मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ५ बुधबार २१:०९:००
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

दुबईमा कार धुने भरत विकले लक्की ड्रमा जिते ३५ करोड

Read Time : > 1 मिनेट
२०७९ असोज ५ बुधबार २१:०९:००

दुबईमा कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन् । 
दुबईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’ का अनुसार मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् । 

दुई सन्तानका पिता भरत तीन वर्षअघि दुबई आएका हुन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए । 

उनका बुबा भारतमा ड्राइभरको काम गर्छन् । ‘मेरो भाइ भारतको नयाँ दिल्लीमा उपचार गराइरहेको छ,’ उनले भने, ‘एउटा शल्यक्रियाको क्रममा उसलाई पक्षाघात भयो र कान गुम्यो । यो पैसाले मलाई उसको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ ।’

भरत आफ्ना पाँचवर्षीय छोरा र तीन वर्षीया छोरीको भविष्य सुरक्षित गर्न उक्त रकम प्रयोग गर्न चाहन्छन् । उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिए । 

उनको दुबईमा बैंक खातासमेत छैन । महजुजका सञ्चालक इविङ्सका सिइओ फरिद सामजीले बैंक खाता नभएकाले भरतलाई खाता खोल्न मद्दत गरिरहेको बताए । ‘हामी उसलाई बैंक खाता खोल्न मद्दत गर्ने प्रक्रियामा छौँ, ताकि हामीले पैसा स्थानान्तरण गर्न सकौँ,’ फरिदले भने । 

अन्तिमपटक खेल्ने चाहनाले करोडपति बनायो
दुबई आउनुअघि उनी वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएका थिए । दुबई आएपछि भने गत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी थिए । २७ सेप्टेम्बर २०१९ मा दुबई आएका भरत नेपाल फर्कने योजनामा थिए । तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए । 

‘पहिलोपटक दुबई आउँदा मेरो मनमा नेपाल फर्किनुअघि केही जित्छु भन्ने भावना थियो । यही विश्वासले उनलाई साप्ताहिक ड्रको प्रयास गर्न बाध्य बनायो,’ उनले भने, ‘त्यो बिहानको एक बजिसकेको थियो । अन्तिमपटक खेल्छु भन्ने सोचेर भाग लिएँ । मेरो लागि त्यो साँच्चै सपना साकार गर्ने समय थियो ।’ 

उनले त्यही रात आफ्नो भाग्य बदलिएको चाल पाए । गत शनिबार राति ९ बजे काम सकेर भरत फर्कंदै थिए । फोन चेक गर्दा दुईवटा नम्बर मिलेको देखे । ‘मैले बाँकी ड्र लाइभ हेरेँ,’ उनले भने, ‘मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दा उनीहरू उत्साहित भए । अन्तिम नम्बर मिलाउँदा उनीहरू हर्षोल्लास र खुसीले चिच्याए । त्यो रात म निदाउन सकिनँ ।’

परिवारलाई सरप्राइज दिने चाहना
भरतले अब लगत्तै नेपाल फर्कने बताएका छन् । ‘अब सबै औपचारिकता पूरा गरेर नेपाल जान्छु,’ उनले भने, ‘मैले कति जितेको छु भनेर मेरो परिवारलाई भनेको छैन । मैले यो ड्र जितेको मात्रै भनेको छु । म घर फर्केर व्यक्तिगत रूपमा उनीहरूलाई आश्चर्यचकित गर्न पर्खिरहेको छु ।’

उनले ठूलो धनराशि जिते पनि पछि दुबई फर्केर काम गर्ने चाहना व्यक्त गरेका छन् । 
‘दुबई त्यो सहर हो जसले मलाई मेरो जीवनमा धेरै दिएको छ । म फर्केर यहाँ काम गर्न चाहन्छु । म महजुज खेल्न पनि चाहन्छु,’ उनले भावी योजना सुनाए ।
महजुजको शीर्ष पुरस्कार जित्ने भरत पहिलो प्रवासी नेपाली हुन् ।