मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ११ मंगलबार ०६:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनास्लुमा हिमपहिरो : एकको मृत्यु, नौ घाइते, प्रतिकूल मौसमले उद्धारमा कठिनाइ

Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार ०६:४५:००

किलर माउन्टेन भनेर चिनिने गोरखाको चुमनुब्री गाउँपालिका– १ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । सोमबार करिब १२ बजेतिर झरेको पहिरोमा परी एक नेपाली नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनको पहिचान भने हुन बाँकी छ । मौसमप्रतिकूल हुँदा उद्धारमा कठिनाइ भएको आचार्यले बताए । 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको सामागाउँमै रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले जानकारी दिइन् । घाइतेहरू सबै सतोरी एडभेन्चर, इमेज एक्स्पिडिसन र सेभेन समिट एडभेन्चर कम्पनीमा आबद्ध नेपाली हुन् । १२ जनाको टोली चौथो शिविरमा जाँदै गर्दा नौजना हिमपहिरोमा परी घाइते भएको उनले बताइन् । 

अर्यालका अनुसार घाइतेमध्ये दुईजनालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ । सिम्रिक एयरको हेलिकोप्टरले मनास्लु हिमालको ६ हजार आठ सय मिटर उचाइमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँसम्म ल्याएको थियो ।

सामागाउँबाट कैलाश एयरको हेलिकोप्टरले काठमाडौं लगेको सम्पर्क अधिकृत अर्यालले बताइन् । काठमाडौं पठाइएका घाइतेमा डेन्जी शेर्पा र जीतबहादुर तामाङ छन् । अक्सिजनलगायत अत्यावश्यकीय सामग्री बोकेर तेस्रो शिविरबाट चौथो शिविरमा जाने क्रममा हिमपहिरो आएको आरोहीहरूको भनाइ छ । उद्धारका लागि कैलाश, हेली एभरेस्ट र सिम्रिक एयरलाइन्सका हेलिकोप्टर पुगेका थिए ।

‘आठ–नौपटक उड्दा पनि रेस्क्यु गर्न सकेनन्’, सम्पर्क अधिकृत अर्यालले भनिन् । बेस क्याम्पबाट शेर्पाहरू घाइतेको उद्धारका लागि ‘क्याम्प थ्री’तर्फ गएका छन् । अहिले मनास्लु बेस क्याम्पमा तीन–चार सय विदेशी आरोही र पाँच सयजनाभन्दा बढी शेर्पा छन् ।  मनास्लुको तेस्रो र चौथो शिविरको बीचमा हिमपहिरो गएको हो । दिनभर बादल लागेकाले हेलिकोप्टर उडाउन समस्या भएको सिम्रिक एयरलाइन्सका क्याप्टेन सुरेन्द्र पौडेलले बताए ।