१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ५ बुधबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधका लागि वृद्धाको हत्या गर्ने दुई युवक पक्राउ

Read Time : > 1 मिनेट
२०७९ असोज ५ बुधबार १०:४१:००

धरान– २० स्थित टोड्केमा एक वृद्धाको हत्या गरी लुटपाट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी– ८ का १८ वर्षीय निखिल भनिने नकुल राई र सुनसरी भोक्राहाका  रञ्जित साहलाई प्रहरीले असोज २ गते पक्राउ गरेको हो । राईले ६४ वर्षीया वृद्धा पूर्णिमाया राईलाई घरमा सात दिनसम्म सुराकी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न राईलाई प्रहरीले विराटनगरको रानी क्षेत्रबाट असोज २ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिएको छ । नकुलले गरगहना लुटपाट गर्न वृद्धाको घरमा सात दिनसम्म घरको लोकेसन र अवस्था बुझेको प्रहरीले जनाएको छ । नकुलले लुटपाट गरेको गहना भने साहलाई राख्न दिएको खुलेको छ ।  

दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट मंगलबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । नकुल लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । आफूले प्रयोग गर्ने लागुऔषध खरिद गर्न लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यसरी भएको थियो घटना 
गत भदौ २९ गते दिउँसो २ बजे धरान– २० विष्णुपादुका टोड्के बस्ने ६४ वर्षीया वृद्धा पूर्णमाया राईको आफ्नै घरमा शव फेला परेको थियो ।  धारिलो हतियारले घाँटीको पछाडि प्रहार गरी उनको हत्या गरिएको थियो । हत्यापछि उनले लगाएको सुनको सिक्री, दुवै कानको कुन्डल लुटेर नकुल फरार भएका थिए । घटनाबारे ढिलो जानकारी आएपछि अनुसन्धानका लागि तालिमप्राप्त कुकुर, प्रहरी प्रदेश कार्यालय विराटनगर, प्रहरी संघीय एकाइ धरानसहित जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली घटनास्थल पुगेको थियो । 

अनुसन्धानपछि प्रहरीले गत असोज २ गते हत्या गर्ने व्यक्ति विराटनगरको रानीमा रहेको पत्ता लगाएको थियो । हत्या गर्न नकुलले एक हप्ता अघिदेखि नै प्रयास गरेका थिए । नियमित आउँदै जाँदै गरेको अनुसन्धानबाट खुलेको छ । नकुलले भदौ २८ गते हत्या गरी घरभित्रै शव राखेर हत्यामा प्रयोग गरेको खुकुरी भने पकुवाखोलामा फालेका थिए । सुनको सिक्री चोरेर भाग्न नकुलले स्थानीयको एउटा साइकल पनि चोरी गरेका थिए । त्यही साइकलबाट भोक्राहा पुगेर रञ्जितलाई सिक्री लुकाउन दिएको अनुसन्धानबाट खुलेको छ । 

लागुऔषध खरिद गर्न लुटपाट 
हत्या आरोपित राई लामो समयदेखि लागुऔषधको लतमा फसेको पाइएको छ । उनी गाउँघरमा बस्दा पनि कुखुरा चोरी गर्ने तथा सामान्य मालसामान चोरी गर्ने गर्ने गर्थे । घर छोडेर निकै लामो समयदेखि धरान, इटहरी, विराटनगरका विभिन्न स्थानमा बस्दै आएका थिए । चोरीको आरोपमा उनी पटकपटक पक्राउ परेको बताइएको छ । उनले प्रहरीसमक्ष आफू लागुऔषध प्रयोगकर्ता भएको र सुनको सिक्री बेचेर गाँजा तथा नसाजन्य गोटी खरिद गर्न हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।