मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ४ मंगलबार ११:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान दिवसमा पूर्ण अपांगता भएकी कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान

सडक बालबालिकालाई सरसफाइ सामग्री वितरण

Read Time : > 1 मिनेट
२०७९ असोज ४ मंगलबार ११:३९:००

जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा रचनात्मक काम गरेको छ। जिल्ला प्रशासनले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका– ५ की ३५ वर्षीया विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

पूर्ण अपांगता भएकी कुँवर नागरिकता नहुँदा सामाजिक सुरक्षासहितका राज्यबाट प्राप्त हुने सुविधाबाट वञ्चित थिइन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेसहित सुरक्षा निकायको टोली कुँवरको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

सोमबार इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, उपप्रमुख पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले जानकारी दिइन्।

०६१ सालमा स्थानीय अर्जुन कुँवरसँग विवाह गरेकी विष्णुको छोरा १७ वर्षका भए। छोरा जन्मिएको केही वर्षपछि श्रीमानले हेला गर्न थालेपछि उनी ०६८ सालबाट माइतमा बस्न थालिन्। ४ असोज ०७१ सालमा घर पोत्ने क्रममा लडेर उनको मेरुदण्ड भाँचियो। तर, धेरै उपचार गर्दा पनि निको भएन। श्रीमान् र परिवारबाट सग्लो अवस्थामा कुनै सहयोग नपाएकी विष्णु अपांगताका कारण ‘आधा शरीर’ लिएर बाँच्न विवश थिइन्। श्रीमानले नागरिकतासमेत नबनाइदिएपछि माइतीको आँगनमा पीडा खेपेर बाँचेको उनको जीवन अनागरिकजस्तो बन्यो। अपांग भएपछि छोरासमेत बाबुसँगै बस्न थाले।

विष्णुका बुबा लीलबहादुर बस्नेतले छोरीको न्यायका लागि अड्डाअदालत  निकै धाए। अदालतले अर्जुन कुँवर र विष्णुलाई श्रीमान्–श्रीमतीको नाता त कायम गरिदियो, तैपनि अधिकार भने स्थापित भएन। नागरिकताकै लागि माइती पक्षले निकै दुःख सहे। लामो समयको प्रयासपछि संविधान दिवसका अवसरमा घरमै पुगेर विष्णुलाई सिडिओले नागरिकता हस्तान्तरण गरे। जसका कारण विष्णु र उनको माइती निकै खुसी भएका छन्। ‘परिवारले फर्किएर नहेरे पनि सरकारले भए पनि सम्झिएर नागरिकता दियो,’ खुसी व्यक्त गर्दै लीलबहादुरले भने, ‘पीडैपीडाका बीच पनि छोरीले अब केही राहत महसुस गर्लिन् कि।’

सडकबालबालिकालाई सामग्री
जिल्ला प्रशासन कार्यालयले संविधान दिवसको अवसरमा सोमबार सडकबालबालिकालाई वाटर डिस्पेन्सर र सरसफाइ सामग्रीसमेत हस्तान्तरण गरेको छ। महेन्द्र माविमा केही समयदेखि जिल्लामा १८ सडकबालबालिकालाई व्यवस्थापन गरिएको छ। पछिल्लो समय बालबालिकाले बजारमा माग्ने, चोर्ने, संरचना तोडफोड गर्ने र फोहोर खाने गर्दै आएका थिए।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र पालिकाहरूको पहलमा मिनी होस्टेल सञ्चालन गरेर बालबालिकाको व्यवस्थापन गरिएको छ। उनीहरूलाई होस्टेलमा तातोचिसो पानीको सहजीकरण र सरसफाइमा टेवा पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको प्रजिअ पौडेलले बताए।