मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिलान्यास भएको आठ वर्षपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १३:४५:००

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको शुक्रबार भूमिपूजन भएको छ। गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा भूमिपूजन गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउनमा मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए। शिलान्यास भएको आठ वर्षपछि भूमिपूजन भएसँगै अब प्रतिष्ठान निर्माण हुने भएको छ।

भारत सरकारको १० अर्ब  अनुदान सहयोगमा प्रतिष्ठान निर्माण हुनेछ। भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरूमध्येकै यो एक हो।

भारतीय राजदूतावासका अनुसार भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवको  एक हिस्साको रूपमा प्रतिष्ठान निर्माण रहेको छ।

प्रतिष्ठान करिब ८४ एकड क्षेत्रफलमा रहनेछ। उक्त हाताभित्र क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ। ‘स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ। दिगो विकास मापदण्डअनुरूप निर्माण हुने यो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ,’ भारतीय दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिष्ठानमा सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद दिएका छन्। भारतीय राजदूत श्रीवास्तवले सबैको साथ र सहयोगमा प्रतिष्ठान निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे। निर्माण कार्यका लागि भारत सरकारको पूर्ण सहयोग रहने उनको भनाइ थियो।