१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:१०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल आज : अपराजित खेलको निरन्तरता राख्ने लक्ष्यमा नेपाल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:१०:००

पछिल्लो चार खेलमा नेपाल बंगलादेशसँग अपराजित रहेको छ 

नेपाल र बंगलादेशबीचको फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा डेटमा मैत्रीपूर्ण खेल राखेको हो । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले किरणकुमार लिम्बूलाई कप्तानीको जिम्मेवारी दिएका छन् । ०७८ चैत दोस्रो सातापछि किरणले राष्ट्रिय टोलीमा पुनरागमन गर्दै कप्तानीको समेत जिम्मेवारी पाएका हुन् । 

बंगलादेशविरुद्धको खेलमा पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका १० खेलाडीको समेत पुनरागमन हुनेछ । अलमुताइरीले आफ्नो विद्रोहमा उत्रिएका किरणसहित १० खेलाडीलाई गत असोजमा कुवेत भ्रमणमा स्थान दिएनन् । नेपालले एसियन कप छनोटअन्तर्गत जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्दा किरणसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, रोहित चन्द, दिनेश राजवंशी, तेज तामाङ, सुमन लामा, विमल घर्तीमगर, विशाल श्रेष्ठ र विशाल राई टोलीबाट बाहिर थिए । 

डिफेन्डर रञ्जित धिमाल र गोलरक्षक विकेश कुथूले बंगलादेशविरुद्ध स्थान बनाएका छन् । प्रशिक्षक हुमागाईंले चार गोलरक्षकसहित आशिष चौधरी र ऋतिककुमार खड्कालाई पहिलोपटक मौका दिएका छन् । एरिक विष्ट, विकास तामाङ, विकास खवास, सुमन अर्याल, सेसेहाङ आङदेम्बे, सुरजजिउ ठकुरी, मनीष डाँगीले निरन्तरता पाएका छन् । गत जेठमा अलमुताइरीले कप्तान बनाएका स्ट्राइकर नवयुग श्रेष्ठ र उपकप्तान पुजन उपरकोटी भने हुमागाईंको टोलीमा अटाएनन् । 

अस्ट्रेलिया पुगेका दर्शन गुरुङ, सुमन लामा, आशिष लामा, राजन गुरुङ र सन्तोष तामाङ नेपाली टोलीसँग हुनेछैनन् । गत ६ असारमा एन्फा अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भएपछि नेपालले खेल्न लागेको यो पहिलो खेल हो । 

खेल जित्ने दाबी 
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र बंगलादेशका प्रशिक्षकले जित निकाल्ने दाबी गरेका छन् । फिफा वरीयतामा यो खेलको गणना हुनेछ । फिफा वरीयतामा नेपाल १७६औँ र बंगलादेश १९५औँ स्थानमा छ । नेपालका प्रशिक्षक हुमागाईंले बंगलादेशलाई कमजोर नआक्ने बताए । ‘हामी घरेलु टोली हौँ, हाम्रो लागि यो राम्रो अवसर हो । जित्ने लक्ष्य लिएर हिँडेका छौँ,’ प्रशिक्षक हुमागाईंले भने, ‘यो मेरो लागि समेत अवसर हो । पहिलोपटक टोली हेर्दै छु । जित्नका लागि दत्तचित्त भएर लाग्नेछौँ ।’ 

बंगलादेशका प्रशिक्षक जेभियर फर्नान्डिज काब्रेराले टोलीको तयारी राम्रो भएको जनाउँदै नेपालविरुद्ध जित्न खेल्ने बताए । उनले नेपाल बलियो टोली भए पनि आफूहरूलाई हराउन सहज नहुने प्रतिक्रिया दिए । नेपाल आउनुअघि बंगलादेशले कम्बोडियालाई पराजित गरेको थियो । ‘कम्बोडियाविरुद्धको जितपछि मनोबल उच्च छ । हामी नेपालमा जित्न आएका हौँ । अन्तिम समयसम्म हामी डटेर खेल्नेछौँ,’ उनले भने, ‘नेपाल बलियो प्रतिद्वन्द्वी हो । तर, हामीलाई जित्न सहज पक्कै छैन,’ उनले भने । 

हेड टु हेडमा बंगलादेश बलियो
नेपाल र बंगलादेशबीच अन्य देशको तुलनामा बढी प्रतिस्पर्धा गर्ने टोली हुन् । नेपाल र बंगलादेशले आधिकारिक रूपमा एकआपसमा २४ खेल खेलेका छन् । बंगलादेशले नेपालविरुद्ध १२ खेलमा जित निकालेको छ । नेपालले सात खेलमा मात्र बंगलादेशलाई हराएको छ । पाँच खेल बराबरीमा टुंगिएको छ । पछिल्लो चार खेलमा नेपाल बंगलादेशविरुद्ध अपराजित छ । अन्तिमपटक नेपाल र बंगलादेशबीचको खेल साफ च्याम्पियनसिपमा भएको थियो । यो खेल १–१ को बराबरीमा सकियो । नेपाल र बंगलादेशले ०७७ साल चैतमा थ्री नेसन्स कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । संजोक राई र विशाल राईको गोलमा नेपाल २–१ ले च्याम्पियन भएको थियो । 

कप्तान किरण भन्छन्– अलमुताइरीले निकालेका हुन्
कप्तान किरणले एसियन कप छनोटमा तत्कालीन प्रशिक्षक अलमुताइरीले आफूलाई टोलीबाट निकालेको बताएका छन् । माल्दिभ्सको लिगमा व्यस्त किरण छनोट खेल खेल्न कुवेत पुगेका थिएनन् । जेठ अन्तिम साता भएको प्रतियोगितामा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेलेको थियो । प्रशिक्षक अलमुताइरीले किरणको अभावमा कप्तान नवयुग र उपकप्तान पुजनलाई जिम्मेवारी दिएका थिए । ‘टोलीको आवश्यकताअनुसार म आउँथेँ । तर, मलाई निकालिएको थियो,’ किरणले भने । खेलाडीले विरोध जनाउँदा माल्दिभ्सबाट किरणले खेलाडीको पक्षमा सामाजिक सञ्जालबाट समर्थन जनाएका थिए । 

नेपाली टोली 
- गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथू
- रक्षक : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रञ्जित धिमाल
- मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट
- स्ट्राइकर : विमल घर्तीमगर, अञ्जन विष्ट, ऋतिककुमार खड्का, मनीष डाँगी, आशिष चौधरी