मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Thursday, 13 August, 2026
२o७९ असोज ११ मंगलबार o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिकको सूची सच्याउन कांग्रेसमा इतर समूहको दबाब : गठबन्धनलाई असहयोगदेखि निर्वाचन बहिष्कारसम्मको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार o७:२२:oo

समानुपातिक सूचीमा आफ्नो पक्षलाई सम्मानजनक सिट नदिएपछि असन्तुष्ट बनेको कांग्रेसको इतर समूह संस्थापन पक्षविरुद्ध आन्दोलनमै उत्रेको छ । समानुपातिक सूची सच्याउन दबाब दिन भन्दै इतर समूहले पार्टी मुख्यालयमा धर्ना दिनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार ठमेलस्थित होटेल यात्रीमा बसेको इतर समूहको भेलाले सूची सच्याउन दबाब दिन धर्ना बस्ने निर्णय गरेको छ । समानुपातिक बन्दसूची सच्याउन दबाब दिने उद्देश्यले १२ र १३ असोजका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरेको इतर समूहका दोस्रो तहका नेताको भेलाले संस्थापन पक्षले १४ असोजसम्म सूची सच्चिने विश्वासिलो आधार नदिए थप संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । नेता जगदीश्वरनरसिंह केसीले सूची सच्याउन धर्ना दिने मात्र नभई गठबन्धनलाई असहयोगदेखि निर्वाचन बहिष्कारसम्म जान सक्ने बताए । 

‘१२ असोजमा पार्टी कार्यालय सानेपामा दिउँसो १२ देखि १ बजेसम्म एक घन्टा धर्ना दिन्छौँ । १३ असोजमा दसैँ, तिहार, छठ, नेपाल संवत्को अवसरमा राजधानीमा चियापानमार्फत पार्टीको पूर्ण एकताका लागि दबाब दिने कार्यक्रम गर्छौँ,’ उनले भने, ‘१४ असोजसम्म सच्चिने अवस्था आएन भने पार्टीभित्र समान हक र न्यायको परिस्थिति हेरेर कठोर निर्णयका साथ अगाडि बढ्छौँ ।’

समयमै असन्तुष्टि सम्बोधन नगरे अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना रहेको इतर समूहका एक नेताले नयाँ पत्रिकासँग बताए । इतर समूहले निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने क्रममा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि राख्दै आएको छ ।निर्वाचनमा आफ्नो समूहलाई ४० प्रतिशत सिट माग्दै आएको इतर समूह बन्दसूचीमा मुस्किलले १० प्रतिशतमा समेटिएको छ । एक सय १० जनाको बन्दसूचीमा १३ जना मात्र इतर समूहबाट समावेश भएको देखिएको छ । कांग्रेस संस्थापन समूहले समानुपातिक सूचीमा नाम सारेको, आफ्ना पकेटका मान्छेको नाम राखेर पार्टीमा योगदान दिएका कार्यकर्ताको नाम हटाएको भन्दै यो पक्ष असन्तुष्ट बन्दै आएको छ । 

बैठकमा नेताहरूले नेतृत्व एकलौैटी तरिकाले अगाडि बढे गठबन्धनलाई असहयोग गर्ने चेतावनीसमेत दिएका थिए । नेताहरूले आफ्नो समूहलाई ४० प्रतिशत टिकट सुनिश्चित नगरे निर्वाचनमा सहभागी नहुनेसम्मको छलफल नेताहरूले गरेका थिए । ‘गठबन्धनका पाँच दल मिलाउन १८ घन्टासम्म समय दिने, निरन्तर छलफल ६० दिनसम्म गर्न सक्ने सभापतिज्यूले पार्टीलाई एकताबद्ध बनाउन समय दिइरहनुभएको छैन,’ एक नेताले भने, ‘हाम्रो पक्षलाई बेवास्ता गरे गठबन्धनलाई सहयोग गर्र्न सकिँदैन । समय छँदै मिलाउन सकिएन भने विद्रोह हुन्छ ।’ केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत थिए । इतरले स्थानीय निर्वाचनलगत्तै प्रदेश र प्रतिनिधिसभामा बढी सिट पाउन दबाबको रणनीति थालेको थियो ।