
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सुरक्षाको राम्रो प्रबन्ध मिलाउन प्रहरीलाई आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा संघको प्रतिनिधि टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासँग भेट गरी जेन–जी आन्दोलनपछिको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षण गराएको हो।
आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा प्रहरी बिटहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति संघले चिन्ता व्यक्त गर्दै दोषीलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन माग पनि गरेको छ। साथै, बजार क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई नियमित गस्ती बढाउन र जलाइएका प्रहरी बिटलाई सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।
संघका अध्यक्ष अर्यालले चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताए। उनले प्रहरीलाई आवश्यक सहयोग गर्न संघ तयार रहेकोसमेत जानकारी दिए।
सो अवसरमा प्रनाउ रानाले शंकास्पद गतिविधि वा व्यक्तिको बारेमा तत्काल प्रहरीलाई जानकारी दिन स्थानीय व्यवसायी र समुदायलाई आग्रह गरे । उनले शान्तिसुरक्षालाई सामान्यीकरण गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन पनि दिए।