मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १२ बुधबार १६:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सानेपामा इतर समूहकाे चेतावनी- बन्दसूचीमा पुनर्विचार नगरे पार्टी सक्किने बाटोमा जान्छ  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १२ बुधबार १६:२८:००

कांग्रेसका नेता शेखर कोइरालापक्षीय समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोइराला पक्षधर नेता–कार्यकर्ताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन्। 

धर्नामा सहभागी नेताहरूले आसन्न प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्दसूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन्। 

कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको बताए। उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको बताए। 

केसीले समानुपातिक बन्दसूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे। 

उनले भने, ‘समान न्याय र अवसरका लागि, पार्टीभित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनसाय हो। जुन परिस्थिति सिर्जना भयो। समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ।’

उनले पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बीचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्ने दाबी गरे। उनले भने, ‘टिकट दिँदा जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो । समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुपर्‍याे । उहाँहरूको तीन भए हाम्रो चार हुनुपर्‍यो । यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो, अनुरोध हो।’

कांग्रेसका नेता अजयबाबु सिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए। उनले बन्दसूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने चेतावनी दिए। 

‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयासजस्तो देखियाे समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आमकार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ।’

कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कांग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे। उनले पार्टीको अधिवेशनमा अरूलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए। 

‘समान अवसर र न्यायको खाँचो छ। यो कसैको व्यक्तिगत पार्टी होइन। यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउनु जरुरी छ,’ उनले भने, ‘हिजो त्याग गरेका मानिसहरूले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरूको राजनीति सक्न खोज्ने, उनीहरूको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरूलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ। यो कुराले नेपाली कांग्रेसलाई थप कमजोर बनाउँछ। पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो।’