट बाहिर निस्किन मद्दत गर्दै गरेको देखाइएको छ । ‘स्टेसनमा आफ्नो एक सय ९५ दिनका दौरान, चालक दलले थुप्रै प्रयोग र पाँच अन्तरिक्ष पैदल यात्रा पूरा गरेका छन्,’ रोस्कोस्मोसले भनेको छ । 

मस्कोले युक्रेनमा ‘सैन्य अभियान’ सुरु गरेको केही हप्तापछि मार्चको मध्यमा यी अन्तरिक्षयात्रीले मिसन सुरु गरेका थिए । गत जुलाईमा रोस्कोस्मोसले यी तीनैले पूर्वी युक्रेनमा मस्कोको सेनाको समर्थनमा क्रेमलिन समर्थित लुगान्स्क र डोनेत्स्क क्षेत्रको झन्डा बोकेको तस्बिर पोस्ट गरेको थियो ।

मस्कोको नियन्त्रणमा रहेको युक्रेनको लुगान्स्क र डोनेट्स्कसहितका चार क्षेत्रले राष्ट्रपति भ्लादिमिर पुटिनलाई औपचारिक रूपमा ती भूभाग रुसमा गाभ्न आग्रह गरिरहेका वेला उनीहरू पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)लाई अमेरिकी कक्षीय खण्ड र रुसी खण्ड गरी दुई भागमा विभाजन गरिएको छ । रुसले सन् २०२४ पछि आइएसएसबाट बाहिरिने इच्छा व्यक्त गरिसकेको छ ।